+
+

नयाँ शक्ति र वैकल्पिक राजनीतिः केही प्रतिरक्षा, केही स्वीकारोक्ति

माओवादी र नयाँशक्तिवीच एकीकरण असम्भव

डम्बर खतिवडा डम्बर खतिवडा
२०७४ साउन २६ गते १६:२६

 

करिब ५ वर्ष भयो मैले ‘वैकल्पिक राजनीति’ को पैरवी गर्न थालेको । करिब डेढ वर्ष भयो ‘नयाँ शक्ति निर्माण अभियान’ मा सामेल भएको । तर, अझै केही साथी र आफन्तजन आश्चर्य मान्छन्-‘तिमीहरुले यो के तमासा गरेको ?’

केही साथीहरु भन्छन्- नेपाल ‘दुई पार्टी प्रणाली’ मा फर्किसक्यो, किन मुफत्मा आफ्नो जीन्दगी खेर फाल्छौं ? नेपाल शक्तिपुजक देश हो, कि त यहाँ ठूलो बबण्डर गरेर, रक्तपात गरेर शक्तिका रुपमा उदाउनुपर्छ, कि त भएकै शक्तिभित्र आफ्नो स्थान बनाएर केही राम्रो गर्न खोज्नुपर्छ ।’

यस्तो विश्वास बलियो अकारण भएको छैन । नेपाली समाज झटट् हेर्दा यस्तै देखिन्छ ।

तर, हरेक युग र समाजमा तीनखाले मान्छे हुन्छन् ।

पहिलो- भएकै शक्ति संरचनालाई स्वीकार गरेर जिन्दगी बिताउन चाहने, एकबारको जुनीमा कति संघर्ष गर्नु भन्ने धारणा राख्ने । स्वभाविक रुपमा यस्ता मान्छे आज खुशी छन् । कांग्रेस-कम्युनिष्टको पुनरोदय उनीहरुलाई खास्सा मज्जाको कुरा लागेको छ । देश ‘दुई पार्टी प्रणाली’ मा फर्किदिए हुन्थ्यो भन्ने उनीहरुको भित्री इच्छा छ ।

व्यक्तिगत शक्ति सम्बन्धका हिसाबले त उनीहरु खुशी नै छन् । तर त्यो खुशी पनि स्थिर र दिगो भने छैन । देशमा यतिधेरै बेथिति छन् कि उनीहरुको आत्मविश्वासलाई यसले टिक्न दिँदैनन् । आम प्रश्नहरुमा ‘यस्तै हो संसार’ भनेर उनीहरुले नीच मारेका छन्, व्यक्तिगत शक्तिसम्बन्ध र राजनीतिक ‘करिअर’ सम्झेर चित्त बुझाउँछन् ।

दोस्रो-यथास्थितिवादका खराबीहरु बुझ्ने, त्यसको अन्त्य भइदिए हुन्थ्यो भन्ने चाहना राख्ने तर त्यसको पहलकदमी आफू नलिने, अरुले गर्दिए हुन्थ्यो भन्ने मानिसहरु छन् ।

जोखिम अन्यत्र पन्छाउने तर असल चिजको कामना पनि गर्ने । परिवर्तनका प्रयास सफल भए खुशी हुने, असफल भए पहिलोखालेहरुकै शक्तिसम्बन्धमा ओत लाग्न पुग्ने । अर्थात् ‘खसी काटेको हेर्न पनि नसक्ने’, ‘कवाफ खान र सुरुवा तान्न मीठो मान्ने’ । यसखाले मान्छेहरु देशमा वैकल्पिक राजनीति र पार्टीहरुको उदय भइदिए हुन्थ्यो भन्छन् । तर, हुँदैन होला भनेर मन नपरी नपरी पुरानै पार्टीलाई भोट हाल्छन् ।

कांग्रेस-एमाले-माओवादी-राप्रापालाई भोट हालेर नयाँ शक्ति-साझा-विवेकशीलले चुनाव जितेको हेर्ने दुविधामा बाँचेका हुन्छन् उनीहरु ।
तेस्रो-सानो संख्या मै किन नहोस्, नयाँ चिजको पहलकदमी लिने, जोखिमसँग खेल्ने । आइसोलेसनमा, अपमान, उपेक्षा र तिरस्कारका बीचमा पनि सानो समूहमा हिँड्न आँट गर्ने । आजसम्म मानव जातिको इतिहासमा जति पनि नयाँ मोडहरु आएका छन्, यस्तै मान्छे, तेस्रोखाले मान्छेहरु कै कारण आएका छन् । तसर्थ भन्न मन लाग्छ-वैकल्पिक राजनीति मेरो कन्भिक्सन हो । आजसम्मको जीवनको अनुभव र अध्ययनले दिएको एउटा नयाँ निष्कर्ष हो । यो न कुनै तमासा हो, न खेलाँची हो, न रहर । यो प्रयासको सम्बन्ध कहीँ न कहीँनेर युगवोधसँग छ ।

कस्तो वैकल्पिक राजनीति ?

स्वभाविक रुपमा धेरैले गर्ने अर्को प्रश्न हुन्छ ? कस्तो वैकल्पिक ? के बुझिन्छ वैकल्पिक भन्नाले ? के विचारविनाको पार्टी हुन्छ ? कांग्रेस – पुँजीवादी वा डेमोक्र्याट्स) कम्युनिष्ट -वामपन्थी वा समाजवादी) दुईखाले पार्टी नेपालमा छँदैछन, तेस्रो कुनै विचार, दर्शन नै छैन संसारमा, तसर्थ ‘वैकल्पिक राजनीति’ र ‘वैकल्पिक पार्टी’ बन्नै सक्दैन ।

यस्तो विश्लेषण मूलतः अठारौं शताब्दिको चेतना हो । वामपन्थी वा लोकतान्त्रिक भन्ने राजनीतिक अवधारणा त्यस अघि छँदै थिएन । अठारौं शताब्दिको उत्तरार्धतिर यो अवधारणा आयो, करिब दुई सय वर्ष यो अवधारणा चल्यो । तर, आज विश्वका अधिकांश देशमा यो अवधारणामा विश्वास गरिँदैन । तसर्थ यसलाई मैले टाइपराइटर युगको चेतना भन्ने गरेको छु । कम्प्युटर युगमा यो चेतना काम लाग्दैन ।

नेपालको एउटा दूर्भाग्य यो पनि हो प्राविधिक विकास कम्प्युटर युग, चौथो औधोगिक युगसम्म आइपुग्यो, तर राजनीतिक चेतना भने टाइपराइटर युगमा नै छ ।

पहिलो कुरा- पुँजीवाद र लोकतन्त्र भनेको एउटै कुरा हुँदै हैन । पुँजीवाद अर्थतन्त्रको संरचना र ढाँचा हो । लोकतन्त्र राजनीति विधि, पद्धति, प्र्रक्रिया र संस्कृतिको समष्टि हो । एउटै राजनीतिक ढाँचाभित्र फरक आर्थिक ढाँचा वा एउटै आर्थिक ढाँचाभित्र फरक राजनीतिक ढाँचा हुनसक्छ ।

जस्तो-अमेरिकामा राष्ट्रपतीय शासन छ । तर त्यहाँ पनि अहिले पुँजीवाद छ । चीनमा एकदलीय कम्युनिष्ट शासन छ, तर त्यहाँ पनि अहिले पुँजीवाद छ । भारत, वेलायत, जापान आदि देशमा संसदीय प्रणाली छ, तर त्यहाँ पनि अहिले पुँजीवाद छ । साउदी, बहराइन, कुवेत, कतारतिर बादशाहहरुको शासन छ, तर त्यहाँ पनि अहिले पुँजीवाद छ । राजनीति प्रणाली फरक भए पनि यी देशहरुको आर्थिक ढाँचा आधारभूत रुपमा पुँजीवादी छ ।

दोस्रो कुरा- जसरी पुँजीवाद र लोकतन्त्र एउटै कुरा हैन, त्यसरी वामपन्थ र साम्यवाद भनेको पनि एउटै कुरा हैन । वामपन्थ भनेको मूलतः राजनीतिक कार्यदिशा हो । सत्ताविरोधी क्रान्तिकारी धार बुझाउन वामपन्थ प्रयोग गरिन्छ । तर, वामपन्थी आन्दोलनले क्रान्तिलाई जति महत्व दिइरहेको हुन्छ, लोकतन्त्रलाई त्यति नै महत्व दिइरहेको हुँदैन ।

साम्यवाद भनेको चाहिँ निश्चित दर्शन हो । साम्यवादी पार्टीहरु सधै बामपन्थी हुन्छन भन्ने छैनन् । सत्तामा नहुञ्जेल, क्रान्तिको अवस्थासम्म साम्यवादी पार्टीहरु बामपन्थी हुन सक्छन् । तर, सत्ताधारी साम्यवादी पार्टीहरुमा वामपन्थी गुण हुँदैन । उनीहरुमा नयाँ प्रकारको शासकीय स्वभाव विकास भइसकेको हुन्छ ।

त्यसो भए वैकल्पिक राजनीति भन्नाले के बुझ्ने त ?

एक-कुनै पनि विचार दर्शनको निश्चित ‘टाइम’ र ‘स्पेस’ हुन्छ । हिजोका विश्लेषण पद्दतिहरु आजको युगमा जस्ताको त्यस्तै काम लाग्दैनन् । आजको युग विशेषतः सन् १९५० यताको अवधि कालका हिसाबले उत्तरआधुनिक युग हो । कतिपयले उत्तरआधुनिकतावादी दर्शन भन्दछन् । तर, यो भ्रम हो । उत्तरआधुनिकता दर्शन हैन, युग (टाइम ) हो, यसको दर्शन चाहिँ ‘अग्रपन्थ’ फ्रन्टिज्म ) हो ।

तसर्थ वैकल्पिक राजनीति बामपन्थी वा दक्षिणपन्थी हुँदैन, अग्रपन्थी हुन्छ । अर्थात् यसले लेफ्ट र डेमोक्र्याटस भन्ने विभाजन मान्दैन । यसले क्रान्ति, परिवर्तन न्याय र समानतालाई पनि उत्तिनै महत्व दिन्छ । विधि, पद्दति, प्रक्रिया र पारदर्शितालाई पनि उति नै महत्व दिन्छ ।

जो वास्तविक रुपमा क्रान्तिकारी हो, उही वास्तविक रुपमा लोकतन्त्रवादी पनि हुनु पर्दछ । क्रान्तिकारी भिन्नै र लोकतन्त्रवादी भिन्नै हुने फरक स्पेश वैकल्पिक राजनीतिले दिँदैन । तसर्थ वैकल्पिक राजनीतिक ‘नाइदर लेफ्ट नोर राइट वट इन फ्रन्ट’ हुन्छ । फ्रन्ट अर्थात् फरवार्ड अर्थात् समानता र स्वतन्त्रताको गतिशील सन्तुलन, न्यायपूर्ण सारतत्व र पारदर्शी पद्दतिको गतिशील सन्तुलनबाट हुने गतिशील यात्रा । के यो दर्शन हैन ? यो विचार हैन ?

दुई- बैकल्पिक राजनीतिले अहिलेको बहुदलीय संसदीय लोकतन्त्रलाई औपचारिक लोकतन्त्र, सीमित लोकतन्त्र, अर्थात् दलतन्त्र, नेतातन्त्र मान्दछ । यस्तो लोकतन्त्रमा ‘शक्तिको दुष्चक्र’ सृजना गरिन्छ । नागरिक सार्वभौमसत्ता र हितहरु दलीय सार्वभौमसत्ता र हितले कुल्चिएका हुन्छन् ।

नागरिक भूमिका पाँच वर्षमा एकपटक भोट हाल्न सीमित हुन्छ । तसर्थ अहिलेको औपचारिक लोकतन्त्रलाई वास्तविक लोकतन्त्र, अर्थात् जनता वास्तविक रुपमा सार्वभौम हुने ‘सहभागितामुलक लोकतन्त्र’ मा फेर्न पर्छ । यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद, र दलहरुभित्र प्रत्यक्ष निर्वाचनमा आधारित अन्तरपार्टी लोकतन्त्र र निर्वाचन अवधिमा दलहरुभित्रको प्राइमर इलेक्सन अनिर्वाय हुन्छ ।

तीन- वैकल्पिक राजनीतिले अहिलेको आर्थिक ढाँचालाई एकप्रकारको लुटतन्त्रमा आधारित ‘क्रोनी क्यापिटालिज्म’ मान्दछ । यस्तो अर्थतन्त्रको ढाँचामा देशको आफ्नै उत्पादन र बजार हुँदैन । सबै सामान विदेशबाट आयात गरिन्छ । उद्योग हुँदैन, व्यापार मात्र हुन्छ । देशमा रोजगार नभएर युवा विदेशिन्छन् । देशमा जनसंख्याको ठूलो हिस्सा केटाकेटीहरु र बुढाबुढीको मात्र रहन्छ । देश उत्पादन केन्द्रको साटो उपभोग केन्द्र मात्र बन्दछ । राजनीति र प्रशासनको उपयोग गर्ने शक्तिशाली र उनीहरुका आसेपासेहरु राज्यको स्रोत, साधान र पहुँच दोहन गरेर धनी हुन्छन् । शिक्षा र स्वास्थ्यको व्यापक निजीकरण र व्यापारीकरण गरिन्छ । देशकोे यस्तो आर्थिक ढाँचालाई परिवर्तन गरी उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नु वैकल्पिक राजनीतिको अर्को विशेषता हो ।

चार- वैकल्पिक राजनीतिको अर्को शर्त पारदर्शीता र सुुशासन हो । हुनत मुखले सुशासन कसले नभन्ला ? तर, यसका केही संरचनात्मक पक्ष छन्, ती फेर्न पुराना दलहरु तयार छन् कि छैनन् भन्ने हो ।

सुशासनका लागि नेपालमा पहिलो कुरा ‘ब्युरोक्रेसी’ खारेज गरी ‘कार्यगत एकाइ प्रणाली’ मा कर्मचारीतन्त्र ढाल्नुपर्छ । निजामति क्षेत्रमा पार्टीगत ट्रेड युनियन खारेज गर्नुपर्छ । अख्तियार सेवा भिन्नै गठन गर्नुपर्छ । न्यायक्षेत्रमा पार्टी कार्यकर्ता नियुक्त गर्ने प्रचलन समाप्त गर्नुपर्छ । विश्वविद्यालयहरुमा हुने दलीयकरण समाप्त गर्नुपर्छ । पार्टी कोषहरुको हिनामिनामा पनि अख्तियारले राज्यकोषको हिनामिना सरह कार्वाही हुने कानुन हुनुपर्दछ । भोट संख्याका आधारमा पार्टीहरुलाई राज्यले निर्वाचन खर्च दिनु पर्छ । निर्वाचनमा हुने स्रोत नखुल्ने र अपरादर्शी खर्च वर्जित हुनु पर्दछ ।

वास्तविक कारोवारमा कर लाग्ने करप्रणाली निर्माण गर्नुपर्दछ । सुशासन मुखले त भन्लान् । तर, के पुराना पार्टीहरु सुशासनका लागि यस्ता कानुन बनाउन र लागू गर्न तयार छन् त ? निश्चिय नै छैनन् । तसर्थ पनि नेपालमा वैकल्पिक राजनीति चाहिन्छ ।

पाँच- नेपालको परम्परागत राजनीतिमा राष्ट्र, राष्ट्रियता र देशभक्तिलाई अन्त्यन्त सस्तो र खोक्रो विषय बनाइएको छ । राष्ट्रिय हित विपरीत कयौं सन्धी सम्झौता भारतसँग भएका छन्, तिनीहरुको खारेजीको कुरा कुनै पनि पार्टीको सरकारले उठाउँदैन । तर, निर्वाचनमा सस्तो प्रचारबाजी भने गरिन्छ ।

विदेशी शक्तिकेन्द्रलाई रिझाउन, दिल्ली र बैंकक दिनहुँ दौडाहा हुन्छ । भारतविरुद्ध चीन र चीन विरुद्ध भारत कार्ड खेल्न खोजिन्छ । आन्तरिक मामिलामा भारतीय समर्थन खोजिन्छ । आफूलाई सर्दो पर्दा त्यसको रक्षा गरिन्छ, सर्दो नपर्दा अर्कोलाई राष्ट्रविरोधीका रुपमा चित्रण गरिन्छ । अर्थात् नेपालको भूराजनीतिक जटिलता र त्यसको सन्तुलित समाधान दिन परम्परागत दलहरु असफल भएका छन् । भारत र चीनवीच सन्तुलित सम्बन्ध बनाउन र नेपालको भूराजनीतिक जटिलता र हित अनुरुप देशलाई ‘दुई ठूलो अर्थतन्त्र बीचको गतिशील पुल’ बनाउन पनि वैकल्पिक राजनीति चाहिन्छ ।

निष्कर्षमा भन्नुपर्दा ‘प्रतिनिधिमूलक लोकतन्त्र’ को साटो ‘सहभागितामूलक लोकतन्त्र’, ‘खुल्ला बजार अर्थतन्त्र’ को साटो ‘बजार-समाजवाद’, ‘उपभोगमुखी अर्थतन्त्र’ को साटो ‘उत्पादनमुखी अर्थतन्त्र’ ‘नोकरशाही प्रशासन’ को साटो ‘सुशासित कार्य इकाइ प्रशासन’ र खोक्रो र असन्तुलित राष्ट्रवादको ठाउँमा विशिष्ट भूराजनीतिक जटिलतालाई सम्वोधन गर्ने गतिशील राष्ट्रवाद नै नेपालमा बैकल्पिक राजनीतिको मुख्य पाँच दायित्व हो । यी पाँच कुराको अभावमा नेपालमा विकास, समृद्धि र सुशासन, सभ्य, खुशी, सुखी समाज सम्भव छैन ।

के उपरोक्त पाँच दायित्वहरु नेपालका पुराना दलहरुले पूरा गर्न सक्दछन् ? सक्छन् भने वाचा गरुन् ? कति वर्षमा ? कहिले र कसरी ? ३० वर्ष भयो उनीहरुले शासन गरेको ? हिजो पञ्चायतको ३० वर्षलाई कालरात्री भनियो ? के यो ३० वर्ष चाहिँ श्वेत रात्री थियो ? ल, एउटा बाजी गरौं । आउँदो पाँच वर्षभित्र पुराना दलहरुले उपरोक्त दायित्व पूरा गरुन्, आफ्नो विचार र कार्यशैली फेरुन्, संरचनागत सुधार गरुन्, मानौंला, वैकल्पिक राजनीति चाहिँदैन । अन्यथा वैकल्पिक राजनीति यतिखेरको नेपालमा सबैभन्दा सान्दर्भिक र औचित्यपूर्ण बहस हो । यसमा लागे वापत हीनतावोध हुने त कुरै छाडौं, बरु त्यस्ता मान्छेहरुले सोचेभन्दा हज्जार गुणा बढी आत्मगौरवको अनुभूति हुन्छ ।

को वैकल्पिक ?

कपिपय मान्छेहरुको तर्क यस्तो छ- हो, वैकल्पिक राजनीति त चाहिन्छ । तर, को बैकल्पिक ? नयाँ शक्ति कि ? साझा कि ? विवेकशील वा अरु कोही ? मेरो विचारमा उपरोक्त पाँच बटा सवाल जसले बोक्छ, जसले न्याय गर्छ, जसले प्रतिवद्धता र लागू गर्छ, त्यही वैकल्पिक हो ।

कांग्रेस गर्न तयार छ भने कांग्रेस नै बैकल्पिक हो । कम्युनिष्टहरु गर्न तयार छन् भने कम्युनिष्टहरु नै वैकल्पिक हुन् । नयाँ शक्तिले त्यसको पैरवी गर्दैछ भने नयाँ शक्ति नै वैकल्पिक हो ? साझा विवेकशील वा अरु कोहीले गर्दैछन् भने उनीहरु नै बैकल्पिक हुन् । व्यक्ति प्रधान हैन, विचार प्रधान हो, योजना प्रधान हो ।

हिजो सुर्वण समशेर कांग्रेसमा लागे, उनी राणा थिए । तिमी राणा हौ, राणा विरोधी आन्दोलनमा लाग्न पाउँदैनौं भन्न सकिन्नथ्यो । पार्टी रोज्नु व्यक्तिको निजी स्वतन्त्रता हो । तसर्थ को मान्छे कुन धारको राजनीतिमा थियो, त्यसको पनि महत्व त छ तर लोकतन्त्रमा पार्टीमा लाग्ने अधिकार कुण्ठित गर्न सकिन्न ।

राजपाहरु एमालेमा लागे महान हुने फोरमहरु नयाँ शक्तिमा लागे बिटुलो हुने, यस्तो हुन सक्दैन । मानौं कि कमल थापा र पशुपति शमशेर राणा कांग्रेस प्रवेश गर्न चाहे, के कांग्रेसले बाजा बजाएर भित्र्याउँदैन ? हिजो कति पञ्चहरु कांग्रेस पसे, आज कति त कांग्रेसको निर्णायक तहमा छन् ।

शक्ति निर्माणकोे प्रश्न

नेपालमा वैकल्पिक राजनीति विल्कुल नयाँ मान्छेहरुले मात्र बन्छ भन्ने म विश्वास गर्दिनँ । किनकि नेपालमा त्यस्तो नयाँ मान्छे नै छैनन् । सबै मान्छे कुनै न कुनै पुरानो पार्टीमा छन् । नयाँ मान्छे कहाँबाट ल्याउनु ? पुरानै मान्छेलाई नयाँ धारमा नर्फकाई राजनीतिक स्कुलिङ्ग कसरी फेर्नु ? तर, प्रश्न नीति र नेतृत्वको हो ।

राजपाहरु एमालेमा जाँदा एमाले राजपा हुँदैन, एमाले नै हुन्छ । राप्रपाहरु कांग्रेसमा जाँदा कांग्रेस राप्रपा हुँदैन, कांग्रेस कांग्रेस नै हुन्छ । त्यस्तै, जुनसुकै पार्टीबाट मान्छे नयाँ शक्ति वा वैकल्पिक राजनीतिमा आउँदा ऊ पुरानो मान्छे रहन्छ, तर पुरानो प्रवृत्तिको समर्थक रहँदैन । तसर्थ अतिशुद्धतावादको मोह मलाई छैन ।

वैकल्पिक राजनीति निर्माण गर्ने शर्तमा समाजको बदनाम, भ्रष्ट र अपराधी तप्काबाहेक जुनसुकै धारको राजनीतिमा भएको सार्वभौम नेपाली नागरिक वैकल्पिक राजनीतिको धारमा आउन पाउँछ । त्यो उसको स्वतन्त्रता र छनोटको अधिकार हो ।

स्थानीय निर्वाचनको समीक्षाः

एकखाले समीक्षकहरु बढो खुशी छन, वैकल्पिक राजनीतिको कुरा गर्नेहरु वेमौत हारे । उनीहरुको वेहाल भयो । विवेकशील र साझाले काठमाण्डौं र ललितपुरमा ल्याएको भोटले उनीहरुलाई भित्र कतै पोलेको छ । नयाँ शक्तिको त उनीहरुले हरिबिजोक मात्रै देखे । उनीहरु भन्न थाले- नेपालमा वैकल्पिक राजनीति सम्भव छैन ।

यस्तो लाग्छ कि उनीहरु नेपालमा बैकल्पिक राजनीतिको मृत्युलेख लेख्न आतुर भएर बसेका थिए । तिनै विश्लेषकहरु अरुबेला नीति नैतिकताको उपदेश दिन्थे । पुराना दलहरुको आलोचना गर्थे । आज तिनै पार्टीहरुको जित उनीहरुलाई खुशीको बिषय बनेको छ ।

उनीहरुले के बुझ्न जरुरी छ भने नेपाल तीव्र मनोविज्ञान भएका नागरिकको देश हैन । युरोप अमेरिकामा लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता आएको करिब ३ शताब्दिपछि अस्ति भरखरै नेपालमा आयो । प|mान्समा एक वर्षभित्रै नयाँ दलले राष्ट्रपति जित्यो, संसदीय निर्वाचनमा बहुमत ल्यायो । ठीक त्यस्तै चमत्कार नेपालमा हुँदैन । नेपालमा अलि लामो समय लाग्ला, तर नेपालमात्र विश्वचेतना भन्दा बाहिर बस्न सक्दैन ।

जसले स्थानीय निर्वाचनमा वैकल्पिक दलहरुको हरिविजोक देखे, उनीहरु मध्ये ९० प्रतिशत बढीले नयाँ दलहरुलाई निर्वाचन चिन्ह नदिएकोमा एक शब्द लेखेनन् । बोलेेनन् । उनीहरुको लोकतन्त्रप्रतिको प्रतिवद्धता कति कमजोर र पाखण्डी थियो भन्ने कुरा त्यसैबाट पुष्टि हुन्छ ।

यो स्थानीय निर्वाचनमा वैकल्पिक दलहरुको जुन निर्वाचन परिणाम आयो, त्यसको ४० प्रतिशत जिम्मेवारी निर्वाचन चिन्हको हो । ४० प्रतिशत स्वाभाविक हो, समय अभाव हो । बाँकी २० प्रतिशत कमजोरी वैकल्पिक दलहरुको पनि हो । स्वतन्त्र चिन्ह वा अर्को दलको चिन्ह लिएर एकपटक कांग्रेस-कम्युनिष्टहरु पनि स्थानीय चुनाव लडेर हेरुन्, उनीहरुले अहिलेकै जस्तो निर्वाचन परिणाम ल्याएछन् भने मानांैला, अन्यथा ‘जो होचो, उसैको मुखमा घोचो’ को उखानलाई चरितार्थ गरेर आधुनिक युगमा लोकतन्त्रवादी हुनुको पाखण्ड कसैले नदेखाए हुन्छ ।

जहाँसम्म नयाँ शक्तिको कुरा हो, यो निर्वाचन परिणाम खासै निराशाजनक छैन । नयाँ शक्तिले दुई चरणमा गरेर देशभरि ३२३८ उम्मेद्वारहरु उठायो । गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १, वडाध्यक्ष १७ सहित कूल १८६ स्थान हासिल गर्‍यो । हारेका ठाउँमा अधिकांश उम्मेद्वारहरु तेस्रो, चौथो, पाँचौं भए । पपुलर भोट त आफ्नो चिन्ह नभएपछि हिसाब नै आउँदैन । चिन्ह बाँडेर उठ्न परेपछि सबैतिर उम्मेद्वार नै हुँदैन । स्वतन्त्र उठेकाको भोट पार्टी भोटमा जोडिँदैन । यी समस्याका बाबजुद नयाँ शक्ति-फोरम गठबन्धन सीट र पपुलर भोट दुबैमा राप्रपालाई पछाडि धकेल्दै चौथो भयो ।

माओवादी केन्द्रको प्रायोजित प्रचार

नयाँ शक्ति वा वैकल्पिक दलहरु यतिखेर कांग्रेस-एमालेका लागि प्रतिक्रियाविहीन निगरानीका विषय भएका छन् । प्रतिक्रिया दिन पनि हतार हुने अप्ठ्यारो, भविष्यमा अप्ठ्यारो पार्ने हुन् कि भन्ने भय पनि छ ।

काठमाण्डौं र ललितपुरका साझा, विवेशशीललाई मत दिने मतदाताको कारण आउँदो संघीय वा प्रादेशिक निर्वाचनमा कस्तो असर पर्ला भन्ने डर कांग्रेस-एमालेलाई छ ।

नयाँ शक्तिका कारण भने सबैभन्दा बढी माओवादी केन्द्र आत्तिएको छ । विशेषतः गोरखा, रसुवा, कैलाली धादिङ्ग, मोरङ्ग लगायत एक दर्जन बढी जिल्लामा जुन राजनीतिक समीकरण फेरिएको छ, त्यसले माओवादी केन्द्रमा पार्टी विघटन गर्नेसम्मको प्रस्ताव आएको छ ।

उनीहरु आजै नयाँपार्टी हामीसँग मिल्छ, भोलि नै मिल्छ, भन्ने प्रयोजित हल्लामा लागेका छन् । उनीहरु कति ठूलो भ्रममा छन्, यसले पुष्टि गर्छ ।

‘माओवादी’ र ‘नयाँ शक्ति’ को सम्बन्धलाई उसले माओवादी समूहहरुको एकताजस्तो बुझेको रहेछ । यसले उनीहरुको कमजोर राजनीतिक चेतनालाई पुष्टि गर्दछ । अन्यथा नयाँ शक्ति र माओवादी बीच एकता हुन सक्ने कहीँ कतै कुनै सम्भावना छैन । यी विल्कुल फरक बैचारिक धारका दलहरु हुन् ।

नयाँ शक्ति आफैमा बैकल्पिक राजनीतिको एक धार हो अब । एकाध मान्छे यताउता हुँदैमा यो ब्राण्डलाई खासै फरक पर्नेवाला छैन । र, जो साथीहरु माओवादी दर्शन नै परित्याग गरी वैकल्पिक राजनीतिको स्पेसमा आउनुभएको छ, उहाँहरुको फर्किने कुनै इरादा नै देखिन्न ।

केही स्वीकारोक्ति

यी सबै प्रतिरक्षाहरुको दाबी यो हैन कि नयाँ शक्ति बिल्कूल दूधले धोएजस्तो स्वच्छ आन्दोलन हो । वा, वैकल्पिक राजनीतिमा जेजति लागेका छन, सबै ठीकठाक छन, अरु सबै खराब छन् । असल मान्छेहरु त पुराना पार्टीमा पनि छन् ।

पुराना पार्टीहरुले पनि लोकतान्त्रीकरणको युगमा योगदान गरेकै हुन् । तर, देशको समृद्धीकरणको युगलाई उनीहरुले न्याय गर्न नसकेको मात्र हो । देशमा एउटा नयाँ राजनीतिक ध्रुवीकरण अहिले पनि आवश्यक छ । त्यो संघारमा छ । आउँदो निर्वाचनअघि र पछिसम्म त्यो अवश्यक हुनेछ ।

नेपाली राजनीतिमा मुख्य पाँच वटा धारहरु छन् । देशमा पाँचवटा पार्टी भए पुग्छ ।

एक-संसदीय लोकतन्त्रमा विश्वास गर्ने उदार लोकतान्त्रिक धार- यसमा विश्वास गर्ने मान्छेहरु कांग्रेस भए हुन्छ ।

दुई-माक्र्सवाद-लेनिनवाद-माओवादजस्ता शास्त्रीय साम्यवादी दर्शनमा विश्वास गर्ने कम्युनिष्ट धार । एमाले-माओवादी-माले-मसाल-नेमकिपा सबै एक भए हुन्छ ।

तीन- हिन्दूत्व, कुलीनतन्त्र र राजतन्त्रमा विश्वास गर्ने कन्जर्भेटिभ धार । यसका लागि जुट्दै र फुट्दै गरेको राप्रपा छ ।

चार-पहिचानवादी धार । पहाडी वा मधेसी पहिचानवादी धारका क्षेत्रीय दलहरु फोरम वा राजपा पनि एक भए राम्रो हुन्छ ।

र, पाँच- वैकल्पिक अग्रपन्थी धार- मलाई विश्वास छ, यस धारका दलहरु पनि ढीलो चाँडो एक ठाउँमा आउन बाध्य हुनेछन् । जब यो ध्रुवीकरणको प्रक्रिया प्रखर हुनेछ, वैचारिक धारका आधारमा ५ पार्टी हुनेछन् । तर, व्यक्ति र समूहहरु फरक ढंगले ध्रुवीकृत हुनेछन ।

अहिले मान्छेहरु विचार अनुसारको पार्टीमा छैनन्, पार्टी अनुसारको विचार बनाउन बाध्य छन् । आफ्नो विचार अनुसारको पार्टी नभएका कारण अरु नै पार्टीमा बसेका छन् । कांग्रेस/कम्युनिष्ट/राजावादी/पहिचानवादी पार्टीमा पनि व्यक्तिगत रुपमा वैकल्पिक धार मन पराउने थुप्रै व्यक्ति व्यक्तित्व छन् । समय क्रमले उनीहरु सबैलाई एकै ठाउँमा पक्का ल्याउने छ ।

(लेखक नयाँ शक्ति पार्टीका केन्द्रीय नेता हुन् )

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक तथा लेखक खतिवडा जसपासँग आवद्ध छन् । उनको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?