Comments Add Comment

चिकित्सा शिक्षालाई खरीदको बस्तु बनाउन खोजिएको छः मन्त्री कार्की

 

१ साउन, काठमाडौं । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले चिकित्सा शिक्षालाई खरीदको बस्तु बनाउन नहुने बताएका छन् ।

त्रि.वि. शिक्षण अस्पतालको ३५ औं वार्षिकोत्सव तथा चिकित्सा शिक्षा अध्ययन संस्थान -आईओएम)को ४६ औ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै अर्थमन्त्री कार्कीले पछिल्लो समय चिकित्सा शिक्षा प्रतिस्पर्धी बन्दै गएको बताए । तर, माग अनुसार चिकित्सा शिक्षा उपलब्ध नभएका कारण हालका वर्षहरुमा यसमा अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको मन्त्री कार्कीले बताए ।

उनले भने, ‘नेपालमा मेडिकल शिक्षा प्रतिस्पर्धी बन्दै गएको छ । प्रतिस्पर्धा जरुरी पनि छ । तर कतिपय अवस्थामा मेडिकल शिक्षालाई खरीदको बस्तु बनाउन खोजिएको छ । यसमा सरकार गम्भीर छ ।’

मेडिकल शिक्षा किनेर नभई लगनले मात्र पाइने बताउँदै उनले अस्पतालले दिँदै आएकोे गुणस्तरीय सेवाको खुलेर प्रशंसा गरे । उनले स्वास्थ्य सेवा नपुुगेका स्थान तथा स्वास्थ्य सेवामा पहुँच नपुगेकाहरुलाई सुलभ, सरल सेवा दिन अन्य संस्थाहरुसित मिलेर एकीकृत स्वास्थ्य सेवा विस्तार कार्यक्रममार्फत सेवा दिन जोड दिए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाले अस्पतालको सुधारका लागि आफूले सक्ने सहयोग गर्न तत्पर रहेको बताए ।

उनले यसै आर्थिक वर्ष बुटवल र वर्दिवासमा आंगिक अस्पताल खोल्ने योजनामा आफूहरु रहेको जानकारी दिँदै यही साउनमा आउने पुरक बजेटमा समेत अस्पतालका लागि आवश्यक पर्ने मागहरु राख्न अनुरोध गरे ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठी, चिकित्सा शिक्षा अध्ययन संस्थान -आईओएम)का डीन डा. जगदीश अग्रवाल, त्रि.वि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिपक महरा लगायतको उपस्थिति थियो ।

कार्यक्रममा त्रि.वि. शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिपक महराले अस्पतालको वार्षिक कार्यक्रमबारे प्रस्तुती दिएका थिए ।

कार्यक्रममा आईओएमका डीन डा. जगदीश अग्रवालले आईओएमले यसै वर्षदेखि विडिएस अध्ययन सुरु गर्ने जानकारी दिए ।

कार्यक्रममा भूकम्पका बेलामा सहयोग गर्ने विभिन्न संस्था तथा अस्पतालमा रहेर सेवा पुर्‍याउने चिकित्सक, नर्स तथा अस्पतालका कर्मचारीलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment