+
+

कीर्तिपुरका मेयर र विद्युत प्राधिकरणको टकराव, मारमा जनता

नगरपालिकाले पर्खाल भत्काइदियो, प्राधिकरणले लाइन काट्यो

सुदिल पोखरेल सुदिल पोखरेल
२०७४ असार १५ गते ११:३१

१५ असार काठमाडौं । बाटो विस्तारको विषयलाई लिएर कीर्तिपुर नगरपालिका र विद्युत प्राधिकरणवीच उत्पन्न द्वन्द्व उत्कर्षमा पुगेको छ ।

एकातर्फ अदालतको अवहेलना गर्दै नगरपालिकाले प्राधिकरणको संरचनामा डोजर चलाएको छ भने त्यसलाई जवाफ दिँदै प्राधिरकणले नगरपालिकाको विद्युत लाइन काटिदिएको छ ।

कीर्तिपुर नगरपालिकाकाले बाटो विस्तारको सिलसिलामा असार १ गते प्राधिकरणको कीर्तिपुर बितरण केन्द्रको पर्खाल भत्काएको थियो ।

प्राधिकरणको भवनसमेत भत्काउने नगरपालिकाको योजना थियो । यसलाई रोक्न प्राधिकरण पाटन उच्च अदालत गयो र अदालतले ९ गते नगरपालिकालाई भवन नभत्काउन अन्तरिम आदेश दियो ।

तर, अदालतको आदेश अवज्ञा गर्दै सोमबार बेलुका ५ बजे नगरपालिकाले १२ गते फेरि प्राधिकरणका संरचनामा डोजर चलायो । मेयर महर्जनले आफूकहाँ अन्तरिम आदेश नआइपुगेकाले भत्काएको दाबी गरे ।

त्यसको भोलिपल्ट १३ गते प्राधिकरणले महशुल नतिरेको भन्दै नगरपालिकाको विद्युत लाइन काटिदिएको छ ।

यसरी दुई सरकारी निकायवीचको द्वन्द्वले कीर्तिपुरबासी मारमा परेका छन् । आफ्नो संरचना भत्काइएको निहुँ गरेर प्राधिकरणको कीर्तिपुर वितरण केन्द्रले अहिले ग्राहक सेवा ठप्पजस्तै पारेको छ । प्राधिकरणमा पैसा तिर्न आएका कीर्तिपुरबासी यत्तिकै र्फकन बाध्य भएका छन् ।

यता नगरपालिका कार्यालय विद्युतविहीन बनेको छ । अत्यावश्यक कामका लागि जेनेरेटर चलाइन्छ । अन्यथा सेवाग्राहीले दुख पाइरहेका छन् । बुधबार दिउँसो मेयर रमेश महर्जनकोे कार्यकक्षमा न बत्ति बलेको थियो न त पंखा नै चलेको थियो ।

पसिना पुछ्दै मेयर महर्जनले अनलाइनअबरसँग भने, ‘प्राधिकरणले जनतालाई अनावश्यक कष्ट दिइरहेको छ । आफूले त सेवा दिन बन्द गर्‍यो-गर्‍यो, हामीले दिने सेवा पनि प्रभावित बनाइदिएको छ ।’

मेयर महर्जन नेकपा एमालेबाट निर्वाचित भएका हुन् । विद्युत प्राधिकरणका माओवादीकेन्द्र निकट कर्मचारीहरु उनका विरुद्ध खुलेर लागेका छन् ।

गत ९ गते एक प्रेस विज्ञप्ति निकाल्दै माओवादीनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठन संयुक्तले मेयरलाई ‘भूमाफिया’को बिल्ला नै भिराइदियो ।

मेयर महर्जन भन्छन्, ‘दोस्रो चरणको चुनावको मुखैमा एमालेलाई बदनाम गर्न मलाई भुमाफियाको आरोप लगाइएको हो ।’

मेयरको अस्पष्ट योजना

कीर्तिपुर रिङरोड २.४ किलोमिटरको छ । ५/५ मिटर फराकिलो यो सडकमा दुईवटा गाडी सहजै आवत-जावत गर्न सक्दैनन् । त्यसैले रिङरोडलाई ‘वन वे’ गराइएको छ । कीर्तिपुरको रिङरोड अवलोकन गर्ने हो भने यसलाई तत्कालै ९/९ मिटरको फराकिलो बनाउनुपर्ने देखिन्छ ।

कीर्तिपुर पाँगादेखि कीर्तिपुर वितरण केन्द्रसम्मको सडक यसअघि ०७२ सालमै ९/९ मिटर फराकिलो गराइएको थियो । महर्जन थप ३ सय मिटर सडक यति नै फराकिलो गर्ने सोचमा छन् । पांगा दोबाटोदेखि कीर्तिपुर वितरण केन्द्रसम्म फराकिलो गरी फुटपाथसहितको सडक बत्ति राखेर नमूना सडक बनाउने उनको योजना छ ।

थप ३ सय मिटर सडक फराकिलो गर्दा कीर्तिपुर वितरण केन्द्रको अधिकांश संरचना भत्किन्छ । यहाँ फेरि वितरण केन्द्रको कार्यालय बनाउन ठाउँ नै पुग्दैन । यसै ठाउँमा नगरपालिकाको वडा कार्यालय पनि छ । तर यसलाई नगरपालिकाले भत्काएको छैन ।

मेयर भन्छन् -ढुक्क हुनुस् त्यो पनि भत्काइन्छ 

कहिलेसम्म र कसरी सडक फराकिलो पारिन्छ भन्ने स्पष्ट योजना भने उनीसँग छैन । अहिलेसम्म ९/९ मिटर सडक फराकिलो गर्नको लागि मार्किङ गर्नसमेत उनले सकेका छैनन् । आफ्नो कार्यकाल अर्थात ५ वर्षसम्ममा सडक फराकिलो पार्ने मेयर महर्जन बताउँछन् ।

तर, नगरपालिकाका एक कर्मचारी भन्छन्, ‘९/९ मिटर सडक फराकिलो पार्ने भनेर हल्ला गरियो, तर अहिलेसम्म मार्किङ गर्ने आँट पनि गर्न सक्या छैनन् । ३ सय मिटर मात्रै सडक फराकिलो गर्नुको कुनै औचित्य पनि छैन ।’

पछाडिको जग्गालाई फाइदा

कीर्तिपुर वितरण केन्द्रको पछाडिपट्टी झण्डै ६ रोपनी निजी जग्गा छ । सो जग्गाको अहिले कुनै बाटो छैन । बाटो अभावले यहाँ कुनै पनि घर बनेको छैन । अहिले यो ६ रोपनी जग्गामा मकै खेती गरिएको छ ।

प्राधिकरणको जग्गा खासीबजारपट्टी साँघुरिँदै गएको छ । साँघुरिएको स्थानतिर अहिले भवन बन्न सुरु भैसकेको छ । ९/९ मिटरको बाटो चौडा गर्ने हो भने त्यहाँ प्राधिकरणको भौतिक संरचना खासै रहन्न । केही जग्गा बाँकी रहे पनि त्यहाँ भवन बनाउन पुग्दैन ।

यही नै ठाउँमा मेयरले बाँकी रहेको जग्गालाई मुआब्जा दिएर भए पनि ट्राफिक आइल्यान्ड बनाउने योजनामा छन् । यसरी सरसर्ती हेर्दा मेयरले त्यहाँ भएको सार्वजनिक जग्गा सबैजसो सडकमा पार्न खोज्दैछन् । यसो गर्दा पछाडिपट्टी रहेको सार्वजनिक जग्गालाई बाटो खुल्नेछ ।

मेयर महर्जन भन्छन्, ‘पछाडिपट्टी कस्को जग्गा हो मलाई थाहा छैन, कीर्तिपुरमा १ किमी जति पाइलट प्रोजेक्टका रुपमा नमूना सडक बनाउँछु, अनि मात्रै अन्य ठाउँमा फराकिलो बनाउन सजिलो हुन्छ । त्यसैले प्राधिकरणको भवन भत्काउन लागेको हुँ ।’

किन काटियो विद्युतको लाइन ?

कीर्तिपुर नगरपालिकाका केही वडा कार्यालयले लामो समयदेखि विद्युत महशुल बुझाएका छैनन् । गत जेठ १९ गते महशुल नबुझाएका वडा कार्यालयमा लाइन काट्ने भनेर प्राधिकरण अघि बढेपछि नगरपालिकाले सबै वडाको महसुल तिर्ने आफ्नो दायित्व भएको र छिट्टै तिर्ने बताएको थियो ।

असार ४ गते प्राधिकरणले पुनः महशुल एक हप्ताभित्र तिर्न भन्दै नगरपालिकालाई पत्र पठाएको थियो । तर, एक हप्तामा महसुल नबुझाएपछि असार १३ गते भने प्राधिकरणले नगरपालिकाकै विद्युत लाइन काटिदिएको हो ।

कीर्तिपुर वितरण केन्द्रका प्रमुख प्रज्जवलमान श्रेष्ठ भन्छन् ‘हामीले तोकेको समयसीमाभित्र महसुल नतिरेपछि जसको पनि लाइन काट्ने गरेका छाैं, नगरपालिकाले १ लाख ९८ हजार तिर्न बाँकी छ त्यसैले काटेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?