Comments Add Comment

सम्मेलनको तयारीमा वाईसीएल, को-को छन् अध्यक्षका दाबेदार ?

३५ भन्दा बढी जिल्लाबाट प्रतिनिधि चुनिए

फाइल तस्वीर

१६ साउन, काठमाडौं । माउ पार्टी नेकपा माओवादी केन्द्रको सचिवालय बैठकले आफ्नो सहायक संगठन वाईसीएल नेपालको राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेसँगै वाइसीएल नेपालले सम्मेलन तयारीलाई तीब्र बनाएको छ ।

सम्मेलन आउँदो भदौ २ र ३ गते काठमाडौंमा आयोजना हुँदैछ । सम्मेलनका लागि केन्द्रमा नेबबहादुर कुँवर ‘विवेक’को संयोजकत्वमा प्रतिवेदन समिति र रामप्रसाद सापकोटा ‘दिपशिखा’को नेतृत्वमा मुल व्यवस्थापन समिति गठन गरिएको छ ।

यसैगरी लिला शर्मा ‘अस्मिता’को नेतृत्वमा विधान समिति, शिव फुँयालको नेतृत्वमा प्रतिनिधि तथा पर्यवेक्षक व्यावस्थापन समिति, सुबोधराज शेर्पालीको नेतृत्वमा आर्थिक समिति, सुवित ढुंगानाको नेतृत्वमा स्वयंसेवक समिति बनाइएको छ ।

प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने

राष्ट्रिय सम्मेलनका लागि जिल्लाहरुबाट प्रतिनिधि चयन गर्ने काम जारी छ । सम्मेलन आयोजक समितिका संयोजक कुँवरका अनुसार ३५ भन्दा बढी जिल्लाबाट केन्द्रीय सम्मेलनका लागि प्रतिनिधि चयन भइसकेका छन् ।

अन्य जिल्लामा पनि प्रतिनिधि छान्ने काम जारी छ । सम्मेलनमा ४९९ प्रतिनिधि पर्यवेक्षकको सहभागीता रहने छ ।

वाईसीएलले केन्द्रीय सम्मेलन आयोजक समितिका सदस्यहरुलाई समेत अनिवार्य प्रतिनिधि निर्बाचित भएर आउनुपर्ने व्यवस्था गरेको छ ।

केही समय अघि सात युवा घटकबीच भएको एकताबाट ३९९ सदस्यीय आयोजक समिति बनेको छ । माओवादीको भद्रगोल संगठनात्मक अवस्थाभन्दा अलि बेग्लै रहेको वाईसीएलको यो आयोजक समिति माओवादीभित्रका संगठनहरुमध्य सबैभन्दा सानो र चुस्त समेत हो ।

प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चुन्ने तयारी

सम्मेलनबाट नेतृत्व चयनका लागि वाईसीएलले पहिलो सहमतीय र नभए प्रत्यक्ष निर्बाचन कार्यविधि समेत बनाएको छ । अर्थात नेतृत्व चयनमा सहमति नजुटे माओवादी इतिहासमै पहिलोपटक निर्बाचन विधिबाट नेतृत्व चयन गर्ने संगठनका पूर्वअध्यक्ष एवं हालका फ्याक्सन सहइन्चार्ज आरसी शर्मा ‘विज्ञान’ले बताए ।

माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पनि निर्वाचन विधिबाट नेतृत्व चयन गर्ने तयारी गरेको छ । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन भदौ ७ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ ।

पार्टी र समाज रुपान्तरणमा वाईसीएलले भूमिका खेल्ने

वाईसीएलका फ्याक्सन इन्चार्ज तथा माओवादी केन्द्रका कार्यालय सदस्य मणि थापाका अनुसार माओवादी पार्टीको र समाज रुपान्तरण अभियानमा अबको सुदृढ वाईसीएलले प्रत्यक्ष भूमिका खेल्नेछ ।

संगठनका पूर्व महासचिव दिपशिखा पनि वाईसीएल अब सुदृढ र नयाँ भएर आउने दाबी गर्दछन् । ‘यसको मूल चरित्र क्रान्तिकारी हुन्छ तर यसले हिजोका केही कमजोरीहरु करेक्सन गर्छ, दिपशिखाले भने, ‘अब वाईसीएलले विकास, रुपान्तरण र क्रान्तिकारी युवा आन्दोलनको नेतृत्व गर्छ ।’

को छन्, प्रतिस्पर्धी ?

माओवादी केन्द्रकै अर्को संगठन अखिल क्रान्तिकारी नेतृत्व चयनका लागि खुल्ला र आम उम्मेदवारी घोषणा गरिरहेको सन्दर्भमा वाईसीएल नेपाल भने नेतृत्वको बारेमा मौन छ ।

सहमतीय र नभए प्रत्यक्ष निर्वाचन कार्यविधि बनाएको वाईसीएलको भावी नेतृत्वको लागि तीव्र प्रतिस्पर्धा भएपनि नेतृत्वबारे बाहिर कसैले पनि बोलेका छैनन् ।

माओवादी केन्द्रको सहायक संगठन हुनुको हैसियतमा जबस मोर्चाको जस्तै गरी आन्तरिक चुनावी रणनीतिमा जाने कि नजाने भन्नेमा नेताहरुले निर्णय गरिसकेका छैनन् तर आन्तरिक रुपमा भने प्रतिस्पर्धाका लागि नेताहरु चुनावी दौडमा छन् ।

वाईसीएलका एक नेताले भने, ‘अध्यक्षको दौडमा संगठनका पूर्वउपाध्यक्ष मध्येबाट केही उपाध्यक्ष र पूर्व महासचिव सहित दावेदार हुन् । हालसम्म अध्यक्षका लागि नेताहरुले मुख खोलेका भने छैनन् ।’

यसैगरी महासचिव पदमा ४ भन्दा बढी नेताको दावी रहेको बताइन्छ । वाईसीएलले आफ्नो पदाधिकारीमा अध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षको व्यवस्था गरेको छ । सचिव र उपाध्यक्षको संख्या किटान नगरिएकाले १५ भन्दा नबढ्ने गरी सचिव र उपाध्यक्षको व्यवस्था गर्न सकिने व्यवस्था वाईसीएलले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment