Comments Add Comment

भेरी-बबई डाइभर्सन परियोजनाको सुरुङ खन्ने काम दशैंपछि सुरु हुने

२५ साउन, सुर्खेत । नेपालकै पहिलो अन्तरजलाधार बहुउद्देश्यीय भेरी-बबई डाइभर्सन परियोजनाको सुरुङ खन्ने काम दशैंपछि सुरु हुने भएको छ ।

सुरुङ खन्ने मेसिन निर्माण स्थल आइनपुग्दा रोकिएको सुरुङ खन्ने काम दशैं-तिहारपछि सुरु हुने भएको हो ।

अहिले सुरुङ खन्नका लागि टीबीएम मेसिन भारतको कलकत्ताबाट आयोजना स्थलतर्फ ल्याउँदै गरिएकाले मेसिन आइपुगेपछि काम सुरु गरिने परियोजनाका प्रमुख शिवकुमार बस्नेतले जानकारी दिए । मेसिन लोड गरिएका चारवटा कन्टेनरहरु कलकत्ताबाट नेपाल हिँडिसकेको आयोजना प्रमुख बस्नेतको भनाइ छ ।

आयोजनामा मेसिनविना गर्न सकिने कामसहित सुरुङको मुख्यद्वारसमेत निर्माण गरिसकिएको छ ।

आयोजनाले २७४ मिटर लामो टीबीएम मेसिन सञ्चालन गर्नका लागि आवश्यक पर्ने ४ मेगावाट ऊर्जाको समेत व्यवस्था गरिसकेको प्रमुख बस्नेतले बताए । ‘प्री-टनेल एरेञ्जमेन्टको काम सकिएको छ,’ उनले भने, ‘नोभेम्बर महिनाबाट टीबीएम मेसिन प्रयोग गरी टनेल खन्न सुरु गर्ने गरी तयारी गरिएको छ ।’

राष्ट्रिय गौरवको यो परियोजना अन्तर्गत भेरी नदीको पानी बबई नदीमा खसाल्नका लागि १२ किलोमिटर लामो सुरुङ खन्न लागिएको छ । बबई नदीको किनारबाट सुरुङ खनेर सुर्खेत मैनतडाको चिप्लेबाट भेरीको पानी बबईमा खसालिने छ ।

यो काम कुनै व्यवधान नभए सन् २०२० सम्म सम्पन्न हुने आयोजना प्रमुख बस्नेतले बताएका छन् ।

पाँच वर्ष भित्र सम्पन्न गर्ने लक्ष्यका साथ सुरु भएको परियोजना सम्पन्न भए ४८ मेगावाट जलविद्युत उत्पादन हुने छ भने बिजुली निकालिएको पानीबाट बाँके र बर्दिया जिल्लामा ५१ हजार हेक्टर क्षेत्रफलमा १२ महिनै सिचाईं सुविधा हुने छ । यो परियोजनाबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ  ।

१६ अर्व खर्च लाग्ने अनुमान गरिएको आयोजनाको विक्रम संवत ०७१ चैत १९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेका थिए । आयोजना निर्माणको जिम्मा चाइना ओभरसीज कम्पनीले पाएको छ ।

सरकारको सहयोग आवश्यक

यसैबीच आयोजनाको काम गर्दा आइपर्ने समस्याहरु समाधानको लागि मन्त्रालय र सरकारको सहयोग आवश्यक रहेको आयोजना प्रमुख शिवकुमार बस्नेतले बताएका छन् ।

अब केही समयमै सुरुङ खन्ने काम सुरु हुने भएकाले यस क्रममा आइपर्ने बाधाहरु हटाउनका लागि सकारात्मक हुँदै सहयोग गरिदिनुपर्ने प्रमुख बस्नेतले बताए । आयोजनाको अवलोकन गर्न आएका सिचाईँ सञ्जय गौतमलाई आयोजनाको प्रगतिबारे जानकारी दिदै प्रमुख बस्नेतले आग्रह गरे, ‘अब दशैतिहार पछि नै सुरुङ खन्ने काम सुरु हुँदैछ, यस क्रममा आउने बाधा व्यवधानहरुको समाधानका लागि मन्त्रालय र सरकारले सकारात्मक हुँदै सहयोग गरिदिनु पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment