Comments Add Comment

बक्राहामा बाढी आउँदा ठेकेदार र कर्मचारी मालमाल, जनताको बेहाल

ठेकेदार मस्त निद्रामा, स्थानीयबासी निदाउनै छाडे

८ साउन, बिराटनगर । भनिन्छ, भ्रष्टाचारीहरुले पाएसम्म अस्पतालका बिरामी वा आर्यघाटका दाउरामा पनि कमिसन खान्छन् ।

मोरङको बक्राहा नदीमा पनि यस्तै हालत देखिएको छ । गत वर्ष बाढीपीडित बनेका मोरङबासीले बिराटनगर पुगेर आन्दोलन गरेपछि सरकारले छुट्याएको तटबन्धनको रकम कर्मचारी र ठेकेदारको मिलेमतोमा स्वाहा बनाइएको छ ।

गतवर्ष घर र खेतमा बाढी पसेर घरबास उठीबास बनेका हजारौं किसानहरु यसवर्ष पनि बाढीको डरले निदाउन सकिरहेका छैनन् । तर, जलउत्पन्न प्रकोप बिराटनगरका कर्मचारीको मिलेमतोमा बाँध निर्माणको ठेक्का १ करोड १ लाखमा हात पारेका ठेकेदारहरु भने ४० लाख रुपैयाँ खाएर मस्तसँग सुतिरहेका छन् ।

ठेकेदार भागेको भन्दै कर्मचारीहरु दूधको साक्षी बिरालोजस्तै बनेका छन् । उनीहरु ठेकेदारलाई आफूहरुले बारम्बार ताकेता गरिरहेको बताउँछन् ।

गत वर्ष साउन ८ गते बक्राहा खोलामा आएको वाढीले पथरी शनिश्चरे ५ स्थित जयनगरमा तटबन्ध भत्काएर मानवस्तीमा पस्दा सो क्षेत्रका आधा दर्जन गाविसका मानिस प्रभावित भएका थिए । बाढीले १ हजार विघा खेतीयोग्य जमिनलाई बालुवामा परिणत गरेको थियो भने करिब ५ हजार बिघा जमिन डुबानमा परेको थियो ।

ठेकेदारले पैसा खाएर वीचैमा भागेपछि बाढीको उच्च जोखिम बढेसँगै बक्राहा खोला आसपासका स्थानीय रातभर जाग्राम बस्न बाध्य भएका छन् । बक्राहा खोलो बाँध भत्काएर गाउँ पस्ने डरका कारण स्थानीयबासीहरु रातभर जागा बस्न थालेका छन् ।

बक्राहा खोलाले शनिबार पथरी-शनिश्चरे नगरपालिका वडा नं ५ स्थित जयनगरबाट बाँध भत्काएको छ । बाँध भत्काएर खोलो गाउँमा पसेपछि स्थानीयबासीले बाँध भत्किएको ठाउँमा सामान्य माटो भर्ने काम गरेका छन् । तर, सो ठाउँ कच्चा अवस्थामा रहेकाले कुनै पनि बेला खोलो गाउँमा पस्ने डरले सताइरहेको स्थानीयले बताए ।

रातमा निद्रा छैन….

गत असारमा जयनगरबाट बाँध भत्किएपछि बक्राहा खोलो गाउँमा पस्यो । करिब ११ सय परिवार विस्थापित भए । हसन्दह, अमरदह, डाइनियाँ, गोसवन्दपुर र टकुवा लगायतका गाउँको करिब ५ हजार बिगाह जमिन डुबानमा पर्‍यो ।

सरकारले नहरेको भन्दै स्थानीयबासीहरु आन्दोलनमा उत्रिए । बिराटनगरस्थित जल उत्पन्न प्रकोपको कार्यालयसम्म पुगेर पीडितहरुले राज्यसँग हारगुहार मागे ।

सोही बाढीले ६७ वर्षीय लेखनाथ श्रेष्ठको ३ विघा खेत वालुवामा परिणत भयो । घरसमेत भत्काएर विस्थापित बनेको घटना सम्झँदै श्रेष्ठ भन्छन् – ‘योपल्ट पनि ठेकेदारले बाँध नबनाइदिँदा कुनै पनि बेला विगतको घटना दोहोरिन्छ कि भन्ने डर छ । रातको समयमा अलिकति पानी पर्‍यो भने पनि निन्द्रा लाग्दैन ।’

स्थानीय ६३ वर्षीय पूर्णबहादुर थापाको हालत पनि उस्तै छ । बक्राहा खोला गाउँमा पस्दा थापाको घरखेत खोलाले बगायो । अहिले विस्थापित अवस्थामा रहेका थापाको ४ विघा खेतीयोग्य जमिन बालुवा भरिएको छ ।

सरकारले बाँधको काम ठेक्का लगाए पनि ठेकेदारको फटाइका कारण काम अपुरो रहेको थापाको गुनासो छ । उनले बाँध दह्रो नभएकै कारण गतको वर्षको नियति यो वर्ष पनि भोग्न पर्ने डरले सताइरहेको बताए ।

वडाध्यक्ष भन्छन्- जोखिम बढ्यो

यसैवीच सुनवर्सी नगरपालिका २ नम्वर वडाका अध्यक्ष प्रताप तामाङका अनुसार जयनगरमा तटवन्धको कामले पूर्णता नपाउँदा बक्राहा खोला आसपासका आधा दर्जन गाउँहरु वाढीको उच्च जोखिममा परेका छन् ।

मध्य वर्षाको समयमा ठेकेदार कम्पनीले वीचैमा तटवन्धको काम छाडी वेपता भएपछि पथरी शनिश्चरे र सुनवर्षी नगरपालिका अन्तर्गत पर्ने हसन्दह, अमरदह, सुगा, डाइनिया टकुवा लगायतका गाउँहरु बाढीको उच्च जोखिममा परेको वडाध्यक्ष तामाङको भनाइ छ ।

तटवन्ध गर्ने क्रममा माटो मात्र भर्ने काम भएकाले सो भत्किएको खण्डमा आधा दर्जन बढी गाउँहरु बाढीको जोखिममा परेको तामाङले जानकारी दिए ।

उनका अनुसार कुल १ करोड १ लाखमा तटवन्ध निर्माण गर्ने ठेक्का पाएको निकिताले असार मसान्तसम्म तटवन्धको काम पूरा गर्नुपर्ने सम्झौता गरेको थियो । तर, बीचैमा काम अपुरो छाडी ठेकेदार बेपता भएको छ । ठेकेदारमाथि अहिलेसम्म कुनै कारवाही हुन सकेको छैन ।

भगौडा ठेकेदारलाई कसले समाउने ?

जयनगरमा गत वर्ष बक्राहाले बाँध फुटाएर गाउँ पसेको ठाउँमा बाँध पुनर्निर्माणका लागि १ करोड १ लाखमा ठेक्का लागेको थियो । तर, बाँधमा सामान्य माटो हालेर ठेकेदारहरु वेपत्ता भएका छन् ।

ठेक्का लगाउने कार्यमा बिराटनगरस्थित जल उत्पन्न प्रकोप कार्यालयका कर्मचारी र ठेकेदारवीच मिलेमतो भएको हुन सक्ने स्थानीयबासीको आशंका छ ।

कामै नगरी कर्मचारीहरुले ठेकेदारलाई ४० लाख रुपैयाँ निकासा दिइसकेका छन् । ठेकेदारहरु भागेको भनिए पनि कर्मचारीहरुको सम्पर्कमै रहेको बुझिएको छ ।

स्रोतका अनुसार त्यसै ठेक्का लिएर जनताको जीवनमा खेलवाड गर्नेहरु निकिता कन्स्ट्रक्सनका दिवेश कार्की र दिनेश साह रहेको कर्मचारीहरु बताउँछन् । उनीहरुको घर सुनसरी रहेको बताइएको छ ।

ठेकेदार कम्पनीको नाम ‘निकिता कन्स्ट्रक्सन’ भनिए पनि इन्टरनेटमा सर्च गर्दा त्यस्तो कम्पनी भारतमा रहेको र उसले बिल्डिङहरु निर्माण गर्ने गरेको देखिन्छ ।

के भन्छन् बिराटनगरका हाकिम ?

जल उत्पन्न प्रकोप कार्यालय बिराटनगरका अनुसार बक्राहा नदीको तटवन्धको जिम्मा पाएको निकिता कन्ट्रक्सनले तटवन्धनको काम वीचैमा छाडेर भागेको हो ।

जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय विराटनगरका प्रमुख डा. शिवनारायण साहले ठेकदारको लापरवाहीका कारण समस्या उत्पन्न भएको बताए ।

निकिता कन्ट्रक्सनले तटवन्धको काम समयमै नसक्दा भेल पस्ने खतरा रहेको बताए । बाँकी काम गर्न पटक-पटक ताकेता गर्दा पनि ठेकेदार कम्पनीले अटेर गर्दै आएको साहले बताए ।

४ अर्बको योजना, २५ करोडमा चलखेल

उत्तरपूर्वी मोरङको मधुमल्ला हुँदै दक्षिणतर्फ बग्ने बक्राहा खोलो निकै ठूलो पिराहा खोलाका रुपमा चिनिन्छ । दमकको रतुवामाईले जस्तै मोरङको बक्राहाले दशकौं अघिदेखि स्थानीयबासीलाई दुखः दिँदै आएको छ ।

बक्राहामा तटबन्धका नाममा ठूलो आर्थिक चलखेल हुने र ठेकेदार एवं नेता र कर्मचारीहरु मोटाउने धन्दा चल्दै आइरहेको छ भने जनताले सधैं सास्ती खेप्नु परिरहेको छ । जनताका नाममा छुटिने बजेटमाथि हुनेगरेको भ्रष्टाचारजस्तो आपराधिक कार्यका लागि दोषीहरुले

सजायँ पाउने गरेका छैनन् ।

सरकारले गत आर्थिक वर्षमात्रै बक्राहाका लागि २५ करोड निकासा गर्ने स्वीकृति प्रदान गरेको थियो । सो अनुसार मधुमल्ला र गोविन्दपुरमा दुई-दुईवटा र बरडंगामा एउटा गरी ५ ठाउँमा टेण्डर खोलिएको थियो ।

बक्राहा नदी नियन्त्रणका नाममा साढे ३ वर्षे बहुवर्षीय ठेक्कामा काम गर्ने गरी ४ अर्बको आयोजनासम्बन्धी डीपीआर बनिरहेको कर्मचारीहरु बताउँछन् । यसमा अझै कति भ्रष्टाचारीहरु मोटाउने हुन्, हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment