+
+
Shares

अखिल क्रान्तिकारीको आचारसंहिताः मनोनयन दर्ताअघि भोट माग्न नपाइने, चन्दा संकलन पनि निषेध

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २४ गते ९:२५

२४ साउन । आसन्न राष्ट्रिय सम्मेलनका लागि नेताहरुले आफूखुसी उम्मेदवारी घोषणा गर्न थालेपछि माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले आचारसंहिता नै जारी गरेको छ ।

मनोनयन दर्ताको समयभन्दा अघि नै कसैले उम्मेदवारी घोषणा गरेमा सार्बजनिक रुपमा दाबी प्रस्तुत गरे निलम्बनसम्मको कारबाही हुने अखिल क्रान्तिकारीले चेतावनी दिएको छ ।

आचारसंहिताको दफा ३. ‘ख’मा लेखिएको छ, ‘उम्मेदवार मनोनयन दर्ता हुनुभन्दा अगाडि कुनै पनि आयोजक वा प्रतिनिधिले आफ्नो उम्मेदवारी रहेको, भएको, हुने दाबी गर्दै बिभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल, भित्ते लेखन, पोष्टरिङ, फ्लेक्स, व्यानर, सार्वजनिक लविङ र लविङ प्रेरित लेख रचनाहरुको प्रकाशन प्रसारण तथा सञ्चार माध्यममा गरिने अन्तर्वार्ता आदिको माध्यमबाट प्रचार प्रसार गर्न, गराउन, सहयोगी बन्न पाइने छैन ।’

क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल संयोजकत्वको पाँच सदस्यीय निर्वाचन समितिले आचारसंहिता जारी गरेको हो । निर्वाचन समितिमा मल्लसहित रत्न ढकाल, सन्तोष विष्ट, गणेश पाण्डे र विष्णु खनाल छन् । यो समितिले तयार पारेको आचारसंहिता साउन २३ गतेदेखि नै लागू भएको छ ।

मल्लले अनलाइनखबरसँग भने, ‘वर्षौंदेखि राजनीति गर्दै आउनु भएका साथीहरुलाई के गर्न हुन्छ के गर्न हुँदैन भन्ने कुरा थाहा छ । तर पनि नैतिक बन्धनमा बाँध्न आचारसंहिता बनाएका छौं । सबैले पालना गर्नुहुन्छ भन्ने विश्वास छ ।’

विचारको बहस गर्न छुट

तर, नीति, विधि र संगठनको बिचारको बहस गर्न भने आचारसंहिताले रोक्ने छैन ।

आयोजक समिति सदस्य वा प्रतिनिधिले निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कुनै पनि प्रकारका समूहगत भेला, छलफल, जुलुस, सभा, भोज भतेर गर्न÷गराउन पनि आचारसंहिताले रोक लगाएको छ ।

सम्मेलनको नाममा कुनै पनि आयोजक तथा प्रतिनिधिले व्यक्तिगत रुपमा आर्थिक संकलन तथा परिचालन गर्न पाउने छैन ।

यदि आचारसंहिता उल्लंघन गरेमा सुरुमा सचेत गराउने, स्पष्टिकरण सोध्नेदेखि निलम्बन गरी उम्मेदवारी खारेजसम्मको कारबाही गर्ने व्यवस्था आचारसंहितामा रहेको निवर्तमान वरिष्ठ उपाध्यक्ष मदन अर्यालले जानकारी दिए ।

उनले भने, ‘सात प्रदेश र एउटा विश्वविद्यालयको गरी आठवटा बुथ हुन्छ । ति आठ ठाउँमा सानो–सानो सभा जस्तो गर्छौं र उम्मेदवारहरुले त्यहीँ गएर आफ्नो उम्मेदवारी घोषणा गर्नुपर्ने छ । त्यसअघि कहिँ कतै कसैसँग भोट मागेको वा चुनाव प्रचार गरेको पाइए कारबाही हुन्छ ।’

निर्वाचनको पूँजीवादी ढाँचा अस्वीकार

बिचार र सिद्धान्तमा नेबिसंघ र अनेरास्ववियुभन्दा अलग रहँदै आएको अखिल क्रान्तिकारीले महाधिवेशनमा पनि अलग हुने कोशिस गर्दैछ । निवर्तमान बरिष्ठ उपाध्यक्ष मदन अर्याल भन्छन्, ‘हामीले निर्वाचनको पूँजीवादी ढाँचा अस्वीकार गरेका छौं । महाधिवेशनको बेला नेबिसंघ, अनेरास्ववियुमा देखिने भद्दा प्रचार शैली र अस्वस्थ प्रतिस्पर्धा हामीमा छैन ।’

पर्चा, पप्लेट, ब्यानर, भित्ते लेखन लगायतका प्रचार सामाग्री प्रयोगमा अखिल क्रान्तिकारीले निषेध गरेको छ । अखिल क्रान्तिकारी राष्ट्रिय सम्मेलन प्रचार प्रसार समितिका संयोजक सुरेन्द्र बस्नेतले भने, ‘वातावरण मैत्री होस् र खर्चिलो पनि नहोस् भनेर महाधिवेशनको प्रचारमा सामाजिक सञ्जाल र प्रविधिको प्रयोग गर्ने छौं ।’

आर्थिक संकलन गर्न रोक

संगठनले राष्ट्रिय सम्मेलनका लागि व्यक्तिगत रुपमा कसैले पनि आर्थिक संकलन गर्न नपाउने आचारसंहिता बनाएको छ । तर, संगठनले भने चन्दा र सहयोग लिन सक्ने छ । व्यक्तिगत रुपमा कसैले चन्दा लिएको र पैसा बाँडेको पाइएमा त्यस्तो रकम जफत गरी संगठनको खातामा जम्मा गरिने अखिल क्रान्तिकारी राष्ट्रिय सम्मेलन प्रचार संयोजक बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?