Comments Add Comment

कमल थापाको राजनीतिक प्रतिवेदनः राप्रपालाई सदाका लागि समाप्त पार्ने षड्यन्त्र भयो

सरकार र संशोधनबारे के छ ?


४ साउन, काठमाडौं । पार्टीभित्र विवाद बढिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।

तर, राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले बहिस्कार गरेका छन् । कार्यसम्पादन समितिको बैठकमा नगएका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द भने केन्द्रीय समितिको बैठकमा उपस्थित भएका छन् ।

बैठकमा राजनैतिक कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष कमल थापाले राप्रपालाई समाप्त पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । हिन्दुराष्ट्रको शास्वत मान्यतामा आधारित भएर राप्रपाको बलियो एवं लोकप्रिय राष्ट्रवादी शक्तिको रुपमा उदय भएको भन्दै उनले भनेका छन्, हिन्दुराष्ट्र विरोधी र नेपालको राष्ट्रिय स्वाधिनता र स्वाभिमानलाई कमजोर बनाएर आफ्नो स्वार्थ शिद्ध गर्न चाहने राष्ट्रिय र अन्तर्राष्ट्रिय गिरोह र शक्तिकेन्द्रले संगठित र योजनावद्ध रुपमा राप्रपाबिरुद्ध अभियान चलाएका छन् ।’

पार्टीको विचार, नेतृत्व र समग्रमा पार्टीप्रति नै वितृष्णा र घृणा फैलाएर राप्रपा र राप्रपाको विचारलाई सदाको लागि समाप्त पार्न चाहने गिरोह र प्रवृत्तिभित्र केही दलका नेतादेखि पत्रकार, एनजीओकर्मी र नागरिक अगुवा नै रहेको भन्दै थापाले भने, यसतर्फ पार्टी पक्ति समय मै सचेत रहनु पर्छ र आमजनतालाई समेत सुसुचित गर्नु पर्छ ।’

पार्टी अध्यक्ष थापाले स्थानीय तह निर्वाचनमा राप्रपाले अपेक्षित सफलता हासिल गर्न नसकेको स्वीकार गरेका छन् ।

पार्टी एकीकरणले ल्याएको उत्साहजनक माहौल तथा आमजनताको अपेक्षाको तुलनामा निर्वाचन परिणाम निराशाजनक भएको भन्दै उनले भनेका छन्, ‘यो निर्वाचनले हाम्रा सबल र कमजोर पक्षहरुलाई उजागर गरेको छ ।’

राप्रपाले अवलम्वन गरेका विचार र नीतिको पक्षमा बलियो जनमत रहेको भन्दै उनले त्यो जनमतलाई भोटमा रुपान्तरण गर्ने संगठनात्मक शक्ति अत्यन्त कमजोर रहेको तीतो यथार्थलाई स्वीकार गर्नुपर्ने बताएका छन् ।

चुनावी हारबारे अध्ययन गर्न महामन्त्री ध्रुवबहादुर प्रधानको संयोजकत्वमा समिति गठन भइसकेको भन्दै थापाले समितिको प्रतिवेदनका आधारमा कमी कमजोरी सच्याएर आगामी चुनावमा अत्यधिक सफलता हासिल गर्न लाग्नुपर्ने बताएका छन् ।

सरकार र संशोधनबारे के छ ?

राप्रपा अध्यक्ष थापाले आफ्नो राजनीतिक दस्ताबेजमा संविधान संशोधन र सरकारमा पार्टीको सहभागिताबारे पनि बोलेका छन् ।

मधेस केन्दि्रत दलहरुलाई संविधानको मुल प्रवाहमा ल्याउनुपर्छर् भन्ने राप्रपाको मान्यता रहेको भन्दै उनले प्रदेश सीमांकन हेरफेरलाई छाडेर ल्याइएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने राप्रपाले निर्णय गरेको बताए । यसमा पार्टीका केही संसाले असन्तुष्टि जनाएको भन्दै थापालेभनेका छन्, संविबधान संशोधनको यस बिषयमा केन्द्रीय कार्यसमितिको बैठकले स्पष्ट मार्गदर्शन गर्ने नै छ ।

सरकारमा सहभागिताबारे पनि पार्टीमा विवाद रहेको स्वीकार गर्दै थापाले केन्द्रीय समितिको बैठकमा छलफल गर्ने प्रस्ताव गरेका छन् ।

राप्रपालाई देशकै ठूलो दल बनाउने योजना

राप्रपा अध्यक्ष थापाले आफ्नो राजनीतिक दस्तावेजमा पार्टीलाई एक दिन देशकै ठूलो दल बनाउने लक्ष्य अघि सारेका छन् ।
कार्यकर्तालाई हतोत्साहित नहुन आग्रह गर्दै उनले भनेका छन्, ‘निर्वाचन परिणामबाट चिन्तित र विचलित भएर होइन, पार्टीको सशक्त बिचार तथा प्रतिबद्ध कार्यकर्ताहरुको शक्ति र उर्जाको आधारमा राप्रपालाई एक दिन देश कै सबैभन्दा ठूलो राजनीतिक दल बनाउने छौं र बनाउन सक्छाै भन्ने अठोट पार्टी नेतृत्वले राख्नुपर्छ ।’

यसका लागि पार्टीभित्रका गुटवन्दी, भागवण्डा र अनुशासनहीनतालाई अन्त्य गर्नुपर्नेमा थापाले जोड दिएका छन् । ‘विधि र व्यवस्था अनुसार चल्ने पार्टी पद्दति निर्माण गर्नुपर्छ । व्यक्ति होइन विचार, नेता होइन नीतिको मान्यतालाई अनुशरण गर्ने चरित्र कायम गर्नुपर्छ’ पछिल्लो विवादतर्फ संकेत गर्दै उनले भनेका छन् ।

राप्रपा अध्यक्ष थापाले पार्टीका नेताहरुसामू जस्तोसुकै कठिन परिस्थितिमा पनि सिद्धान्त र विचारबाट विचलित नहुने तथा पार्टीलाई टुटफुट हुन नदिने संकल्प गर्न समेत प्रस्ताव गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment