Comments Add Comment

जिल्ला समन्वय समिति अबिलम्ब गठन गर्न निर्वाचन आयोगलाई एमालेको आग्रह

विदेशमा बस्नेको मतदाता नामावली दूतावासबाट संकलन गर्न माग

२ साउन, काठमाडौं । नेकपा एमालेले जिल्ला समन्वय समिति गठनका लागि अबिलम्ब पहल गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि जिल्ला समन्वय समिति गठनमा अन्योल र ढिलाई रहेको भन्दै एमालेले आयोगको ध्यानाकर्षण गराएको हो ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ्को नेतृत्वमा सोमबार निर्वाचन आयोग पुगेको टोलीले प्रमुख आयुक्त अयोधीप्रसाद यादवसहितका आयुक्तलाई भेटेर जिल्ला समन्वय समिति गठनका लागि आवश्यक निर्देशन दिन आग्रह गरेको हो ।

एमालेले निर्वाचन सम्पन्न भएका ६७ मध्ये ३१ जिल्लामा बहुमत ल्याएर एकल जिल्ला समन्वय समिति गठन गर्ने हैसियत बनाएको छ । तर, अहिलेसम्म जिल्ला समन्वय समिति गठन नभएकोमा एमाले असन्तुष्ट बनेको हो ।

एमाले टोलीले २०७४ माघ ७ भित्र तीन वटै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्वबाट सत्तापक्ष भाग्न खोजेको भन्दै सरकारलाई दबाब दिन निर्वाचन आयोगलाई आग्रह समेत गरेको छ ।

आयोग पदाधिकारीसँगको भेटपछि नेम्वाङले भने-सत्तापक्ष चुनावबाट भाग्ने आशंका हामीलाई भएको छ । निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छैन । २४० क्षेत्रका कुरा गरेर चुनावबाट भाग्न खोजेकाले आयोगले सरकारलाई दबाब दिनुपर्छ ।

सो भेटमा एमालेले मतदाता नामावली संकलन सकेसम्म जनतालाई सहज हुने गरी व्यवस्था गर्न समेत आग्रह गरिएको नेम्वाङले बताए ।

उनले काठमाडौंमा बसोबास गरिरहेकाहरुले निर्वाचन आयोगमै फोटो खिचाएर सम्बन्धित ठाउँमा नामावली पठाउने व्यवस्था गर्न सकिने बताए ।

एमालेले विदेशमा रहेका नेपालीले दूतावासमा गएर फोटोसहितको मतदाता नामावली भर्ने र त्यो लगत सम्बन्धित गाउँमा पुग्नेगरी व्यवस्था गर्न समेत माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment