Comments Add Comment

राजपालाई आन्दोलन छाडेर सहमतिमा आउन गृहमन्त्रीको आग्रह

'म्यादी प्रहरीको योगदानको उचित कदर हुन्छ'

४ असार, रुकुम । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आन्दोलन छाडेर सहमतिमा आउन राष्ट्रिय जनता पार्टी (राजपा)लाई आग्रह गरेका छन् । तराई मधेसका जनताको मताधिकार सुनिश्चित गर्न २ नम्बर प्रदेशको निर्वाचन सारिएको उनले स्पस्ट पनि पारे ।

प्रेस सेन्टर नेपाल रुकुमले सदरमुकाम मुसिकोट खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री शर्माले निर्वाचन नसारेसम्म राजपा चुनावमा आउने सम्भावना नभएको र राजपा चुनावमा नआएसम्म शान्तिपुर्ण रुपमा निर्वाचन गर्न नसकिने भएकाले निर्वाचन सार्नुपरेको बताए ।

राजपालाई सहमतिमा ल्याएर शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउने र तराई मधेसका सबै जनताको मताधिकार सुनिश्चित गर्न २ नम्बर प्रदेशको चुनाव असोज २ गतेसम्मका लागि सारिएको मन्त्री शर्माले बताए ।

गृहमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला रुकुम आएका शर्माले राजपाको सहमतिमा नै निर्वाचन मिति सारिएको बताए ।

‘सत्ता साझेदार दल र राजपाबीच भएको सहमति अनुसार नै निर्वाचन सार्ने निर्णय भएको हो,’ उनले भने, ‘अहिले राजपा आफैले गरेको सहमति विपरित गएर आन्दोलन गरिरहेको छ यो राम्रो कुरा होइन ।’

सत्ता साझेदार दलहसँग भएको सहमति अनुसार निर्वाचनमा होमिन उनले राजपालाई आग्रह समेत गरे ।

ढुक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह

गृहमन्त्री शर्माले निर्वाचन सम्बन्धी सबै सुरक्षा व्यवस्था मिलाइसकिएकाले ढुक्क भएर मतदानमा सहभागी हुन मतदाताहरुलाई आग्रह गरे । आफ्नै गाउँठाउँमा बन्ने सरकार सञ्चालनका लागि जनप्रतिनिधि चुन्ने सुनौलोे अवसर प्राप्त भएकाले यस्तो अवसरलाई खेर फाल्न नहुने उनको भनाइ छ ।

त्यस्तै सुरक्षा निकायलाई चेनअफ कमाण्डमा राखेर देशको सुरक्षा व्यवस्थालाई थप व्यवस्थित बनाउन आफूले पहल गरिरहेको जानकारी मन्त्री शर्माले दिए । ‘देश संघीय संरचनामा गइसकेपछि सुरक्षा संयन्त्र पनि त्यसैगरी व्यवस्थित गर्नुपर्ने अवस्था छ,’ मन्त्री शर्माले भने, ‘संविधान अनुसार देशैभरको सुरक्षा संरचना निर्माणमा जुटिरहेको छु ।’

म्यादी प्रहरीको उचित कदर गर्ने घोषणा

गृहजिल्ला रुकुम आएका मन्त्री शर्माले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीले खेलेको भूमिकाको प्रशंसा गरे । म्यादी प्रहरीले निर्वाचन सम्पन्न गर्नका लागि खेलेको भूमिकाको कदर गर्दै सरकारले उच्च सम्मान गर्ने उनले बताए ।

म्यादी प्रहरीहरुको सम्मान स्वरुप प्रमाणपत्रको व्यवस्था गर्ने मन्त्री शर्माले घोषणा गरे । यसले उनीहरुलाई आफ्ˆनो कामप्रति गौरवको महशुस हुने र देशका लागि थप केही गर्न प्रेरणा थप्ने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment