Comments Add Comment

सुन्तलीले न्याय पाइन्, बलात्कारपछि हत्या गर्ने अभियुक्त ५ वर्षपछि अण्डमान टापुमा समातिए

बलात्कारी छुटाउने तत्कालीन डीएसपी सञ्जीव शर्मामाथि पनि छानविन हुने


१२ असार, काठमाडौं । चौध वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी एकपटक पक्राउ परी छुटेर फरार भएका अभियुक्तलाई प्रहरीले ५ वर्षपछि भारतको अण्डमान निकोबार टापुबाट पक्राउ गरेको छ ।

रामेछापको लिखु गाउँपालिका वडा नम्बर २ सैपु सिसन्धुकी सुन्तली तामाङको बलात्कारपछि हत्या गर्ने श्याम राउतलाई प्रहरीले निकै ठूलो प्रयासपछि पक्राउ गर्न सफल भएको हो ।

तत्कालीन सैपू गाविस वडा नम्बर १ को सिरिसे कवैटार भन्ने ठाउँबाट ०६८ माघ ५ गते हराएकी सन्तली तामाङको शव १५ दिनपछि लिखु खोलामा झोलाको फित्ताले घाटीमा बाँधेको अवस्थामा फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको थियो ।

छोरीको हत्याबाट विक्षिप्त बनेकी आमा डिल्लीमायाले जिल्ला प्रहरी कार्यालयमा छिमेकी पोकुका श्याम राउत र प्रदीप राउत विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर, रामेछापका तत्कालीन प्रहरी प्रमुख सञ्जीव शर्माले अनुसन्धान नै नगरी राउतलाई हाजिरी जमानीमा रिहा गरेपछि यो प्रकरण चर्चामा आयो ।

बलात्कार अभियुक्त छुटेपछि उल्टै उनीहरुले गुण्डा लगेर डिल्लीमायालाई समेत मार्ने धम्की दिएका थिए । हत्याराको धम्कीपछि पीडित परिवार विस्थापित भएर ६ महिनासम्म सिन्धुलीमा बसेका थिए । यो विषय अनलाइखबरमार्फत बाहिर आएपछि प्रहरी हेडक्वार्टरले तत्कालीन डीएसपी शर्मालाई विभागीय कारवाही स्वरुप सरुवा गरेको थियो ।

यसबीचमा ५ वर्षसम्म लगातार डिल्लीमायाले न्याय खोज्दा पनि पाउन सकेकी थिइनन् । अन्ततः रामेछापमा कुमोद ढुंगोल डीएसपी भएर गएपछि उनले यो केसको अनुसन्धान बढाएका थिए ।

अभियुक्त राउत भारतमा रहेको सूचनाका आधारमा भारतीय प्रहरीसँगको समान्वयबाट पक्राउ गर्न सफल भएको सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मध्य क्षेत्रका डीआइजी गणेश केसीले बताए ।

शुरुमा भारतको चण्डीगढ लगायतका शहरमा रहेका अभियुक्त राउत पछिल्लो समयमा भारतको अण्डमान एण्ड निकोबार टापुमा एउटा रेष्टुरेन्टमा कार्यरत रहेको प्रहरीले पत्ता लगायो । राउतलाई अण्डमानबाटै भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले पछ्यायो ।

पछिल्लो समय राउत दिल्लीको नोयडामा भारतीय प्रहरीको निगरानीमा परे । नेपाल प्रहरीको मध्यक्षेत्र ब्यूरो, रामेछापका डीएसपी ढुंगेल र अपराध महाशाखा सहितको टोलीले भारतबाट पछ्याउँदै भैरहवाबाट नियन्त्रणमा लिएको हो ।

पत्रकार सम्मेलनमा डीआइजी केसीले राउतलाई असार ११ गते भैहरवाबाट पक्राउ गरिएको बताए । अभियुक्त राउतले प्रारम्भिक वयानका क्रममा सुन्तली तामाङको बलात्कारपछि हत्याको अभियोग स्वीकार गरेको प्रहरीले जनाएको छ ।

तत्कालीन डीएसपीमाथि कारवाही होला ?

अरुणोदय माविमा कक्षा ७ मा अध्ययनरत सुन्तलीको हत्यापछि पक्राउ परेका राउतलाई विना कारवाही छाड्ने तत्कालीन डीएसपी सञ्जिव शर्मामाथि पनि थप छानविन हुने डीआइजी केसीले बताए । पत्रकार सम्मेलनमा सुन्तलीका आमा डिल्लीमायाले तत्कालीन डीएसपी शर्माले ‘केटी भेटे जसले पनि गर्छन्’ भन्ने गैरजिम्मेवार जवाफ दिएको आरोप समेत लगाइन् ।

उनले तत्कालीन डीएसपी शर्मामाथि कारवाही भएमात्र आफ्नो छोरीको आत्माले शान्ति पाउने भन्दै बलात्कारीमाथि कारवाही गर्नका लागि शर्माले ‘खेत पास’ गरेर दिन दबाव दिएको आरोप समेत लगाइन् । उनको आरोप सुनेपछि डीइआजी केसीले डीएसपीमाथि छानविन हुने बताए ।

केसीले भने- उतिबेलै डीएसपी शर्मामाथि विभागीय कारवाही स्वरुप सरुवा गरिएको हो । अनुसन्धान फितलो गरेको देखिएकै हो, अब पीडितको आरोपबारे पनि छानविन हुन्छ । गल्ती देखिएमा कारवाही हुनेछ ।

यो पनि पढ्नुहोस् 

ओई सिंहदरबार, सुन्तली तामाङलाई न्याय दे !

पत्रकार सम्मेलनमा सुन्तलीकी अामाले के भनिन् हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment