काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले राष्ट्रगानका संगीतकार स्व. अम्बर गुरुङको सम्झनामा कार्यक्रम गरेको छ ।
प्रतिष्ठानका प्रथम कुलपति समेत रहेका गुरुङको प्रथम वार्षिक पुण्य तिथिको अवसरमा बिहीबार आयोजित स्मृति कार्यक्रममा उनको योगदानको चर्चा गरियो । प्रतिष्ठानका सदस्य–सचिव गणेश रसिकले भारतमा जन्मिएका अम्बरले नेपाल आएर नेपाली संगीतमा अतुलनीय योगदान गरेको बताए ।
यस्तै, वरिष्ठ गीतकार रत्नशमशेर थापाले अम्बरसँग गाँसिएका अन्तरंग सम्झनाहरु सुनाएका थिए । ‘उहाँले बनाइसकेको धुनमा म गीत लेख्ने गर्थेँ’, उनले भने । थापाले नेपालमा अम्बरले क्वायर संगीत भित्र्याएको भन्दै त्यसको महत्वबारे प्रकाश पारेका थिए ।
प्रतिष्ठानका पूर्व उपकुलपति प्रचण्ड मल्लले कार्यक्रममा बोल्दै गुरुङ असाध्यै मिलनसार भएको भन्दै सँगै काम गर्दाको क्षणहरुको सम्झना गरे । कार्यक्रममा म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्माले गुरुङ सांगीतिक आकाशका सगरमाथा भएको धारणा राखे ।
कार्यक्रममा गुरुङका सुपुत्र किशोर गुरुङले बुबाको शालीन र भद्र स्वभावको सम्झना गरे ।
प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले अम्बरको नाममा स्मृतिग्रन्थ प्रकाशन गर्न लागिएको र हुलाक टिकट प्रकाशनका लागि सम्बन्धित मन्त्राल यमार्फत नेपाल सरकारलाई अनुरोध गरिएको जानकारी गराए ।
प्रतिक्रिया 4