Comments Add Comment

केपी ओलीले भने-एमाले बढार्छौं भन्नेलाई देखाउँछौं, कुचो कसको हातमा हुन्छ

एमालेका शीर्षनेताले राजधानी छाडे


५ असार, झापा ।  एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई बढार्ने भन्नेहरुलाई प्रदेश नं. २ मै देखाइदिने बताएका छन् ।

सोमबार झापाको कनकाई नगरपालिकामा एमालेको प्रतिवद्धता पत्र सार्वजनिक गर्दै ओलीले भने, ‘एमालेलाई प्रदेश नं. २ मा हराउँछौं भन्नेहरुलाई देखाइदिन्छौं, कुचो कसको हातमा हुन्छ ।’

अबको पहिलो शक्ति भनेको नेकपा एमाले भएको दावी गर्दै ओलीले निर्वाचनमा हार व्योहोर्नुपर्ने भएकाले सरकारमा रहेका दलहरुले पटक-पटक निर्वाचन सारिरहेको दाबी गरे ।

एमाले राष्ट्रिय एकताको पक्षमा रहेको भन्दै उनले माघ ७ गतेभित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्न एमालेले सरकारलाई दवाव दिइरहने बताए ।

ओलीको मुकाम चार दिन झापामै

दोस्रो चरणको स्थानीय चुनावमा आफ्नै गृहजिल्ला झापामा उम्मेदवार चयनका क्रममा उत्पन्न अशन्तुष्टि साम्य पार्न एमाले अध्यक्ष केपी शर्मा ओली सोमवार झापा पुगेका हुन् ।

ओली चार दिनसम्म झापामै रहने र बिभिन्न चुनावी सभाहरुलाई सम्बोधन गर्ने एमालेले जनाएको छ । ओलीले अशन्तुष्ट कार्यकर्तालाई मनाउनेछन् भने बिर्तामोड, बुद्धशान्ति, दमक, गौरादह, मेचीनगर, भद्रपुर नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्नेछन् ।

असार ८ गतेसम्म झापामा रहने ओलीले छिमेकी जिल्लाका कार्यक्रममा समेत भाग लिने सचिवालयले जनाएको छ । ओली झापाको दमकस्थित आफ्नै निवासमा छन् ।

कुन नेता कुन जिल्लामा ?

संवैधानिक परिषद बैठकका कारण ओली सोमबारसम्म काठमाडौंमा थिए । एमालेका अन्य नेताहरु भने यसअघि नै गृहजिल्ला पुगिसकेका छन् ।

बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलामका बिभिन्न गाउँपालिका तथा नगरपालिकाका चुनावी अभियानमा छन् । अर्का बरिष्ठ नेता माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा चुनाव रोकिएकाले अन्य कार्यक्रममा सहभागी हुनेछन् ।

संसदीय दलका उपनेता समेत रहेका अर्का नेता सुवास नेम्वाङ पनि इलामकै चुनावी अभियानमा छन् । नेम्वाङले पाँचथर र झापाका बिभिन्न स्थानीय तहका चुनावी अभियानमा सम्बोधन गर्नेछन् ।

बरिष्ठ उपाध्यक्ष बामदेव गौतम गृहजिल्ला प्युठानमा केही दिनअघिदेखिनै व्यस्त छन् । उनले पछिल्लो समय प्युठान १ बाट चुनाव जितेका छन् । गौतम प्युठानबाट नेपालगन्ज र बर्दियाको चुनावी अभियानमा सहभागी हुनेछन् । बर्दिया पनि गौतमको गृहक्षेत्र हो ।

एमालेका अर्का उपाध्यक्ष भीम रावल ७ नम्बर प्रदेशको चुनावी कमाण्डर बनेका छन् । उनले धनगढीलाई मुकाम बनाएर सिंगो प्रदेशको चुनाव परिचालन गरिरहेको एमालेले जनाएको छ । रावल सुदूरपश्चिमका पहाडी जिल्लामा जाने तयारीमा छन् । उनको जिल्ला अछाममा कांग्रेस र माओवादीले तालमेल गरेपछि रावल दबाबमा छन् ।

एमालेका अर्का उपाध्यक्ष युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य शंकर पोखरेल गृहजिल्ला दाङमा छन् । महासचिव इश्वर पोखरेल भने गृहजिल्ला ओखलढुंगा,भोजपुर हुँदै ११ गते धनगढी पुग्ने कार्यक्रम रहेको छ ।

उपमहासचिवद्वय बिष्णु पौडेल र घनश्याम भुसाल रुपन्देहीमै केन्दि्रत छन् । बुटवल उपमहानगरपालिका लगायत जिल्लाका मुख्य नगरपालिकामा कांग्रेस माओवादी र जनमुक्ति पार्टीबीच गठबन्धन भएकाले पौडेल र भुसाल दबावमा छन् ।

एमालेका दुई सचिव प्रदीप ज्ञवाली र गोकर्ण विष्ट पनि गृहजिल्ला गुल्मीमा केन्दि्रत छन् । गुल्मीमा पनि कांग्रेस माओवादी गठबन्धन भएको छ । ज्ञवाली र विष्टले छिमेकी जिल्ला अर्घाखाँची र पाल्पाका साथै बुटवलमा पनि चुनावी अभियानमा सहभागिता जनाउने एमालेले जनाएको छ ।

गृहजिल्ला लमजुङमा एमालेलाई पहिलो बनाएका अर्का सचिव पृथ्वीसुब्बा गुरुङ सोमवार ओखलढुंगा पुगेका छन् । उनलाई आदिवासी जनजाति बाहुल्य क्षेत्रमा चुनावी अभियानको नेतृत्व गरेर पठाइँदैछ ।

प्रदेश नम्बर १ का प्रमुख समेत रहेका सचिव भीम आचार्य सुनसरी र मोरङका कार्यक्रममा सहभागी छन् भने अर्का सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराई एक सातादेखि नै गृहजिल्ला ताप्लेजुङमा छन् । उनी चुनावपछि मात्र काठमाडौं फर्किनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment