Comments Add Comment

चुनावी परिणामबारे कस्तो थियो दलहरुको आँकलन ?


२३ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कांग्रेसले ३३४ मध्ये १५० वटा तहमा जित्ने अनुमान गरेको थियो । तर, अहिलेसम्म ११७ तहमा मात्रै जित हात पारेको छ । केन्द्रीय सदस्य गुरुराज घिमिरेले अपेक्षा गरेका पूर्वी सहर, ५ नम्बरका दाङसहितका सहरी क्षेत्रमा हार बेहोर्दा अपेक्षित परिणाम ल्याउन नसकेको बताए ।

‘१५० तह जित्छौँ भन्ने लागेको थियो,’ उनले भने, ‘तर, जित्नैपर्ने ठाउँमा समेत हामी हार्न पुग्यौँ ।’ अन्तर्घात, असहयोगजस्ता कारणले पनि केही ठाउँमा हारिएको घिमिरेले बताए ।

एमालेले विभिन्न दलको मोर्चाबन्दी र राज्यसत्ताको दुरुपयोगका बाबजुद दोस्रो चरणको निर्वाचनमा पहिलो दल बन्नेगरी सन्तोषजनक नतिजा आएको प्रारम्भिक समीक्षा गरेको छ । पहिलो चरणमा जस्तै पार्टीको आन्तरिक सर्वेक्षणअनुसारको नतिजा नआए पनि परिणाम सन्तोषजनक नै रहेको निष्कर्ष एमालेको छ ।

३३४ स्थानीय तहमध्ये कम्तीमा १७० देखि १९५ सिट जित्ने आन्तरिक सर्वेक्षणसहितको आँकडा एमालेले तयार पारेको थियो । तर, बिहीबार रातिसम्म एमालेले १४३ सिट जित्दै आठ तहमा अग्रता लिइरहेको छ । अन्तिम परिणाम आइसक्दा कम्तीमा १५० सिट जित्ने सम्भावना देखिएकाले एमालेले आन्तरिक सर्वेक्षणभन्दा २० देखि ४५ सिट कम जित्ने निश्चित छ ।

माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचन परिणाम निराशाजनक भएको बताएको छ । प्रारम्भिक समीक्षामा माओवादीले यस्तो निष्कर्ष निकालेको हो । माओवादी केन्द्रले पहिलो र दोस्रो चरणमा गरी १५० सिट कटाउने लक्ष्य राखेको थियो ।

६ वटा प्रदेशको ५८८ वटा स्थानीय तहमा निर्वाचन सकिँदा माओवादीले अहिलेसम्म जम्मा ८१ तहमा मात्र जित हासिल गरेको छ । पहिलो चरणमा ४६ तह जितेको माओवादीले दोस्रो चरणमा ३८ तहमा जित हात पारेको छ । त्यसमध्ये पनि नगरपालिकाको संख्या निकै न्यून छ । यो सफलता अपेक्षाविपरीत भएको नेता मणि थापाले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment