Comments Add Comment

धनगढी उपमहानगरका एजेण्डाः नदी तटबन्धनदेखि बौद्धिक क्रान्तिसम्म


७ असार, धनगढी । प्रदेश नम्बर ७ को सम्भावित राजधानी धनगढीमा स्थानीय चुनावको रसाकस्सी निकै चलेको छ । राजनीतिक दलका तथा स्वतन्त्र उम्मेदवारहरु आफ्ना एजेण्डा सुनाउँदै मतदाता रिझाउन घरदैलो कार्यक्रममा जुटिरहेका छन् ।

सुदूरपश्चिमको मुटु मानिने धनगढीका लागि मेयरका उम्मेदवारहरुले के-कस्ता योजना सोचेका छन् त ? उनीहरुले आफ्ना एजेण्डा अनलाइनखबरलाई यसरी सुनाएः

विकासका लागि बौद्धिक क्रान्ति गर्छु
दुर्गा जोशी, मेयरका उम्मेदवार, नेकपा एमाले

एमालेले राष्ट्रियताको पक्षमा जुन चट्टानी अडान लिएको छ, त्यो अहिलेको लोकप्रिय एजेण्डा हो । म एमालेको उम्मेदवार भएकाले मेरो जितको पहिलो आधार नै त्यही हो ।

दोस्रो, धनगढीका जनताको मनस्थिति हेर्दा उनीहरुले दुइटा कुरा चाहेका छन् । पूर्वाधार विकास र जीवनस्तर माथि उठ्नुपर्छ भन्ने कुरा । जुन अत्यन्त स्वाभाविक छ ।

हामीले मतदातालाई भनेका छौं, उपमहानगरको बजेटलाई पारदर्शी तरिकाले तपाईंहरुको माझमा पस्किँदै पूर्वाधार विकासमा हाम्रो ध्यान केन्द्रित हुनेछ । भ्रष्टाचारलाई हामी निर्मूल गर्नेछौं पनि भनेका छौं ।

म शैक्षिक प्रतिष्ठान चलाएर आएको व्यक्ति भएकाले जनतालाई के विश्वास छ भने, क्याम्पस प्रमुख भएर राजनीतिमा आएको मान्छे भएकाले यसले भ्रष्टाचार गर्दैन । त्यो विश्वास मेरो पुँजी हो । म त्यसलाई डग्न नदिई अघि बढ्नेछु ।

जनताले देशमा राजनीतिक स्वतन्त्रता पाए पनि उनीहरुको आर्थिक क्रियाकलाप शून्य भएको अवस्था छ । जसको कारणले उनीहरुको जीवनस्तरमा कुनै पनि प्रगति भएन । हामीले भनेका छौं, जबसम्म बेरोजगारी समस्यालाई समाधान गरिँदैन, तबसम्म खोक्रो नाराले जीवनस्तर माथि उठ्दैन । जीवनस्तर उकास्ने आर्थिक क्रियाकलापले हो ।

आर्थिक क्रियाकलाप बढाउन हामीले दुइटा कुरामा ध्यान दिनेछौं । पहिलो त, धनगढीमा प्राविधिक शिक्षालय स्थापना गरेर सीपमूलक दक्ष जनशक्ति उत्पादन गर्नेर्छौं । दोस्रो, धनगढी घर भएर विभिन्न देशमा रहेका दक्ष जनशक्तिलाई हामी यहाँ लगानीको निम्ति आह्वान गर्छौं । यी दुवैको बीचमा उपमहानगरपालिका पुल बन्नेछ ।

यसले बेरोजगारी समस्या समाधान हुनेछ र विदेशमा रहेका धनगढीका स्थानीय घर फर्काउने वातावरण पनि बनाउनेछ । यो हाम्रो नवीन चिन्तन हो ।

तेस्रो, हामीले विकासको लागि बौद्धिक क्रान्ति भनेका छौं । आज युरोप त्यसै युरोप भएको होइन । त्यहाँ रुसो, थोमस, माक्र्स जस्ता थुप्रै डक्टरिनहरुको जन्म भयो, जसले गर्दा युरोपमा एउटा बौद्धिक क्रान्ति भयो र विकासको मूल फुट्यो ।

हामीकहाँ पनि जबसम्म विकासका लागि बौद्धिक क्रान्ति हुँदैन, विकासप्रतिको चेतना जबसम्म जनताको मन-मस्तिष्कमा जागृत हुँदैन, तबसम्म बजेट जति नै दिए पनि काम लाग्दैन । विकासमा जनताको सहभागिता हुनुपर्छ भन्ने हाम्रो मान्यतालाई मतदाताले सकारात्मक रुपमा लिएका छन् ।

यसका साथै मेरा अन्य एजेण्डामा ढल तथा तटबन्धनको व्यवस्थापन, फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने, गेटा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्ने पनि छ । यस्तै, फूलबारीलाई आधुनिक शहरको रुपमा विकास गर्ने, त्यहाँ ठूल्ठूला शैक्षिक प्रतिष्ठानहरु स्थापना गर्ने पनि योजना छ ।

वडा नम्बर १० मा राना थारु समुदायको संग्रहालय स्थापना गर्ने, वडा नम्बर १७ मा विकास भइरहेको थारु होमस्टेलाई अझै व्यवस्थित पार्न काम गर्नेछु ।

मैले शिक्षा क्षेत्रमा काम गर्दा महसुस गरेको छु, सामुदायिक र निजी विद्यालयबाट शिक्षामा दुई प्रकारका नागरिक उत्पादन भइरहेका छन् । त्यसलाई समाप्त पारेर सरकारी विद्यालयमा अंग्रेजी माध्यम र कम्प्युटर प्रणालीबाट पढाउने व्यवस्था गर्ने सोचेको छु ।

धनगढीमा मेरो मुख्य प्रतिस्पर्धा कांग्रेससँग हुने देखेको छु । जित्नेमा म शतः प्रतिशत नै विश्वस्त छु ।

प्राथमिकताको आधारमा विकास गर्ने, लगानी भित्र्याउने
गोपाल हमाल, मेयरका उम्मेदवार, स्वतन्त्र

यो चुनावमा म आफ्नो सोखले उम्मेदवार भएको होइन । जनताको चाहना समृद्धि र विकास हो भन्ने बुझेर त्यो भावनाको प्रतिनिधित्व गर्दै म मैदानमा उत्रिएको छु ।

मैले विगत १४ वर्षदेखि धनगढी र सुदूरपश्चिमको विकासको लागि निरन्तर काम गर्दै आएको छु । सुन्दर सुदूरपश्चिम अभियान, एयरपोर्ट निर्माण लगायत सबै अभियानमा संलग्न भएँ । विगतमा कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष हुनुका साथै म १४ वर्ष उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य भएँ ।

यसरी धनगढी क्षेत्रको विकासको लागि व्यावसायिक क्षेत्रबाट कदम चालिरहेको यहाँका विकासप्रेमीहरुले नजिकबाट देख्नुभएको छ । उहाँहरुले नै यसपाली तिमी उम्मेदवार हुनुपर्छ भनेर भनेकाले मैले उम्मेदवारी दिएको हुँ ।

त्यस कारण मेरो जित्ने आधार जनता विकास र समृद्धिको पक्षमा तथा भ्रष्टाचारको विरुद्धमा छन् । उनीहरु हाम्रो स्थानीय स्रोत-साधनको योजनाबद्ध र न्यायपूर्ण तरिकाले बाँडफाँट चाहन्छन् । त्यही अपेक्षा र आग्रहमा म चुनावमा उठेको हुँ ।

विगतमा राजनीतिक दलहरुले सुशासन दिन सकेनन्, भ्रष्टाचार पनि संस्थागत गरे । विकास पनि गर्न सकेनन् । त्यसकारण विकासका लागि धनगढीका समुदायले वैकल्पिक रुपमा मलाई देख्न चाहेका छन् । फेरि विकल्प भनेको जनताले हेर्न खोजेको कसैको अनुहार हैन । हिजो ज्ञानेन्द्रलाई राजगद्दीबाट हटाउँदा उसको अनुहार मन नपरेर हटाएको थिएन । समृद्धि चाहियो र हाम्रो जीविकामा फरक पर्‍यो भन्ने जनताको भनाइ छ ।

विगत २० वर्षमा स्थानीय निकायमा चुनाव नभए पनि सर्वदलीय संयन्त्रको नाममा राजनीतिक दलहरुले नै काम गरेका हुन् । त्यो अवधिमा भागबण्डा, भ्रष्टाचार संस्थागत भयो र योजनाबद्ध तरिकाले काम भएन । प्राथमिकता नभई पहुँचको आधारमा विकास भयो । आम जनताले न्याय पाएनन् । देशमा व्यवस्था बदलिए पनि अवस्था बदलिएन । जनता अवस्था बदलिएको हेर्न चाहन्छ । अवस्था बदल्नको लागि मेरो उम्मेदवारीले क्रमभंग गर्न खोजेको हो ।

मेरो एजेण्डा मुख्यगरी दुइटा मात्र छ- समृद्धि र विकास । जनता आज के को पक्षमा छ त ? पक्कै पनि समृद्धि र विकासको पक्षमा छ । म चुनावमा उठ्नु भनेको समृद्धि र विकासको पक्षमा भएको जनता चाहनालाई स्थापित गर्ने अभियान हो । त्यो मुद्दा हामी स्थापित गर्छौं र जित्यौं भने काम गरेर पनि देखाउँछौं ।

मेरो प्रतिस्पर्धा कुन दलका उम्मेदवारसँग हुन्छ, कसले कति भोट ल्याउँछ भन्ने म केही जान्दिनँ । त्यस्तो आकलन गर्ने क्षमता मसँग छैन । किनभने म राजनीतिको मान्छे नभई समृद्धि र विकासको पक्षमा उभिएको एउटा व्यावसायिक मान्छे हो ।

मेरा एजेण्डाको सर्सर्ती कुरा गर्नुपर्दा पहिलो कुरा पहुँचको आधारमा नभई प्राथमिकताको आधारमा विकास गर्नेछु । भ्रष्टाचारलाई निर्मुल गर्नेछु । अहिले व्याप्त बेरोजगारीलाई हटाउन सबभन्दा पहिले कृषिलाई आधुनिकीकरण र व्यावसायिकरण गर्नेछु । अर्को कुरा, स्वरोजगारको तालिमहरु सञ्चालन गर्नेछु । धनगढी उपमहानगरपालिकामा लगानी भित्र्याउने वातावरण सिर्जना गर्न पनि काम गर्नु छ । भएको लगानीलाई सुरक्षित गर्ने र लगानी बढाउन प्रेरित गर्नेछु । यसका साथै यहाँ भएको ऐलानी जग्गाको समस्यालाई समाधान गर्ने, तटबन्धन र डुबानको समस्या निराकराण गर्ने र सडक विस्तार, बिजुलीको पावर बढाउने, पुलपुलेसा, कल्भर्ट जस्ता नियमित काम पनि गर्दै जाने योजना छ । समग्रमा हामी योजनाबद्ध र पारदर्शी तरिकाले काम अगाडि बढाउँछौं अनि सीमित साधनको अधिक प्रयोग गर्छौं ।

मैले जनतालाई स्पष्ट रुपमा भनिरहेको छु, मैले जित्दा गोपाल हमालले जित्ने होइन, समृद्धि र विकासले जित्ने हो । यदि जनताले समृद्धि चाहेका छैनन्, भ्रष्टाचारको बोलवाला चाहेका छन् भने मेरो जित अनिश्चित छ । तर, भ्रष्टाचार निर्मूल गर्ने, विकास र समृद्धि चाहिने हो भने मेरो जित सुनिश्चित छ ।

किसानको पक्षमा काम गरेर धनगढीलाई समृद्ध पार्नेछु
राम समझ राना, मेयरका उम्मेदवार, माओवादी केन्द्र

म राना थारु समुदायबाट आएको हुँ । हाम्रो समुदाय कैलाली र कञ्चनपुर गरी दुई जिल्लामा छ । राजनीतिमा राना थारुको प्रतिनिधित्व हुन सकेको छैन । मेयरमा म बाहेक कुनै दलले राना थारुबाट मेयरको उम्मेदवार उठाएको पनि थाहा छैन । माओवादी केन्द्रले मलाई विश्वास गरेर टिकट दिएको छ । त्यो विश्वासलाई जनताले पनि विश्वास गर्छन् भन्ने लाग्छ ।

मैले मेयरमा यसपाली बाजी मार्छु जस्तो लागिरहेको छ । मुख्य हेर्ने हो भने त जनलहर नै हो । जनलहर माओवादी केन्द्रको पक्षमा देखिन्छ । हाम्रो पार्टीले अघि सारेका समानता, समावेशीदेखि धर्म निरपेक्षता जस्ता एजेण्डाहरु संविधानमा समेटिएका छन् । पार्टीले त्यत्रो बलिदान गरेर सबै जनताको घरमा सुविधा दिएको छ । मेरो जित्ने आधार यिनै हुन् ।

मलाई भोट किन दिनेभन्दा पनि किन नदिने भन्ने प्रश्न हो । आजको दिनमा माओवादी पार्टीलाई भोट नदिने मान्छे विरलै होलान् । किनभने जनताको लागि सबभन्दा बढी लड्नै पार्टी नै माओवादी पार्टी हो । कमैया, सुकुम्बासी, किसान, गरिब वर्ग, महिला आदिको लागि लडिदिने पार्टी हो माओवादी । मुस्लिम अल्पसंख्यक समुदायहरुको लागि लड्ने पार्टी पनि हाम्रै हो । त्यसोभए हामीलाई भोट किन भोट नदिने ?

सर्सती हेर्दा धनगढीमा माओवादी, एमाले र कांग्रेसतीन वटै दलको प्रतिस्पर्धा देखिन्छ । अहिले नै कसको तागत बढी छ भनेर भन्न नसकिएला । तर, भन्नैपर्दा यसपाली हाम्रो भिडन्त एमालेसँग हुन्छ भन्ने लागेको छ । कांग्रेसमा चाहिँ यसपाली उम्मेदवार चयनको क्रममा केही किचलो भएकाले ऊ आन्तरिक समस्यामा देखिन्छ ।

धनगढी नगरक्षेत्रमा अहिले निकै अस्तव्यस्त बसोबास छ । खोलानाला अतिक्रमणले गर्दा धनगढी डुबान क्षेत्र बनेको छ । म मेयरमा जितेर गएपछि तत्काल पहिलो काम नै ढल निकासको व्यवस्था मिलाई डुबानमुक्त क्षेत्र बनाउन कस्सिनेछु ।

धनगढीलाई व्यवस्थित स्मार्ट सिटी बनाउन अहिले दुइटा प्रोजेक्टले पैसा लगाइरहेको छ । तर, त्यसले त्यति गति लिएको छैन । हामी जितेर गइसकेपछि यसलाई तत्काल अगाडि बढाउने भनेका छौं ।

दोस्रो, ८५ प्रतिशत किसान वर्ग भएकाले धनगढीभित्र किसानलाई बढी ग्राह्यता दिने मेरो योजना छ । किसानलाई उठाउन सकियो भने धनगढी उपमहानगर समृद्ध हुन्छ भन्ने हाम्रो विश्लेषण छ । परम्परागत खेतीले सामान्य जीविका धान्न मात्रै सीमित हुँदै आएकाले त्यसलाई आधुनिकीकरण गर्ने सोचेको छु । दुई बिगाहा जमिन भएका किसानलाई पानी तान्ने एउटा बोरिङ, कृषि मिटर निःशुल्क दिने लगायत योजना बनाएका छौं ।

स्वास्थ्य नीति तथा आवश्यक अन्य कानून हामीले नै बनाउने हो । उपमहानगरमा पुगेपछि सबै कुरा लागू गर्दै जानेछौं ।

मेरो कार्यकालमा भ्रष्टाचार निर्मूल पार्नेछु
विष्णु साहु, मेयरका उम्मेदवार, राप्रपा

मैले चुनाव जित्ने आधार जनता नै हो । धनगढी उपमहानगरका जनतासँग मेरो राम्रो घुलमिल छ । मेरो राजनीतिक करिअर निर्भीक र निष्कलंक छ भनेर सबैले थाहा छ । जनताको लागि जुनसुकै बेला जे सहयोग पनि गर्ने भनेर मलाई चिन्छन् ।

मलाई यो चुनावमा ठूला दलको छायामा परिएला भन्ने डर छैन । ठूला दल भन्नेहरु त सिंहदरबारमा रहिहाले । प्रदेशको स्थानीय तहमा व्यक्तित्वको ओज र समाजमा परेको छवि लिएर भिड्ने हो । फेरि अब त राजधानीको सिंहदरबार स्थानीय तहमै आइसक्यो । यस्तो अवस्थामा जनताले यहाँको लायक, विश्वासिलो र निष्कलंक मान्छेलाई चयन गर्नुपर्छ ।

आजको दिनमा मतदाताले उम्मेदवार र उसका गुण हेरेर मत दिन्छन् । को असल छ र कसको राजनीतिक करिअर सफा छ, यी सबै कुरा हेरिन्छ । यी सबै कुरा जनताले बुझेका छन् । मेरो उमेर ६५ वर्ष भयो, यसमध्ये ५० वर्षको लगानी मेरो धनगढी क्षेत्रमा छ । यसै ठाउँमा लडिबुडी गरेर आएको हुनाले म यहाँको समस्यासँग परिचित छु । सबैले राम्रो भनेर चिन्ने भएकाले चुनावमा जित हात पर्नेमा म एकदम ढुक्क छु ।

मलाई लाग्छ, चुनावमा मेरो प्रतिस्पर्धा एमालेसँग हुन्छ । तर, धेरै मतले फरक पारेर म अगाडि जान्छु । कांग्रेस चाहिँ पहिलो चरणको स्थानीय चुनावबाट सबैभन्दा शक्तिशाली भएपछि उसभित्र केही उन्माद देखिएको छ ।

म मेयरमा जितिसकेपछि यसै ठाउँका विज्ञ तथा सरोकारवाला मान्छे जति छन्, पार्टीभन्दा माथि उठेर उहाँहरुबाट अब वैज्ञानिक रुपमा कसरी काम गर्ने भनेर सल्लाह लिनेछु ।

मेरो एजेण्डा भनेको मेरो कार्यकालमा भ्रष्टाचार मौलाउँदैन । विकास-निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, सुरक्षा आदि क्षेत्रमा कुन वडामा कहाँ के कमजोरी छ र कहाँ के कुराको आवश्यकता छ भन्ने बुझेर म काम गर्नेछु ।

धनगढीका धेरै ठाउँमा समस्या छ । कतिपय ठाउँमा जनचेतना पनि छैन । जनचेतना बढाएर अब गलत कुरा नगरौं, यो स्थानीय तहलाई अरुभन्दा फरक तरिकाले अगाडि लैजाऔं म सबैलाई जागरुक बनाउँछु ।

यो पनि पढ्नुस्

धनगढी उपमहानगरः ‘कांग्रेसले गुन लगायो, जितेरै छाड्छु’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment