Comments Add Comment

दशरथचन्दका मेयरलाई काम गर्न अन्तरिम रोक

दशरथ चन्द नगरपालिकाको मेयरमा निर्वाचित नरेन्द्रसिंह थापा

२१ असार, बैतडी । उच्च अदालतले अर्को आदेश नहुँदासम्म दशरथ चन्द नगरपालिका बैतडीका मेयर नरेन्द्र सिंह थापालाई मेयरको रुपमा कामकारबाही नगर्न अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासका मुख्य न्यायाधीश यज्ञ प्रसाद बस्यालको एकल इजलासले कुनै काम कारवाही नगर्न/नगराउन अन्तरिम आदेश दिएको हो ।

मतगणना परिणाम बदर गरी दोहोर्‍याई पुनः पुरै मतगणना गराई पाउँ भनी राप्रपाका मेयर पदका उम्मेदवार पुष्करराज जोशी ‘लख्खाभाइ’ले निवेदन दिएका थिए ।

जोशी ६२ मतअन्तरले कांग्रेसका नरेन्द्रसिंह थापासँग पराजित भएका थिए । मत गणनामा धाँधली भएको ठहर गर्दैै राप्रपा बैतडीले चुनावी परिणाम स्वीकार नगर्ने घोषणा गरेको छ । मतगणनामा संलग्न केही कर्मचारी र प्रतिस्पर्धी पार्टीका कार्यकर्ताहरुको मिलेमतोबाट आफ्नो विपक्षमा एकतर्फी रुपमा मतपरिणाम घोषणा गरिएको आरोप राप्रपाले लगाउँदै आएको छ ।

मतगणना स्थलमा खटिएका आफ्नो पार्टीका प्रतिनिधिहरुको गम्भीर असहमति हुँदाहुँदै पनि मुख्य निर्वाचन अधिकृतले औंठा छाप लगाएको मत पनि सदर गरेको आरोप राप्रपाको छ । साथै मतपरिणामको विवरण माइकिङ्ग गर्दा र कम्युटरमा इन्ट्री गर्दा फरक-फरक राखेको पाइएको प्रमाण पाइएकाले कुनै हालतमा पनि मतपरिणाम स्वीकार गर्न नसकिने राप्रपा जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment