Comments Add Comment

चुनाव हारेपछि गुल्मीका कांग्रेस सभापतिको राजीनामा

श्रेष्ठले भने– अन्यसँग लड्दै आएको म आज आफ्नैसँग हारेँ

१८ असार, गुल्मी । पार्टीको गढ मानिएको रेसुङ्गा नगरपालिकाको मेयरमा पराजित भएपछि कांग्रेसका गुल्मी जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले राजीनामा दिएका छन् ।

आफू पराजित भएको र जिल्लामा पार्टीलाई पनि राम्रो नतिजा दिलाउन नसकेको भन्दै उनले नैतिकताका आधारमा राजिनामा दिएका छन् ।

श्रेष्ठले आफूलाई आफ्नै कार्यकर्ताले अन्तर्घात गरेर चुनाव हराएको बताएका छन् । श्रेष्ठले विज्ञप्तिमा भनेका छन्– ‘पार्टी सभापतिले चुनाव लड्ने इच्छाप्रति पार्टी पंक्तिकै कार्यकर्ताबाट गम्भीर असहयोग भर्इ पराजित हुनुपर्दाको पीडा दु:खद र अक्षम्य छ । सिङ्गो पार्टी पराजित भएको छ, म त एक निमित्त पात्र हुँ । यो पराजयले पार्टीलाई वर्षौ पछाडि धकेल्छ कि भन्ने भयले म ग्रसित छु । मेरो समृद्ध सुन्दर रेसुङ्गा नगरपालिका बनाउने सपनामा तुषारापात भएको छ ।’

श्रेष्ठले पराजित भए पनि आफू जनताको बीचमै हुने बताएका छन् । श्रेष्ठले भनेका छन्– ‘अन्यसँग लड्दै आएको म आज आफ्नैसँग हारेँ, तर हिम्मत हारेको छैन, हरेस खाने छैन । बरु पराजित हुँदाको अनुभव बटुलेर जनताको बिचमा उभिनेछु ।’

साबिक रेसुङ्गा गाउँ विकास समितिमा दुई पटक अध्यक्ष निर्वाचित भएका श्रेष्ठ यसपटक नगरपालिकामा आफ्ना पुराना प्रतिस्पर्धी एमालेका डिल्ली भुषालसँग पराजित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment