Comments Add Comment

बढी घुस खानेमा काठमाडौं पहिलो, बाँके दोस्रो

अख्तियारबाट घुससहित रंगेहात समातिनेको विवरण सार्वजनिक


२९ जेठ, काठमाडौं । सबैभन्दा धेरै घुस खाने कर्मचारीहरु रहेको जिल्लाका रुपमा काठमाडौं पहिलो बनेको छ । बाँके जिल्ला दोस्रो स्थानमा परेको छ ।

सबैभन्दा धेरै कर्मचारीहरु काठमाडौं उपत्यकाबाट घुससहित रंगेहात पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । काठमाडौंबाट १९, ललितपुरबाट ३ र भक्तपुरबाट २ जना गरी उपत्यकाबाट जम्मा २४ जनालाई पक्राउ रंगेहात गरेको अख्तियारले जनाएको छ । राजधानी काठमाडौंमा सबैभन्दा बढी घुस लेनदेन हुने गरेको पाइएको छ ।

धेरै कर्मचारी पक्राउ पर्ने जिल्लाको सूचीमा बाँके दोस्रो स्थानमा छ । बाँकेबाट पाँचजना कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । घुस लेनदेनको समस्या भने देशभरि नै रहेको अख्तियारले जनाएको छ ।

नापीमा बढ्ता घुसखोरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबैभन्दा धेरै कर्मचारीहरुलाई नापी कार्यालयबाट घुससहित रंगेहात पक्राउ गरेको छ । चालु आर्थिक वर्षको जेठ २८ गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै नायब सुब्बा तहका कर्मचारी पक्राउ परेका छन् ।

अख्तियारले सोमबार पत्रकार सम्मेलन गरी रंगेहात पक्राउ परेकाहरुको विवरण सार्बजनिक गरेको छ । उक्त विवरणअनुसार अख्तियारले नापी कार्यालयमा सबैभन्दा धेरै १४ जना कर्मचारीहरुलाई रंगेहात कारबाही गरेको छ ।

दोस्रोमा मालपोत कार्यालय छ, जहाँबाट ७ जना कारबाहीमा परेका छन् । यसैगरी स्थानीय तह र यातायात कार्यालयमा समान पाँच-पाँच जना कारबाहीमा परेको अख्तियारले जनाएको छ ।

सुख्बा २५ र उपसचिव ५ जना पक्राउ

अख्तियारले चालु आर्थिक वर्षको जेठ २८ गतेभित्र ७६ जनालाई रंगेहात घुससहित पक्राउ गरेको छ । घुस दिने र लिने दुबै दोषी हुने भए पनि घुस दिने व्यक्तिहरु पक्राउ परेको संख्या भने नगन्य छ ।

घुस दिने व्यक्ति २ जनामात्रै पक्राउ पर्दा सबैभन्दा धेरै ३४ जना नायब सुब्बालाई अख्तियारले पक्राउ गरेको छ ।

यसैगरी शाखा अधिकृत १५ जना, ओभरसियर र अमिन ९ जना, लेखापढी व्यवसायी ७ जना, कार्यालय सहयोगी २ जना र कुल्ली १ जना पक्राउ परेको अख्तियारको तथ्यांक छ । यसैगरी उपसचिव भने ५ जना पक्राउ परेका छन् ।

‘ठूला माछा’लाई उन्मुक्ति दिएर ‘साना माछा’लाई मात्र पक्राउ गरेको आरोप खेप्ने गरेको अख्तियारको विवरणमा सहसचिव र सचिव घुससहित रंगेहात पक्राउ परेको विवरण भने छैन ।

जेठ घुस लेनदेनको महिना !

अख्तियारले सबैभन्दा धेरै घुस्साहालाई जेठ महिनामा पक्राउ गरेको छ । यसबाट पुरानो आर्थिक वर्ष अन्त्य हुने र नयाँ आर्थिक वर्ष सुरु हुने बेला घुसको लेनदेन बढी हुने गरेको देखाएको छ ।

जेठ महिनामा १० जना, चैतमा ९ र बैशाखमा ५ जनालाई पक्राउ गरेको अख्तियारले जनाएको छ । साउनमा ७ जना पक्राउ गरको अख्तियारले, भदौ र पुसमा ३-३ जनालाई पक्राउ गरेको छ । यसैगरी असोज र फागुनमा ४-४ जना तथा मंसिर र माघमा ६-६ जना पक्राउ परेको अख्तियारको तथ्यांकमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment