४ असार, अर्घाखाँची । अर्घाखाँचीका तीन नगरपालिका र एक गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको छ ।
सन्धिखर्क, भूमिकास्थान र शितगंगा नगरपालिकामा सत्तारुढ दुई दलबीच चुनावी तालमेल भएको हो ।
सन्धिखर्क मेयरमा कांग्रेसबाट कमलप्रसाद भुसाल, उपमेयरमा माओवादीका ठाकुरकुमार बिक उम्मेदवार भएका छन् । भूमिकास्थानको मेयर माओवादीले लिएको छ भने उपमेयर कांग्रेसले पाएको छ । जस अनुसार मेयर रेशम थापा र उपमेयरमा कांग्रेसबाट खडानन्द बेल्बासे उम्मेदवार भएका छन् ।
शतगंगा नगरपालिकाको मेयरमा कांग्रेसबाट सुर्यप्रसाद अधिकारी र उपमेयर पदमा माओवादीबाट टीका रेश्मी उम्मेदवार बनेका छन् । तालेमल भएको मालारानी गाउँपालिकाको अध्यक्षमा माओवादीबाट पदम क्षेत्री र उपाध्यक्ष पदमा कांग्रेसबाट शान्ता खनाल उम्मेदवार छन् ।
जिल्लाका बाकीँ दुई गाउँपालिका छत्रदेव र पाणिनीमा भने दलहरु एक्लाएक्लै चुनावी मैदानमा होसमिएका छन् ।
छत्रदेव कांग्रेसको किल्ला हो भने, पाणिनीमा कांग्रेस एमालेको कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।
मेयरको उम्मेदवार बने उपमेयर !
चुनावी तालमेल हुनुअघि ठाकुरकुमार विक सन्धिखर्कमा माओवादीका मेयरका उम्मेदवार थिए । तर, त्यहाँ मेयरमा कांग्रेसलाई समर्थन गरेपछि उनी उपमेयरको उम्मेदवार बनेका छन् ।
त्यस्तै भुमिकाथान नगरपालिकामा कांग्रेसबाट मेयरको उम्मेदवार भएका खडानन्द बेल्वासे तालमेलसँगै उपमेयरमा लड्ने भएका छन् । सितगंगा नगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार टिका रेष्मी तालमेल भएसँगै उपमेयरमा लड्ने भएका छन ।
मतदातामाझ जाने समय कम
चुनावी तालमेल गरेपछि कांग्रेस र माओवादी केन्द्र आआफ्नो चुनाव चिह्न लिएर लड्ने छन् । तर, चुनावी तालमेलबारे मतदातालाई बुझाउने समय भने कम मात्र पाउनेछन् ।
सन्धिखर्क नगरपालिका साविकका सात गाविस मिलेर बनेको हो, जसमा १२ वटा वडा छन् । मनोनयन दर्तापछि ६ दिन बाँकी रहन्छ, ४८ घण्टा मौन समय रहन्छ । त्यसैले सबै मतदाताको घरघरमा पुग्न गाह्रो हुने कांग्रेस र माओवादीका नेताहरुले बताएका छन् ।
प्रतिक्रिया 4