Comments Add Comment

स्वास्थ्य उपकरण किन्न जुटाएको बजेट फ्रिज भएकोमा पूर्वमन्त्री थापाको चिन्ता

फाइल तस्वीर

२६ साउन, काठमाडौं । स्वास्थ्य उपकरण खरीदका लागि आफूले ल्याएको बजेट फ्रिज भएकोमा निर्वतमान स्वास्थ्यमन्त्री गगनकुमार थापाले चिन्ता व्यक्त गरेका छन् ।

सवै सरकारी स्वास्थ्य संस्थाहरुमा उपकरण पुग्नेगरी बजेटको व्यवस्था गर्दासमेेत प्रक्रिया अगाडि नबढाउँदा रकम फ्रिज भएकोमा उनले चिन्ता व्यक्त गरेका छन् ।

‘अर्थ मन्त्रालयमा हामीले धेरै मेहनेत र छलफल गरेर करोडौंको बजेट उपकरण किन्नका लागि ल्याएका थियौं, किन्ने प्रक्रिया पनि सुरु भइसकेको थियो, तर हामीले छोडेपछि भने कुनै प्रक्रिया अगाडि नबढ्दा रकम त्यसै फ्रिज भएछ, यसले दुःखी बनाएको छ’, पूर्व स्वास्थ्य मन्त्री थापाले भने ।

नेपाल स्वास्थ्यकर्मी संघ, केन्द्रीय युवा समितिले प्रकाशन गरेको स्वास्थ्यकर्मी नामक स्मारिकाको विमोचन कार्यक्रममा निवर्तमान मन्त्री थापाले मन्त्रालयको बजेट बढाउने भन्दा पनि भएको बजेटलाई फ्रिज हुन नदिनु बढी बुद्धिमानी हुने बताए ।

कार्यक्रममा मन्त्री थापाले स्वास्थ्यकर्मीहरुका सन्तानलाई स्वास्थ्य शिक्षामा सहुलियत र प्राथमिकता दिने गरी आफूले केही प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै त्यसलाई पूरा गरेर कार्यान्वयनमा लैजान उनले सरकारको ध्यानकर्षण समेत गराए ।

‘तपाईंहरुले आफ्नो पूरै जीवन स्वास्थ्य क्षेत्रमा लगाएर देश र जनताका लागि ठूलो योगदान गर्नु भएको छ, त्यही योगदानको कदर स्वरुप तपाइर्ंहरुका छोराछोरीको शिक्षाका लागि निश्चित कोटाको व्यवस्था गर्नेगरी केही काम भएको छ, त्यसलाई अव टुंगोमा पुर्‍याएर कार्यान्वयन गर्न लगाउनुस्,’ पूर्वमन्त्री थापाले भने ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. लक्ष्मीराज पाठक, सङ्घका अध्यक्ष रामजी घिमिरे लगायतले मन्त्री थापाको कार्यकालमा स्वास्थ्य क्षेत्रमा धेरै काम भएपनि त्यसलाई कांग्रेसले स्थापित गर्न नसकेको बताए ।

कार्यक्रममा स्मारिकाको समिक्षा टिप्पणी गर्दै बरिष्ठ मुटुरोग विषेशज्ञ तथा सहित्यकार डा रामेश कोइरालाले प्राविधिक पेशाकर्मीहरुले निकालेका स्मारिकाहरु मध्ये यसमा निकै कम त्रुटि भएको र हरेक स्वास्थ्यकर्मीलाई उपयोगी हुने पुस्तक बनेको बताए ।

स्वास्थ्यकर्मी संघ अन्तर्गतको केन्द्रीय युवा समितिका अध्यक्ष अमृतजङ बस्नेत प्रधान सम्पादक रहेको २०६ पृष्ठ बाक्लो स्मारिकामा स्वास्थ्य क्षेत्रका विभिन्न लेख रचना संकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment