काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा भारतलाई लज्जास्पद हार चखाउनुमा पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद आमीरको भूमिका सबैभन्दा उच्च रहृयो ।
मोहम्मद आमीरले भारतका टप अर्डरका तीनै ब्याट्सम्यानलाई सस्तैमा आउट गरेका थिए । यसैको परिणामस्वरुप च्याम्पियन्स ट्रफीको फाइनलमा उसले १८० रनको हार ब्यहोर्यो ।
पाकिस्तानले भारतलाई ३३९ रनको लक्ष्य दिएको थियो । आइतबार इंग्ल्याण्डको कनिङटन ओभलमा यस लक्ष्य हासिल गर्नका लागि दोस्रो इनिङको सुरुवात त गर्यो तर ३३ रनको स्कोरमा तीन महत्वपूर्ण ब्याट्सम्यान गुमायो ।
केहि समयपछि नै भारतको स्थिति ५४/५ हुन पुग्यो । यसअघि समूहचरणमा भारतले पाकिस्तानलाई १२४ रनले हराएको थियो ।
यस महत्वपूर्ण प्रतियोगितामा मोहम्मद आमीर नायक बनेर अगाडि आए । फाइनलअघिसम्म उनी खेल्ने नखेल्ने निश्चित थिएन । पाकिस्तानका प्रशिक्षक मिकी आर्थरले शनिबारबात्रै यसको पुष्टि गरेका थिए कि फाइनलमा आमीरले खेल्नेछन् ।
फिटनेस टेष्टमा फेल भएका कारण आमीर इंग्ल्याण्डबिरुद्धको सेमीफाइनलमा खेल्न पाएका थिएनन् ।
खतरनाक बलिङ गर्ने मोहम्मद आमीरमाथि सन् २०१० मा आइसीसीले ५ वर्षको प्रतिबन्ध लगाएको थियो । २०१० मा उनी स्पट फिक्सिङ प्रकरणमा निक्कै चर्चामा रहे ।
पाँच वर्षको सजाय पार गरेपछि उनी गत वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किए । उनको पुनरामगनपछि क्रिकेटको दुनियामा निक्कै हलचल आयो । आमीरले २०१६ को जनवरीमा पाकिस्तानी टिममा पुनरागमन गरेका थिए ।
महान क्रिकेटर सचिन तेन्दुल्करले पनि आमीरको प्रतिभाको खुलेर तारिफ गरेका छन् ।
बेलायती मिडियाहरुले उनको पुनरागमनको बिरोध गरिरहँदा महान क्रिकेटर तेन्दुलकरले भने आमीरको समर्थन गरेका थिए । ‘आमीरसँग स्किल छ, यदि उसले फेरि पनि लय हासिल गर्न सफल भयो भने निश्चित रुपमा उसले केहि गर्छ । उसले पाएको सजाय सकिसकेको छ, यस्तोमा यसले अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किन चाहन्छ भने अरुलाई किन समस्या ।’
सचिनले भनेका थिए, ‘मेरो मान्यता के हो भने फैसला भयो र सजाय पनि सुनाइयो र उसले सजाय पनि काटिसकेको छ भने उसलाई खेल्न कुनै समस्या हुनुहुन्न ।’
मोहम्मद आमीरको प्रतिभाको कदर गर्नेमा पूर्व पाकिस्तानी महान क्रिकेटर वासिम अक्रमलाई पनि श्रेय दिइन्छ । सन् २००७-२००८ मा आामीर पाकिस्तानमा एक युवा प्रतिभाशाली युवा बलरको रुपमा चिनिन थालिसकेका थिए । उनको बलिङको तुलना वासिम अक्रमसँग गर्न थालिएको थियो भने २०१० सम्म आइपुग्दा उनी पाकिस्तानको मूख्य धरोहरको रुपमा स्थापित भइसकेका थिए ।
मोहम्मद आमीरको सबैभन्दा सवल पक्ष के हो भने उनी १४५ देखि १५० प्रतिघण्टाको स्पिडमा बल फाल्न सक्छन् भने त्यसलाई स्वीङ गराउनपनि सक्छन् । यदि कुनै बिपक्षी टिमको टप अर्डर ध्वस्त पार्नुछ भने उनी आफ्नो भूमिका उत्कृष्ट ढंगले निभाउँथे ।
आमीरले सन् २००९ मा पाकिस्तानको घरेलु क्रिकेटमा पनि आफ्नो छाप छोडिसकेका थिए ।
मोहम्मद आमीरले जम्मा ३६ एकदिवशीय खेलेकोमा ५५ विकेट लिएका छन् भने २८ टेष्टमा ९४ विकेट लिएका छन् । २५ सालका उनी बायाँ हातले बलिङ तथा ब्याटिङ गर्छन् ।
मोहम्मद आमीरको जन्म १३ अपि्रल १९९२ मा पाकिस्तानको पञ्जावस्थित गजुर खानमा भएको थियो ।