Comments Add Comment

दार्जीलिङमा गोर्खाल्याण्ड आन्दोलन चर्कियो

३० जेठ, काठमाडौं । गोर्खाल्याण्ड राज्यको माग गर्दै भारतको दार्जीलिङमा आन्दोलन फेरि चर्किएको छ ।

गोर्खा जनमुक्ति मोर्चा -गोजमुमो)ले सोमबारदेखि पहाडमा सरकारी कार्यालयहरु बन्द गराएको छ । सरकारी कार्यालय अनिश्चितकालका लागि ठप्प पार्ने रणनीति बनाउन भन्दै गोजमुमोका प्रमुख बिमल गुरुङले बुधबार बैठक समेत आहृवान गरेका छन् ।

प्रदर्शनकारीहरुले ‘मुख्यमन्त्री ममता बेनर्जी पहाड छोड्’, ‘वि वान्ट गोर्खाल्याण्ड’ जस्ता नारा समेत लगाएका छन् । विभिन्न ठाउँमा प्रदर्शनका लागि जम्मा भएकाहरुमाथि प्रहरीले लाठीचार्ज गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सरकारले पहाडी क्षेत्रका विद्यालयहरुमा बंगाली भाषाको पढाई पनि अनिवार्य गरेपछि नेपाली भाषा अतिक्रमण भएको भन्दै आन्दोलन सुरु भएको थियो । बंगाली भाषा थोपर्ने निर्णय खारेजसँगै गोरर्खाल्याण्ड राज्यको माग पनि आन्दोलनकारीले राखेका छन् ।


बन्दका कारण पर्यटकहरु समेत अप्ठ्यारोमा परेका छन् । धेरै दार्जीलिङ छाड्ने प्रयासमा छन् । ट्रेन सेवा पनि बन्द गरिएको छ भने बजार पनि खुलेका छैनन् ।

सुरक्षा व्यवस्था कडा पारिएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आन्दोलनका क्रममा केही सरकारी कार्यालयमा तोडफोडका घटना पनि भएका छन् । प्रहरी चौकीमा आगजनीको प्रयास गरेको भन्दै प्रहरीले केही महिलामाथि लाठी वर्षाएको भिडियो सार्वजनिक भएपछि प्रहरीको निकै आलोचना भएको छ ।

पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जीले भने दार्जीलिङ पहाडमा शान्ति कायम राख्न अपील गरेकी छन् । उनले भनेकी छन्, ‘बंगाल, दार्जीलिङ हाम्रो मातृभूमि हो मलाई डर देखाएर कुनै फाइदा हुनेछैन । मलाई दार्जीलिङ पहाडमा पस्नै दिँदिनँ भनेका थिए । तर, म पहाड गएँ, सभा गरेँ, कसैले रोकेनन् ।’

गोर्खा जनमुक्ति मोर्चाले विमल गुरुङले एकसुत्रीय माग गोर्खाल्याण्ड भएको बताएका छन् । यो पटकको आन्दोलन दार्जीलिङमा मात्र नभई आसाम, दिल्लीसम्म पुग्न सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment