+
+

बैंकहरुले जलविद्युतमा एक वर्षमा थप ३३ अर्ब लगानी गर्नुपर्ने

राष्ट्र बैंक भन्छ : लगानी गर्न बैंकसँग पर्याप्त ‘स्पेस’

 विजयराज खनाल विजयराज खनाल
२०७४ साउन १८ गते १५:५८

१८ साउन, काठमाडौं । जलविद्युत क्षेत्रमा अबका दिनमा कम लगानी जाने सम्भावना बैंकरहरुले देखाइ रहँदा राष्ट्र बैंकले भने बैंकहरुसँग यो क्षेत्रमा लगानी गर्न पर्याप्त ‘स्पेस’ रहेको बताएको छ ।

 
‘जलविद्युतमा अब कर्जा लगानी कम हुनसक्ने हल्ली खल्लि अहिले सुनिन थालिएको छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले भने, ‘११ महिनाको तथ्यांक हेर्ने हो भने बैंकहरुको मात्रै ३ प्रतिशत लगानी गरेका छन्, एक वर्षमा बाँकी २ प्रतिशत लगानी गर्न पर्याप्त स्पेस छ ।’

 
राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमा वाणिज्य बैंकहरुले जलविद्युत क्षेत्रमा यो आवबाट ५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि जलविद्युत र कृषि गरेर कुल १५ प्रतिशत लगानी अनिवार्य गर्नुपर्ने व्यवस्था रहेको थियो ।
यो व्यवस्थालाई परिमार्जन गर्दै राष्ट्र बैंकले कृषिमा १० र जलविद्युतमा ५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको हो ।

 
यसअघि कृषिमा खासै कर्जा नजाने गरेकोले बैंकहरुले जलविद्युत क्षेत्रमा बढि लगानी गरेर १५ प्रतिशत पुर्याउने गरेको बैंकरहरुले बताउदै आएका थिए । केहि दिन अघि भएको एक कार्यक्रममा बैंकर ज्ञानेन्द्र ढुंगानाले अब बैंकहरुबाट जलविद्युत क्षेत्रमा जाने कर्जा कम हुन सक्ने बताएका थिए ।

 
अहिले राष्ट्र बैंकले तोकेको नयाँ सीमा अनुसारको कर्जा लगानी यो क्षेत्रमा भइसकेको उनले बताएका थिए ।
तर, राष्ट्र बैंकका अनुसार बैंकहरुले ११ महिनामा जलविद्युतमा ५० अर्ब मात्र लगानी गरेका छन् । यस आधारमा बैंकहरुले यो क्षेत्रमा अझै पनि करिब ३३ अर्ब थप लगानी गर्न सक्ने अवस्था छ ।

 
सो समयको कुल कर्जा लगानी अनुसार बैंकहरुले जलविद्युतमा कुल ८४ अर्ब लगानी गर्नुपर्ने हुन्छ । बैंकहरुको सो समय कुल कर्जा लगानी १६ खर्बभन्दा केही धेरै रहेको थियो ।

 
‘जलविद्युत क्षेत्रमा एक वर्षमा ३३/३५ अर्ब नयाँ लगानी भनेको सानो रकम होइन, त्यसमाथी एक वर्षमा बढ्न सक्ने निक्षेप र त्यस अनुसार कुल कर्जामा पनि वृद्धि हुने भएकोले थप लगानी रकम अहिले आँकलन गरेभन्दा बढि हुन सक्छ,’ थापाले भने ।

 
बैंक तथा वित्तीय संस्थाहरुबाट चालु आवमा आन्तरिक कर्जामा २७.८ प्रतिशतले वृद्धि हुने र निजी क्षेत्रमा जाने कर्जामा २० प्रतिशतले वृद्धि हुने लक्ष्य राखेको छ । यो लक्ष्य पुरा गर्न बैंकहरुले चालु आव अन्त्यसम्ममा कुल ६० खर्ब बराबरको कर्जा लगानी गर्नुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?