Comments Add Comment

रुपन्देहीका स्थानीय तहमै मतदाता नामावली संकलन सुरु


१६ साउन, बुटवल । स्थानीय तहमा आजदेखि फोटो सहितको मतदाता नामावली दर्ता शुरु भएको छ । बुटवल उपमहानगरपालिका सहित रुपन्देहीका सबै तहमा नामावली संकलन भएको हो ।

रुपन्देहीमा साउन १ गतेदेखि १५ गतेसम्म जिल्ला सदरमुकाममा रहेको निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन भएकोमा कार्यालय पुगेर झण्डै सात हजारले नाम अद्यावधिक गराएको कार्यालयले जनाएको छ ।

सोमबार बुटवल उपमहानगरपालिकाले वडा नम्बर ३, ४ र ५ का नाम छुटेका नागरिकको नाम दर्ता गराएको हो । जसमा १ सय २ जनाले नाम लेेखाएको संकलन कार्यमा खटिएका कम्प्युटर अधिकृत किरण अधिकारीले अनलाइनखबरलाई बताए ।

बिहानै १० बजेदेखि नाम लेखाउने क्रम शुरु भएको हो । मंगलबारबाट बिहान ८ बजेेदेखि बेलुका ६ बजेसम्म बुटवल उपमहानगरपालिका भित्रका नागरिकले नाम लेखाउन सक्ने ब्यवस्था मिलाइएको छ ।

बुटवल उपमहानगरपालिकामा साउन १६ गतेदेखि ३२ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा नाम समाबेस गर्ने काम भैरहेको छ ।

उपमहानगर कार्यपालिकाको बैठकले फोटो खिच्ने काम व्यवस्थित गर्न वडागत तालिका नै बनाएको छ । फोटो खिच्नका लागि भने बुटवल उपमहानगरपालिका कार्यालय भित्रै आउनुपर्नेछ ।

तिलोत्तमा नगरपालिकामा पनि सुरु

तिलोत्तमा नगरपालिकामा पनि सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले स्थानीय तहमा पुगेर सोमबारबाट नामावली संकलन गर्न थालेको हो ।

तिलोत्तमा नगरपालिकामा साविकका गाविसका आधारमा नामावली संकलन गर्न थालिएको छ । सोमबार साविक आनन्दवन गाविसमा नामावली संकलन गरिएको छ । वडा कार्यालयमा गरिएको नामावली संकलन कार्य आनन्दवनमा मंगलबार पनि जारी रहने जनाइएको छ ।

यस्तै साविक शंकरनगरमा यही साउन १८ र १९, मक्रहरमा २० र २१ गते, गंगोलियामा २२ र २३ गते, मधवलियामा २४ र २५ गते तथा करहियामा ३६ र २७ गते मतदाता नामावली संकलन गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।

यस्तै छुटहरुको नामावली संकलन ३०, ३१ र ३२ गते करहियामा हुने जनाइएको छ । तिलोत्तमामा स्थानीय तह निर्वाचनमा झण्डै ६० हजार मतदाता थिए ।

विदेशमा रहेका कारण यसअघि मतदाता नामावलीमा नाम समावेश नगराएका, उमेर पुगेका, विविध कारणले छुटेकाहरुले यसपटक आफ्नो नाम लेखाउन सक्नेछन् ।

सैनामैनामा पहिलो दिन १ सय ६६ जनाको नामावली दर्ता

रुपन्देहीको पश्चिम सैनामैना नगरपालिकामा सोमवार वडा नम्बर१ का मतदाता नामावली छुटेकाहरु मध्ये १६६ जनाले फोटो खिचाएर नामावली सङ्कलन गरिएको निर्वाचन कार्यालय रुपन्देहीबाट खटिएका कम्प्युटर अपरेटर यदुनन्द भण्डारीले जानकारी दिए ।

विहान ९ बजेदेखि सुरु भएको नामावली संकलन कार्य साँझ ६ बजेसम्म चलेको थियो । पूर्वनिर्धारित कार्यतालिका अनुसार सोमवार र मंगलवार वडा नम्बर १ बाट नाम दर्ता छुटेकाको नामकावली दर्ता गरिएको हो ।

साउन १६ गते सोमबारदेखि ३२ गतेसम्म स्थानीय तहमा हुने मतदाता नामावली सङ्कलनका लागि सैनामैना नगरपालिकामा रहेका ११ वटा वडाका लागि समय तालिका सार्वजनिक गरेको छ ।

जसमा वडा नम्बर १ का लागि साउन १६ र १७ गते, वडा नम्बर २ का लागि १८ गते, वडा नम्बर ३ का लागि १९ गते, वडा नम्बर ४ का लागि २० र २१ गते २ दिन नामावली संकलन संकलन गरिने छ । त्यसैगरी वडा नम्बर५ का लागि २२ गते, वडा नम्बर ६ का लागि २३ र २४ गते, वडा नम्बर ७ का लागि २५ गते वडा नम्बर ८ का लागि २६ गते, वडा नम्बर ९ का लागि २७ गते, वडा नम्बर १० का लागि २८ र २९ गते र वडा नम्बर ११ का लागि ३० र ३१ गते नामावली संकलन गरिने छ ।

त्यसैगरी मतदाता नामावली संकलनका लागि अन्य जिल्लाको नागरिकता प्रमाणपत्र भएका मतदाताको हकमा बसाइँ सराइ वा स्थानीय पञ्जिकाधिकारी (वडा सचिव) बाट बसोबास प्रमाणित, घर कर रसिद, विद्युत, पानीको कार्ड साथमा लिएर जान पनि नगरपालिकाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment