Comments Add Comment

‘महको म’ ल्याउँदै मदनकृष्ण, बिहेको वर्षगाँठमा सार्वजनिक हुने

२८ असार, काठमाडौं । चार वर्षअघि मह जोडीमध्येका हरिवंश आचार्यले आत्मकथाको पुस्तक ‘चिना हराएको मान्छे’ निकालेपछि मदनकृष्ण श्रेष्ठ शुभेच्छुकहरुका प्रश्नैप्रश्नबाट घेरिए- ‘तपाईंको आत्मकथा चाहिँ कहिले ?’

त्यसो त मदनकृष्णले पनि हरिवंशले लेख्न थालेकै बेलादेखि आत्मकथा लेख्न सुरु गरिसकेका थिए । तर, विविध समस्याले थिचेपछि उनी पछि परे । यस बीचमा हरिवंशले दोस्रो किताब ‘हरिबहादुर’ उपन्यास ल्याइसके । अब भने आत्मकथा लेखिसकेर प्रकाशनको पर्खाइमा बसेका मदनले याे खुसी बुधबार सञ्चारकर्मीमाझ साटे । उनको खुसीमा महको ३७ वर्ष लामो कलाकारिता यात्राका सहयात्री हरिवंश छुट्ने कुरै भएन ।

खुसी साट्दै गर्दा मदनले पुस्तक लेख्न ५ वर्षभन्दा बढी समय लाग्नुको कारण पनि दर्शाए । भारी गलामा उनले पारिवारिक व्यथा सुनाए, ‘१०-१५ च्याप्टर लेखेपछि श्रीमतीलाई क्यान्सर भएको थाहा भयो । म आफैंलाई पनि पार्किन्सन रोगले गाँज्यो ।’

श्रीमतीलाई त्यस्तो जटिल रोग लागेयताको समयलाई मदनकृष्ण जिन्दगीकै गाह्रो समय भन्छन् ।

‘लगभग २ वर्ष लेख्दै लेखिनँ, श्रीमतीकै उपचारका लागि देश-विदेश चहारेँ’, आत्मकथाको शीर्षक सार्वजनिकीकरण कार्यक्रममा उनले लेखन प्रक्रिया सुनाए, ‘यस्तो पारिवारिक बज्रपातको बेला पनि श्रीमतीलाई अलि सञ्चो भएको बेलामा लेख्ने गर्थेँ ।’

कष्टपूर्ण समयबाट केही पल चोरेर लेखेको आत्मकथा उनले श्रीमतीकै नाममा सार्वजनिक गर्ने भएका छन् । उनको आत्मकथा ‘महको म’ भदौ २० गते इन्द्रजात्राको दिन विवाहको ४४औं वर्षगाँठको अवसरमा पाठकमाझ आउने भएको छ ।

पुस्तकको नाम सार्वजनिक गर्ने क्रममा मदनकृष्णले प्रकाशन संस्था फाइन प्रिन्टसँग आत्मकथा प्रकाशनको करार सम्झौता पनि गरे ।


आफ्नो जीवनकथा लेख्नुअघि आत्मकथा र जीवनी त संसार हल्लाएका निकै ठूला मान्छेको मात्रै लेखिनुपर्छ भनेर उनी केही हच्किएका रहेछन् ।

‘म त साधारण मान्छे, मेरो जति भोगाइ त सबै मान्छेको हुन्छ भन्ने लागेको थियो’, उनले थपे, ‘तर, जिन्दगीमा पछाडि फर्केर कहाँ कोसँग कस्तो भयो भन्ने कुरा सम्झिँदा ठीकै हुन्छ जस्तो लागेर लेख्न थालेँ ।’

उनले पुस्तकमा जन्मस्थल जितपुर फेदी काठमाडौंमा बितेको बाल्यकाल, जागिरे जीवन, त्यस क्रममा सहकर्मीसँगै गाँसिएको पिरती र वैवाहिक जीवन, हरिवंशसँगको भेट र सहयात्रा लगायत विविध विषय समेटेको बताए ।

प्रकाशन संस्थाका अजीत बरालले यसअघि हरिवंशले आत्मकथामा महजोडीको सहयात्राबारे धेरै कुरा लेखिसकेकाले मदनकृष्णलाई विषय दोहोरिएला भनेर समस्या परेको आफूले पाण्डुलिपि पढ्दा महसुस गरेको उल्लेख गरे । सँगै उनले थपे, ‘महजोडीको काम, योगदान आदिलाई हरिवंशले आत्मकथामा जसरी अभिलेखीकरण गर्नुभयो, त्यसलाई बिट मार्ने काम मदनकृष्णको किताबले गर्नेछ ।’

मदनकृष्णले पनि ‘चिना हराएको मान्छे’ पढिसकेकाहरुलाई समेत आफ्नो पुस्तक नयाँ र रोचक हुने बताए ।

‘कलाकारको रुपमा धेरैथरी चरित्रमा देखिए पनि मान्छे चाहिँ म कस्तो हुँ त भनेर यो पुस्तकले पाठकलाई केही जानकारी मिल्नेछ’, उनले भने, ‘मैले आफ्ना धेरै कुरा त हरिवंशलाई सेयर गरेको छु । तर, लेख्दै जाने क्रममा हरिवंशलाई भन्न बाँकी कुरा समेत थुप्रै रहेछन् भनेर थाहा भयो ।’

हरिवंशले मदनकृष्णको किताब आउन लाग्दा आफ्नै किताब आउन लागे जत्तिकै खुसी लागेको अनुभूति सुनाए ।

‘म भन्नु नै दाइ अनि दाइ भन्नु नै म हो’, उनले महको गुलियो स्वादभित्रको हार्दिकता केलाउँदै पुस्तकको महत्ता दर्शाए, ‘मदन दाइ उदाहरणीय व्यक्तित्व हो, उहाँले रंगमञ्चमा गरेका संघर्षहरु धेरैका लागि प्रेरणा हुन सक्छ ।’

दुवैको बेग्लाबेग्लै आत्मकथा निस्किसकेपछि अब आफूहरु संयुक्त पुस्तक प्रकाशनतिर पनि लाग्ने हरिवंशले जानकारी दिए । अहिलेसम्म रंगमञ्चमा गरेका हास्यव्यङ्ग्य र प्रहसनमध्ये किताब बनाउन लायकका छान्दा ६ वटा किताब प्रकाशन गर्ने योजना रहेको उनले बताए ।

‘ती किताब निस्किएमा त्यो बेलाका हास्यव्यङ्ग्य कस्ता थिए त भनेर सबैले पढ्न पाउँछन् । यसका साथै रंगमञ्चमै काम गर्ने पछिल्लो पुस्तालाई पनि काम लाग्ला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment