+
+
Shares

माओवादीमा नयाँ प्रस्तावः छायाँ सरकार बनाउने, जिल्ला कमिटी विघटन गर्ने

पेरिसडाँडाको अधिकार स्थानीय तहमा पुर्‍याऔंः भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ३ गते १८:४०

 

हेमराज भण्डारी

३ साउन, काठमाडौं । माओवादी केन्द्रको जारी बैठकमा एकजना नेताले ७५ वटै जिल्ला कमिटीहरु विघटन गर्नुपर्ने र स्थानीय तहमा छायाँ सरकार गठन गरिनुपर्ने लिखित प्रस्ताव दर्ता गराएका छन् ।

माओवादीका पोलिटब्यूरो सदस्य हेमराज भण्डारीले पार्टीका सबै जिल्ला कमिटीहरु विघटन गरी नयाँ संरचनामा जानुपर्ने लिखित प्रस्ताव गरेका हुन् । भण्डारीले प्रदेश नम्बर १ का इञ्चार्ज गोपाल किरातीमार्फत मंगलबार पार्टी अध्यक्ष प्रचण्डलाई ९ पृष्ठ लामो लिखित प्रस्ताव पठाएका छन् ।

धनकुटाका पूर्वसभासद समेत रहेका भण्डारी जिल्लामा पार्टीले चुनाव हारेपछि इञ्चार्जबाट राजीनामा दिएका छन् । यही कारण उनी पेरिसडाँडामा जारी जिल्ला इञ्चार्जहरुको समीक्षा बैठकमा उपस्थित छैनन् । उनले आफू बैठकमा नगए पनि मंगलबार आफ्नो तर्फबाट लिखित सुझाव गोपाल किरातीलाई बुझाएका हुन् । किरातीले भण्डारीको प्रस्ताव प्रचण्डलाई हस्तान्तरण गरेको स्रोतले बतायो ।

पेरिसडाँडा र लाजिम्पाटको अधिकार स्थानीय तहमा !

माओवादी पार्टीले सिंहदरबारको अधिकार स्थानीय तहमा गयो भनिरहेका बेला अब पेरिसडाँडा र लाजिम्पाटको अधिकार पनि स्थानीय पार्टी नेतृत्वसम्म पुर्‍याइनुपर्ने भण्डारीको भनाइ छ ।

यसका लागि संविधानतः जिल्ला विकास समितिको अवधारणा खारेज भइसकेकाले अब पार्टीले पनि जिल्ला कमिटी राखिराख्न जरुरी नभएको भण्डारीको तर्क छ । त्यसैले अब पार्टीको जिल्ला कमिटीलाई विघटन गरेर स्थानीय तहमा पार्टीलाई कार्यकारी अधिकार दिइनुपर्ने र ती स्थानीय कमिटीहरु सोझै प्रदेश कमिटीप्रति उत्तरदायी हुनुपर्ने भण्डारीको नयाँ प्रस्ताव छ ।

जिल्लामा केही समयका लागि कार्यकारी अधिकार नभएको संयोजन समितिमात्रै बनाउनु उपयुक्त हुने भन्दै भण्डारीले स्थानीइ कमिटी, प्रदेश कमिटी र केन्द्रीय कमिटी गरी तीन तहको पार्टी संरचना आवश्यक भएको बताएका छन् ।

स्थानीय छायाँ सरकार गठनको प्रस्ताव

भण्डारीले अब स्थानीय तहमा चुनाव हारेका उम्मदेवारहरुलाई संलग्न गरेर स्थानीय तहमा पार्टीले छाँया सरकार बनाउनुपर्ने अर्को पूस्ताव अघि सारेका छन् । त्यस्तो छायाँ सरकारले स्थानीय तहमा प्रतिपक्षी दलको भूमिका खेल्दै स्थानीय सरकारको निगरानी एवं खबरदारी गर्नुपर्ने उनको प्रस्ताव छ ।

यसैवीच प्रदेश नम्बर १ का इञ्चार्ज गोपाल किरातीले पनि मंगलबारको बैठकमा बोल्दै स्थानीय तहमा छायाँ सरकार गठन हुनुपर्ने माग गरेका छन् ।

माओवादी स्रोतका अनुसार युवा नेता भण्डारीले प्रचण्डलाई बुझाएको लिखित सुझावमा स्थानीय तह सञ्चालन विभाग बनाइनुपर्ने, पार्टीका विजयी जनप्रतिनिधिहरुको तत्काल राष्ट्रिय भेला बोलाई उनीहरुलाई कामको निर्देशन एवं निर्देशिका बनाइनुपर्ने, पार्टीको महाधिवेशन चाँडो आयोजना गरिनुपर्ने, वर्ग पक्षधरता बलियो पारिनुपर्ने, समाजवादी कार्यदिशामा दृढ हुनुपर्ने लगायतका मागहरु अघि सारेका छन् ।

भण्डारीले डा. बाबुराम भट्टराई, मोहन वैद्य र विप्लवसँग कार्यगत एकता हुँदै पार्टी एकतासम्म गरेर अघि बढ्नुपर्ने पूस्ताव गरेका छन् ।

यसअघि गत वर्षको बैठकमा पनि पूर्वसभासद भण्डारीले पार्टी अध्यक्ष प्रचण्डसँग फरक मत राख्दै बेग्लै राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?