Comments Add Comment

कीर्तिपुरमा गाईजात्राको रौनक, हेर्नुस् १३ तस्वीर

२४ साउन, काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । गाईजात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकामा हरेक वर्ष सार्वजनिक बिदा दिने गर्दछ ।

गाईजात्राको दिन एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना गाउँ टोलमा परिक्रमा गराइन्छ । काठमाडौंको ऐतिहासिक नगर कीर्तिपुरमा पनि आज त्यसैगरी गाईजात्रा पर्व मनाइएको छ ।

उनीहरूलाई स्थानीयबासीले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्दछन् । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

गाईजात्राको प्रचलन राजा प्रताप मल्लको पालादेखि सुरु भएको मानिन्छ । पुत्रशोकले विहृवल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई ‘आआफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकालेर सहर परिक्रमा गराउन आदेश दिएका थिए । यति गर्दा पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रम गर्ने परम्परा बसालेको किंवदन्ती छ ।

यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा आजभोलि काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लाहरुमा मनाइन्छ । गाईजात्रा पर्व काठमाडौं उपत्यकासहित, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली बजार, चरीकोट, दिक्तेल, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौंडा, पोखरा, प्यूठान लगायत स्थानमा मनाइएको छ ।

आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसंगति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यंग्यात्मक ढंगले विविध कार्यक्रम आयोजना गर्ने प्रचलन पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment