Comments Add Comment

अमेरिकी डान्स सेन्टर, जहाँ वालवालिकाले नेपाली भाषा सिक्छन्

यसरी हुँदैछ न्युयोर्कमा नेपाली भाषाको प्रवर्द्धन

 

अमेरिकामा रहेकी ६ वर्षीया आयुषी बज्राचार्य सधैं सप्ताहन्त अर्थात शनिबार र आइतबारको व्यग्रताको साथ पर्खाइमा हुन्छिन् । उनका लागि सप्ताहन्त केवल दुई दिन बिदा मात्र होइन । यो त उनको लागि आफ्नो मन पर्ने रुचि पछ्याउने समय हो , त्यो हो नेपाली नृत्य ।

न्युयोर्क शहरको क्विन्समा अवस्थित वसन्त डान्स सेन्टरमा नृत्य सिक्ने जाने तरखरमा थिइन् आयुषी त्यस दिन ।

उनकी आमा अञ्जना, आफ्नी छोरीमा पछिल्लो समयमा देखिएको परिवर्तनले दंग थिइन् । त्यो के भने , आयुषी आजकल नेपाली भाषा बोल्न थालेकी थिइन् र बोल्न प्रयास पनि गरिरहेकी थिइन् ।

आयुषीका पिता सतिष १० वर्षदेखि न्युयोर्कमा बसिरहेका छन् । न्युयोर्कको म्यानहृयाटनमा रहेका एक कम्पनीका म्यानेजर सतिश युट्युबमा, ‘पानी पर्‍यो असीना झर्यो’ भन्ने गीत लगाउँछन् र आयुषी गीत गाउँदै नृत्य देखाउन थाल्छिन् ।

नृत्य भनेपछि हुरुक्कै हुने आयुषी शुरुमा डान्स सेन्टर जान नमानेको बताइन् अञ्जनाले ।

‘पहिलो हप्तामै छोरीले आफु डान्स सिक्न नजाने भनिन्,’अञ्जनाले भनिन् ।
‘ छोरीले डान्स टिचरले बोलेका नबुझिने गुनासो गरिरहेकी थिइन् । ‘

डान्स सेन्टरमा एउटा नियम छ जसको कारण आयुषीेले पहिलो हप्तामै नृत्य सिक्ने नजाने भनेर जिद्दि गरेकी थिइन् । त्यो नियम हो – त्यो डान्स सेन्टरमा विधार्थीहरुले अनिवार्य रुपमा नेपाली भाषा बोल्नै पर्थ्यो ।

नृत्य निर्देशक विजय नकर्मी

‘मैले यो नियमलाई प्रयोग गर्ने विचार तब गरें, जब मैले देखें कि नेपाली बच्चाहरु यहाँ बाटोमा र घरमा आफ्नै ड्याडी मम्मीसँग नेपालीमा होइन, इंग्लिसमा बोलिरहेका थिए’ विजय नकर्मीले भने ।

नकर्मीले वसन्त डान्स सेन्टर सन् २०१० देखि न्युयोर्क शहरमा शुरु गरेका हुन् । आफनो गुरु नृत्य निर्देशक वसन्त श्रेष्ठको नाममा डान्स सेन्टर शुरु गरेका नकर्मीको यो नियमका कारण धेरै विद्यार्थीहरुले नेपाली भाषा बोल्न थालेका छन् ।

‘उनको यो नियम निकै राम्रो छ’ अञ्जनाले भनिन् । ‘आयुषी अहिले घरमा नेपालीमा थोरै भए पनि कुरा गर्न थालेकी छिन्, जुन देख्दा निकै खुशी लाग्छ ।’ नकर्मीको यो नियमको प्रशंसा अरुले पनि गरिरहेका छन् ।

‘यो नियमले गर्दा मेरी छोरीको नेपाली राम्रो भएको छ’ निमा शेर्पाले भनिन् ।
निमाकी ६ वषिर्या छोरी लाक्पा उक्त डान्स सेन्टरमा २ महिनादेखि नृत्य सिकिरहेकी छिन् ।

‘मेरी छोरी घरमा पनि अहिले विस्तारै नेपाली सिक्न थालेकी छिन’ शेर्पाले भनिन् । ‘पहिले पहिले इंग्लिशमा जवाफ फर्काउँथिन्, अहिले त नेपालीमै प्रयास गर्छिन् ।’

‘मेरी छोरीले टिचरको डरले सिकेकी हो वा के हो थाहा भएन, तर जे होस् म त एकदम खुशी छु उनको नेपाली सुनेर,’ शेर्पाले हाँस्दै भनिन् ।

लाक्पा भने नेपाली बोल्न विजय सरले सिकाएको भन्दै थिइन् ।

आयुषी आफ्नी आमा अञ्जनासंग नेपालीमा कुरा गर्दै

४६ वर्षे विजय नकर्मीले विषेश गरी नेपाली लोक र सांस्कृतिक नृत्यहरु सिकाउँछन् । हरेक सप्ताहन्त कम्तिमा ६० विद्यार्थीहरु उनकोमा नृत्य सिक्छन् । शनिबार र आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म नृत्य सिकाउने नकर्मीले अन्य दिन भने बेलुका ५ बजेदेखि ११ बजेसम्म सिकाउँछन् । ती दिनहरुमा उनी स्टोरमा काम गर्छन् ।

‘स्टोरको कामले मलाई गैर नेपालीसँग भिज्न मद्दत गर्छ ,’ नकर्मीलेे हाँस्दै थपे- ‘मेरो अहिलेको जीवनमा बिदा भन्ने छैन । ‘

सन् २००८ मा अमेरिका आएका नकर्मीले नृत्य निर्देशनमा ३० वर्षभन्दा बढी समय बिताइसकेका छन् । केही नेपाली फिल्म-जीन्दगी, नेपाली वीर, गुरुदक्षिणामा नृत्य निर्देशन गरिसकेका उनले भने, ‘अन्य नेपालीहरुजस्तै म पनि आर्थिक कारणले नै अमेरिका आएको हो । ‘

अमेरिकामा एक्लै बस्ने नकर्मीकी श्रीमती, १८ वर्षे छोरी र १० वर्षे छोरा नेपालमै छन् । ‘उनीहरुलाई पनि चाँडै अमेरिका ल्याउन लागिरहेकी छु , त्यसपछि भने म बिदा लिन्छु होला । परिवारलाई पनि समय दिनुपर्ला नि, हैन ? ‘ मुस्कुराउँदै उनले भने ।

आयुषी र लाक्पा नृत्यको तयारी गर्दै

उनको डान्स सेन्टरमा ५ वर्षभन्दा माथिकालाई मात्रै प्रशिक्षण दिइन्छ ।

‘ मैले ५० वर्षभन्दा माथिकालाई पनि यहाँ डान्स सिकाएको छु’ उनले भने ।
‘गत वर्ष एक नेपाली चाडमा नाच्नुपर्छ सिकाइदिनुस् भन्दै उनीहरु आएका थिए ।’

नृत्य सिकाएवापत घण्टाको १० डलर लिने गरेका नकर्मीले ग्रुपमा आउँदा भने छुटदिने गरेको बताए ।

न्युयोर्ककै क्विन्समा बस्ने ४५ वर्षे लाक्पा रिन्जी शेर्पा आफ्नी १० वर्षे छोरी रिन्छेनसँग करिब ५ हप्तादेखि त्यहीँ नृत्य सिक्दै थिए । १४ वर्षदेखि न्युयोर्क बसिरहेका शेर्पा भन्छन् , ‘मेरी छोरीले नेपाली यहीँ सिकेकी हुन् ।’

यता नकर्मी भने यहाँ जन्मेको बच्चाहरुलाई आफ्नो भाषा र संस्कृतिका बारेमा खासै ज्ञान नभएको भनेर चिन्ता जनाउँदै थिए ।

‘ यहाँ जन्मेका धेरै नेपाली बच्चालाई नेपाली बोल्नै आउँदैन ‘ उनले थपे ।

आयुषी पनि न्युयोर्कमै जन्मिएकी हुन् । यसअघि सन् २०१४ मा नेपाल गएकी उनले अंग्रेजी मिसिएको नेपालीमा भनिन् , ‘मैले नेपाली भाषा त्यहाँ सिकेकी थिएँ तर पछि यहाँ आएपछि बिर्सिर्एँ ।’

आयुषीकी आमा अञ्जनाले नेपालमा हजुरबुवा हजुरआमासँग स्काइपीमा कुरा गर्दा आयुषीले नेपाली नबुझ्दा शुरु शुरुमा दिक्क लाग्ने गरेको बताइन् ।

‘बुबामुमाले पनि अलि सजिलो नेपाली बोल्नुहन्छ, जसले गर्दा आयुषीलाई बुझ्न सजिलो हुन्छ । अझ डान्स सेन्टरमा सिकेको नेपाली भाषाले गर्दा अलि सहज भएको छ ।’

‘यदि मेरी छोरीले भाषा नै बुझिनन् भने मैले उनलाई हाम्रो संस्कृति पनि बुझाउन सक्दिनँ, ‘ उनले थपिन्, ‘संस्कृतिसंँग भाषाको प्रत्यक्ष सम्बन्ध हुन्छ ।’

अञ्जनाले अमेरिकामा नेपाली भाषा सिकाउने संस्था नखोजेकी पनि होइनन् तर उनले खासै फेला पार्न सकिनन् ।

न्युयोर्कमा नेपाली भाषा सिकाउने संस्था नभएको भने होइन, तर ती प्रायः पानीको फोका जस्तै छन् । केही समय चल्छन् र पछि बन्द हुन्छन् ।

पछिल्लो समय क्विन्समै ४२ वर्षे पदमा लिंखा मगरले आफ्नो व्यक्तिगत पहलमा गत सेप्टेम्बरदेखि हरेक आइतबार बिहान १ घण्टा निःशुल्क नेपाली भाषा सिकाइरहेकी छिन् ।

‘संस्था खोलेरै भाषा सिकाउन मसँग पैसा छैन, ‘ मगरले भनिन् । नेपालमा त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रमा स्नात्तकोत्तर गरेकी मगरले थपिन्, ‘जति सक्छु, त्यति आफ्नो तर्फबाट गरिरहेकी छु आफ्नो समुदायका लागि । ‘

गत वर्षदेखि नेपाली भाषा सिकाउन थालेको अन्तराष्ट्रिय नेपाली साहित्य समाज, न्युयोर्कले पनि कक्षालाई निरन्तरता दिन सकेको छैन । संस्थाका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको न्युजर्सी राज्यमा अवस्थित घरमा केही समय चलेको नेपाली भाषा कक्षा अहिले चालु अवस्थामा छैन ।

संस्थाका उपाध्यक्ष मनि बाङदेलका अनुसार स्वयंसेवा गर्ने साथीहरुको अभावकै कारण कक्षालाई निरन्तरता दिन नसकिएको हो ।

‘ न्युयोर्कमा नै यो कक्षालाई निरन्तरता दिन पाएको भए अझ प्रभावकारी हुन्थ्यो तर के गर्नु भाडा तिर्न सकिन्न, फेरि बच्चाहरुबाट पैसा लिन पनि हामी सक्दैनौं, ‘ उनले भने, ‘भनेजस्तो सजिलो कहाँ छ र ?’

यता न्युयोर्कमै भर्खरै शेर्पा किदुग संस्थाले पनि जुलाई महिनाको दास्रो हप्तादेखि नेपाली भाषा पढाउन शुरु गरेको छ । तर, यसको निरन्तरता हेर्न भने बाँकी छ ।

भाषा सिकाउने संस्थाहरुले नेपाली भाषाको कक्षालाई निरन्तरता दिन नसके पनि वसन्त डान्स सेन्टरबाट नेपाली बालबालिकाहरुले थोरबहुत भाषा भने सिकिरहेका छन् ।

आयुषी अहिले पहिले भन्दा बढी नेपाली भाषा बोल्न थालेको देख्दा नकर्मी खुशी छन् ।

‘म नेपाली भाषा पढाउने टिचर त होइन, तर म उनीहरुले नेपाली भाषा बोलेको देख्न चाहन्छु’ नकर्मीले भने ।

स्रोतः भ्वाइस अफ न्यूयोर्क 

भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment