Comments Add Comment

३ करोड खर्चिएर निर्माण गरिएको बरहवा ताल कुरुप बन्दै

संरक्षणमा लापरबाही

४ साउन, रौतहट । करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएको गौरको बरहवा ताल अहिले जीर्ण अवस्थामा पुगको छ ।

३ करोडको लागतमा नेपाली सेनाको सहयोगमा निर्माण तथा सौन्दर्यीकरण गरिएको पर्यटकीय सम्भावना बोकेको बरहवा ताल सम्बन्धित निकायको बेवास्ताका कारण कुरुप बन्दै गएको छ ।

झण्डै एक वर्ष अघि नेपाली सेनाले बरहवा समितिलाई ताल हस्तान्तरण गर्दा स्थानीयको मनमा विकासको एउटा आश जागेको थियो ।
ताल किनारमा चार वटा पिकनिक स्र्पोट, १२ वटा घाट निर्माण गरी बोटिंग गर्ने व्यवस्था तथा विद्युतीकरणको समेत व्यवस्था गरिएको थियो ।

भारतीय बजारसँग सीमा जोडिएको सिमावर्ती क्षेत्र गौरमा भारतीय पर्यटकलाई समेत भित्राएर बजार प्रर्वद्धन गर्न सक्ने सम्भावना रहदारहदै पनि एउटा पर्यटकीय क्षेत्र खण्डहरमा परिणत भइरहेको छ ।

बोटिङ्ग गर्नका लागि राखिएका आधा दर्जन भन्दा बढी प्याडल बोट खिया लागेर बिग्रने अवस्थामा पुगेका छन् ।

तालमा स्थानीयले फोहर फाल्न थालेपछि तालका किनारहरु दुर्गन्धित भएका छन् । तालको सतहको गहिराई घट्दै आएको छ भने झारहरु अत्याधिक मात्रामा पलाएर बोटिङ्ग गर्न नसक्ने अवस्थामा पुगेको छ ।

ताल किनारमा बनाइएका पिकनिक स्पोर्टहरु भत्किन थालेका छन । प्याडल बोटहरुको समेत संरक्षण नहुँदा आधाभन्दा बढी बोटहरु जिर्ण बन्न थालेका छन् । रेखदेख गर्ने निकायको अभावमा ती बोटहरु अहिले काम नलाग्ने अवस्थामा पुगेको छ ।

मन्त्रालयले बेवास्ता गरेको समितिको आरोप

तालमा पानीको बहाव निरन्तर गर्न र तालको गहिराई बढाउनु पर्ने आवश्यक्ता रहेकोले भवन निर्माण विभागमा समेत गौर नगरपालिकाले बजेटका लागि पत्राचार गरेको जनाएको छ ।

नेपाल सरकारले ल्याएको स्मार्ट सिटीको योजना अन्तर्गत गौर नगरपालिकाले सहरी विकास मन्त्रालय लगायतलाई समेत अनुरोध गर्दा समेत मन्त्रालयको बेवास्ता गरेको छ ।

आफूहरुले पटकपटक सम्बन्धित मन्त्रालयका डीजीहरुलाई भेटेर तालको अवस्था र सम्भावनाका बारेमा जानकारी गराउँदा पनि आश्वासन मात्रै पाएको तर काम भने नभएको ताल संरक्षण समितिका अध्यक्ष अजय गुप्ताले बताए ।

गौर नगरपालिका र वरहवा ताल संरक्षण समितिले पनि ताललाई जोगाउन ठोस रुपमा आवश्यक पहल गर्नुपर्ने स्थानीयको माग छ ।

प्राविधिकरुपले नै डिजाइन तयार पारेर तालमा पानीको बहाव गराउनुपर्ने तथा बोटिङ्ग र पार्कलाई सुचारु गराउन आवश्यक रहेको छ ।

करोडौं रुपैयाँ लगानी भएको र सम्भावना बोकेको एउटा ताललाई संरक्षण गर्न सबैको चासो आवश्यक रहेको छ ।

संरक्षणमा लापरवाही

ताल संरक्षणको जिम्मेवारी पाएको समितिले पनि खासै काम गर्न सकेको छैन । निर्वाचनमा सहयोगका लागि भर्ना भएका म्यादी प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा केही पटक ताल सरफाई गराउने बाहेक अन्य काम समितिले गर्न सकेको छैन ।

नेपाली सेनाले ताल हस्तान्तरण गरेको एक वर्ष पनि नबित्दै निर्माण भएका संरचनाहरु, तारबार, तथा बोटहरु क्षतिग्रस्त हुनुमा समितिको पनि उदासिनता रहेको स्थानीयहरु बताउँछन् ।

सेनाले हस्तान्तरण गरेकै अवस्थालाई नै कायम राखेर सिमित क्षेत्र भित्र बोटिङ्गलाई मात्र निरन्तरता दिन सकेको भए पूर्वाधारहरु नष्ट हुने थिएन । पानी भित्र पलाएको घास मात्रै पनि संरक्षण समितिले हटाएको भए बोटिङ्ग बन्द नै हुने थिएन ।

ताल संरक्षण समिति मात्र होइन गौर नगरपालिका र स्थानीयले पनि बरहवा तालको सौन्दर्यीकरण र संरक्षणमा चासो दिएका छैनन् ।

जथाभावि रुपमा तालका किनारहरुमा फोहर फाल्ने, लुगा धुने कामले गर्दा ताल प्रदुषित बनेको छ ।

नेपाली सेनाको सहयोगमा ७ किलोमिटर लम्बाई भएको बरहवा तालको ३ करोडको लागतमा सौन्दर्यीकरण भए पनि अहिले तालका किनारहरु फोहरका डुंगुरमा परिणत भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment