+
+
Shares

पूर्वपश्चिम राजमार्गको दाङ खण्डमा कालोपत्रे सडक एक वर्षमै भत्कियो

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २७ गते १२:३५

२७ असार, दाङ । मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङ र निर्माण ब्यवसायीको चरम लापरवाहीको कारण राप्ती गाउँपालिका अन्तर्गतको सिसहनियाँ-लठ्ठहवा खण्डमा कालोपत्रे गरिएको सडक एक वर्षमै खाल्डाखुल्डी परेको छ ।

ठेकेदार कम्पनीको लापरबाही भएकाले धरौटी रकमबाट मर्मत गराउने तयारी भइरहेको मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

‘नयाँ बनेको पिच हो, तर सडक वर्षौं पुरानो जस्तो देखिन्छ, ठूला ठूला खोबिल्टाहरु परेको छ,’ स्थानीय दिपक थापाले भने, ‘सडक पिच गर्दा लापरवाही भएको देखियो, अब तत्काल सडक पुनः मर्मत गर्न सम्वन्धित निकायले चासो दिनुपर्छ ।’

गत वर्ष दशैं अघि पूर्व पश्चिम राजमार्गको सिसहनियाँ-लठ्ठहवा सडक कालोपत्रे भएको थियो । तर, अहिले यो सडक भत्किएर छिया-छिया परेको छ । खड्का, कृष्ण, तिरुपाते जेभी निर्माण कम्पनीले २१ सय मिटर राजमार्ग कालोपत्रे गरेका थिए । निर्माण कम्पनीले गत वर्ष नै भुक्तानी लगिसकेको छ । करिव दुई करोड ८० लाख लागतमा सडक कालोपत्रे गरिएको थियो ।

दैनिक हजारौं गाडी आवत जावत गर्ने पूर्व-पश्चिम राजमार्गमा गरिएको कमसल पिचप्रति धेरैको असन्तुष्टि छ । ‘बाटोमा खाल्डा खुल्डी परेर विजोग छ, गत वर्ष बनेको सडकको यो हविगत हुदा सम्वन्धित निकायको ध्यान गएको छैन,’ सोमवार सोही सडक हुदै यात्रा गरेका नेकपा माओवादी केन्द्र दाङका सहइञ्चार्ज निर्मल आचार्यले भने, ‘सडक कालोपत्रे गर्दा भएको लापरवाहीले यस्तो भएको हुन सक्छ, सम्वन्धित निकायले चाँडै ध्यान देओस् ।’

मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङका इञ्जिनियर महेश विकका अनुसार सिसहनियाँ-लठ्ठहवा सडकमा गत वर्ष गरिएको पिचमा समस्या देखिएको स्विकार गरे । ‘सडकमा फल्ट देखिएको छ, नयाँ पिचमा खाल्डा खुल्डी धेरै भयो,’ विकले भने, ‘ठेकेदार कम्पनीले पाँच प्रतिशत धरौटी राखेको छ, त्यहीबाट मर्मत गराउने तयारीमा छौं ।’

यता मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङका प्रमुख वद्री शर्माले तत्काल नै अध्ययन गरिने र त्यसपछि प्रकृती हेरेर काम अघि बढाइने वताए ।

‘म सरुवा भएर आएको दुई दिन मात्रै भएको छ, सिसहनियाँ क्षेत्रको सडकको अध्ययन गर्छु,’ उनले भने, ‘गत वर्षको काम अहिले विग्रिएको छ भने ठेकेदारले मर्मत गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?