
२९ असार, सिन्धुपाल्चोक । ठूलो धनजनको क्षति भएको सिन्धुपाल्चोकको जुरे पहिरो पीडितले तीन वर्षपछि राहत पाएका छन् ।
विसं २०७१ साउन १७ गते राम्चे-५ को इटिनी पहरो फुटेर गएको पहिराले १४५ जनाको निधन भई १२२ घर पूर्ण क्षति भएकामा प्रभावित परिवारले अहिले आएर भूकम्प पीडितसरह राहत पाउन थालेका हुन् ।
उक्त पहिराबाट साबिक राम्चे, माङ्खा, धुस्कुन र टेकानपुरसहित चार गाविसका बासिन्दा पीडित बनेका थिए ।
साबिक धुस्कुन र टेकानपुर गाविसका पीडितले यसअघि नै भूकम्पपीडित राहत पाइसकेका थिए तर कतैबाट राहत पाउन नसकेका साबिक राम्चे र माङ्खा गाविसका २० परिवारमध्ये राम्चेका तीन र माङ्खाका सातसहित १० परिवारलाई भूकम्प पीडितसरह राहत वितरणका लागि सम्झौता भइसकेको र बाँकी परिवारका लागि सम्झौताको पहल भइरहेको शहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुपाल्चोकका प्रमुख इ डा युवराज पौडेलले बताए ।
पीडितलाई राहत वितरणका लागि मापदण्ड पुनः वर्गीकरण गर्न जिल्लास्तरमा गठित समन्वय समितिले प्रतिवेदन दिएको थियो ।
त्यसैका आधारमा हालै निर्वाचित वडाध्यक्ष र सचिवको सिफारिसका आधारमा राहत वितरण गरिएको सो कार्यालयले जनाएको छ । उक्त पहिरामा साबिक चार गाविसका १२२ जना प्रभावित भएका थिए । तीमध्ये नौ घर तथा जग्गासमेतमा क्षति पुगेको थियो । प्रभावितमध्ये जग्गा नहुनेलाई जग्गा खरिद गर्न थप रु ५० हजारसमेत उपलब्ध गराइएको प्रमुख पौडेलले बताए ।
जुरे पहिरो पीडितका लागि विभिन्न संघसंस्था तथा व्यक्तिबाट संकलित रु दुई करोड २५ लाख जिल्ला दैवीप्रकोप उद्धार समितिको खातामा जम्मा भएको थियो । राजनीतिक दलको समन्वयको अभावमा पीडित परिवारले राहतका लागि पटक पटक माग गर्दा समेत पाउन सकेका थिएनन् ।
प्रतिक्रिया 4