Comments Add Comment

एमाले-राप्रपा वार्ताः कमल थापालाई संशोधनको विपक्षमा तान्ने प्रयास ‘असफल’

एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापा । फाइल तस्वीर

२७ असार, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले संसदको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई संविधान संशोधन प्रस्तावको विपक्षमा तान्ने प्रयास गरेको छ । तर, राप्रपा नेताहरुले संशोधनको पक्षमा उभिने संकेत दिएका छन् ।

एमाले नेताहरुले मंगलबार राप्रपाका शीर्ष नेताहरुलाई संसदीय दलमा बोलाएर छलफल गरेका थिए ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै चुनाव गरेर मात्र संविधान संशोधन गर्न सकिने पार्टीको अडान सुनाएका थिए । यसबारे राप्रपाले पनि विचार गरोस् भनेर ओलीले भनेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

तर, राप्रपा अध्यक्ष कमल थापाले आफूहरुले संसदमा विचाराधीन संशोधन प्रस्तावप्रति सकारात्मक रहेको बताएका छ्न । उनले भने, ‘हामीले एउटा सन्दर्भमा विरोध गरेका थियौं । पछिल्लो विधेयकमा सीमांकन हटाएर नयाँ रुपमा प्रस्तुत गरिएको र यसलाई अघि बढाउँदा राजपालाई चुनावमा ल्याउन सकिन्छ कि भन्ने छ ।’

यद्यपि संशोधन अघि बढाउँदा प्रमुख विपक्षी एमालेलाई साथमा लिएर मात्र सत्ता पक्ष अघि बढ्नुपर्छ भन्ने मत राप्रपाको रहेको एमाले नेता नेम्वाङले जानकारी दिए ।

राप्रपा अध्यक्ष कमल थापाले संविधान संशोधन सहितका विषयमा छलफल भएको बताए । उनले भने, ‘संशोधन विधेयकमा हाम्रो नैतिक प्रतिवद्धता पहिल्यै कायम रहेको जानकारी गराएको छौं । यसमा उहाँहरु -एमाले) र हाम्रो मतभिन्नता छ ।’

एमाले संशोधन प्रस्तावको विरोध गर्दै आएको छ । मंगलबार मात्र तीन दलको बैठकमा एमालेले सबै चुनावपछि मात्र संशोधनबारे छलफल गर्न सकिने बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment