काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम), त्रि.वि. शिक्षण अस्पताल र जापानको आम्दा इन्टरनेशनलबीच विपद व्यवस्थापन सम्बन्धी सम्झौता भएको छ ।
०७२ सालको महाभूकम्पमा त्रि.वि. शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरुले पुर्याएको योगदानको कदर गर्दै आम्दा इन्टरनेशनलका फाउण्डर सिगेरु सुनागामीको विशेष पहलमा सो सम्झौता भएको हो ।
सम्झौतापत्रमा नेपालका तर्फबाट आईओएमका डीन जगदीश प्रसाद अग्रवाल, त्रि.वि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिपक महरा र आम्दा इन्टरनेनलका तर्फबाट सिगेरु सुनागामीले हस्ताक्षर गरेका छन् ।
सम्झौता पत्र अनुसार जापानमा कुनै पनि विपत्ति आइपरे त्रि.वि शिक्षण अस्पतालमा कार्यरत नेपाली चिकित्सकको टोलीले जापान गएर सहयोग गर्ने तथा नेपालमा कुनै विपत्ति आइपरे त्यहाँका चिकित्सकहरुले नेपालमा आएर सहयोग गर्ने उल्लेख छ ।
‘नेपालीहरुको बहादुरी तथा विरताको कदर गर्दै आज नेपाल र जापानबीच यो सम्झौता गरिएको छ । यो सम्झौता अब हामी मरेपनि अनन्तकालसम्म रहिरहन्छ’, आम्दाका सुनागामीले भने ।
उनले ०७२ सालको विनाशकारी महाभूकम्पका बेला नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले देखाएको तदारुकताको समेत खुलेर प्रशंसा गरे ।
प्रतिक्रिया 4