Comments Add Comment

नमूना मतदानमै अल्मलिए मतदाता

२८ जेठ, इलाम । ‘सिकाए पनि अल्मलिने मतपत्र रहेछ यसपटक । यति लामो मतपत्रमा दर्जनौँ चुनाव चिह्न देखेर म १० मिनेट अल्मलिएँ’, देउमाई नगरपालिकास्थित धुसेनीकी रमा तिम्सिनाले भनिन्, ‘यस्तै हो भने मेरो बुबाआमा त झुक्किनुहुन्छ । यसपटक धेरै मत खेर जालाजस्तो छ ।’

शुक्रबार देउमाई नगरपालिकाको मङ्गलबारे बजारमा जिल्ला निर्वाचन कार्यालय, इलामको आयोजना तथा देउमाई नगरपालिका कार्यालयको संयोजनमा सञ्चालित नमूना मतदान कार्यक्रममा नमूना मतदानमा भाग लिएपछि रमाले भनिन्, ‘मजस्तो पढेलेखेको मान्छे त मतपत्र पढेर मतदान गरुँला, तर अल्मलिने यस्तो मतपत्रमा वृद्धवृद्धाले कसरी भोट हालेर आउनुहोला र खै ?’

तिम्सिना जस्तै नमूना मतदानमा भाग लिने धेरै मतदाताले मत हाल्ने तरिका थाहा नपाउँदा अल्मलिएका थिए । निर्वाचन कार्यालयले स्थानीय तहको निर्वाचनका लागि मतदाता शिक्षा दिइरहेको छ, तर सबै गाउँ–ठाउँमा मतदान गर्ने तरिका सिकाउन नसक्दा धेरै मतदाता अलमलमा परेका हुन् ।

निर्वाचन आयोगले मतदान गर्न सामाजिक सञ्जालसमेत उपयोग गरेको छ । युट्युबमा कतिजनालाई कसरी मतदान गर्ने भन्ने श्रव्यदृश्य नै राखेको छ ।

बीस वर्षअघिको मतपत्रमा पनि स्थानीय निर्वाचनमा सातैजनालाई मतदान गर्नुपर्दा उम्मेदवारको सङ्ख्या कम, मतपत्र सानो र चुनाव चिह्न ठूला थिए । ‘नपढेका मतदाता र व्यक्ति छानेर भोट हाल्नुपर्नेका लागि केही समय लाग्छ । धेरै चुनाव चिह्न भएको दुई कोलमको र ठूलो भएकाले यसपटकको मतपत्र अप्ठ्यारै रहेको छ,’ जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख प्रेमकुमार काफ्लेले बताए ।

जति बुझाउन खोजेपनि मतदाता झस्किने गरेको उनको भनाइ छ । मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नका लागि निर्वाचन कार्यालयले सबै मतदान केन्द्रमा कर्मचारी खटिरहेका उनले बताए । कर्मचारीले मात्र भोट हाल्ने तरिकाको बारेमा बुझाउन नसकिरहेको अवस्थामा राजनीतिक दलहरूले पनि मतदातालाई मतदान गर्ने तरिकाका बारेमा बुझाउन आग्रह गरे ।

मङ्गलबारेमा गरिएको नमुना मतदानको कार्यक्रममा १५० जनाभन्दा बढीको सहभागिता थियो । तर नमुना मतदानमा भने ५० जनाले भाग लिएका थिए ।

नमुना मतदान कार्यक्रममा निर्वाचन कार्यालयले स्थानीय मतदातासँग बसेर भोट कसरी हाल्ने, भोट हालेपछि मतपत्र कसरी पट्याउनेलगायतका विषयमा जानकारी गराएको थियो ।

पहिलो चरणमा भएको निर्वाचनमा अत्यधिक मत बदर भएपछि दोस्रो चरणको निर्वाचनका क्रममा इलाममा त्यो अवस्था नदोहोरियोस् भन्ने उद्देश्यले निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगेको र ठाउँ–ठाउँमा नमुना मतदान कार्यक्रम गरिरहेको निर्वाचन कार्यालय प्रमुख काफ्ले बताउँछन् ।

उनका अनुसार यसअघि इलाम नगरपालिकाको बरबोटे र गोलाखर्क भञ्ज्याङ र गोदकमा नमुना मतदान गरिसकिएको छ । आगामी बिहीबार इलाम चोकबजारमा नमुना मतदान कार्यक्रमको आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment