Comments Add Comment

स्वास्थ्य क्षेत्र सुधारको ‘एक्सन प्लान’ बनाउन मन्त्री पोखरेलको निर्देशन

२६ साउन, काठमाडौं । स्वास्थ्य क्षेत्र सुधारका लागि गरिएका २६ बुँदे प्रतिवद्धता कार्यान्यनका लागि ‘एक्सन प्लान’ बनाउन स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले मातहतका निकायलाई निर्देशन दिएका छन् ।

प्रतिबद्धता पत्र पेश गरेको करिब एक हप्तापछि स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले मातहतका निकायलाई कार्यान्वयनका लागि तत्काल ‘एक्सन प्लान’ बनाउन निर्देशन दिएका हुन् ।

मन्त्री पोखरेलले कर्मचारी स्थायी सरकार भएको बताउँदैं मन्त्री जो आएपनि फरक नपर्ने गरी व्यवस्थित कार्ययोजना बनाउन मातहतका निकायलाई निर्देशन दिएका हुन् ।

निर्देशनका क्रममा मन्त्री पोखरेलले मन्त्रालय मातहतका क्षेत्रीय निर्देशकहरुसंगको भेटमा सरकारी अस्पताल सुधारका लागि दीर्घकालीन कार्ययोजना बनाउन, २ नम्बर प्रदेश र उपत्यकाका जिल्लाहरुमा रहेका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा गर्नुपर्ने कामहरुको प्रक्रिया सुरु गर्न समेत निर्देशन दिएका छन् । ‘दुई नम्बर प्रदेश अन्तर्गतका अस्पतालहरुमा सुधार गर्नुपर्ने देखिएको छ,’ मन्त्री पोखरेलले भने, ‘तुरुन्तैं कार्ययोजना बनाएर काम सुुरु गर्नुस् ।’

मन्त्री पोखरेलले मन्त्रालयको कामलाई व्यवस्थित गर्ने र जनशक्तिको व्यवस्थापन गर्न जरुरी रहेको भन्दै एक्सन प्लानको आवश्यकता भएको बताए ।

मन्त्री पोखरेलले अस्पताल प्रमुख डाक्टरहरु निजी क्लिनिकमा काम गर्न नपाउने व्यवस्था मिलाउन, सरकारी अस्पताल र स्वास्थ्य केन्द्रको व्यवस्थापन गर्न र संवेदनशील भएर काम गर्न समेत कर्मचारीलाई निर्देशन दिएका छन् ।

निर्देशनका क्रममा उनले जनशक्ति, औंषधी, उपकरण र पुर्वधारको व्यवस्थापन गर्नुपर्ने तथा स्वास्थ्य समस्यामा परेका आम नागरिकको गुनासो सुन्न मन्त्रालयमा गुनासो डेस्क स्थापना गर्ने जानकारी दिए ।

भेटमा सहभागी मन्त्रालयका पदाधिकारीहरुले सरकारी संयन्त्र काम गर्न नसकेको बताएका छन् । सरुवा भएर गएका डाक्टरहरु बिचमै हराउने गरेको भन्दै मन्त्री पोखरेलले क्षेत्रमा पाँच जना डाक्टर राख्नुपर्ने, जहाँ डाक्टर आवश्यक छ त्यही पठाउने व्यवस्था मिलाउनुपर्ने आवश्यकता रहेको औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment