Comments Add Comment

एमालेले संशोधन बिधेयक पारित हुन नदिने

२७ साउन, काठमाडौं । सरकारले राष्ट्रिय जनता पार्टीसँगको छलफलमा संविधान संशोधन बिधेयक निणायर्थ पेश गर्ने सहमति भएपनि बिधेयक पारित हुन नदिने अडान यथावत रहेको जनाएको छ ।

शुक्रबार रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कारमा एमाले सचिव प्रदीप ज्ञवालीले स्थानीय तहको निर्वाचनमा मधेसका जनतालाई आफ्नो पक्षमा पार्न रचिएको सरकारी राजनीतिक चाल संविधान संशोधन भएको आरोप लगाए ।

शुक्रबार सरकार र राष्ट्रिय जनता पार्टी, नेपालबीच संसदमा विचाराधीन संविधान संशोधन विधेयक निर्णयार्थ पेश गर्ने सहमति भएको थियो । तर, प्रमुख प्रतिपक्षी एमालेका सचिव ज्ञवालीले भने विधेयक संसदमा पेश भए सत्तापक्ष र प्रतिपक्षबीचको दुरी झनै बढेर जाने चेतावनी दिए ।

सचिव ज्ञवालीले राष्ट्रिय जनता पार्टी, नेपाललाई आसन्न निर्वाचनमा आउन पनि आग्रह गरे । जनता निर्वाचनको पक्षमा रहेकाले राष्ट्रिय जनता पार्टी, नेपालले प्रदेश नम्बर २ को निर्वाचनमा भाग लिने उनको टिप्पणी छ ।

कार्यक्रममा बोेल्दै कांग्रेस नेता एवम् वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले प्रमुख प्रतिपक्षी एमालेलाई समेत सहमति ल्याएर संविधान संशोधन विधेयक पारित गर्न सरकार लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सबैलाई निर्वाचनमा जाने वातावरण बनाउने दायित्व पूरा गर्न सरकार लागि परेको पनि स्पष्ट पारे ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता अजयशंकर नायकले राजपालाई पनि निर्वाचनमा भाग लिने वातावरण बनाउन संविधान संशोधन विधेयक अघि बढाउने निर्णय लिइएको प्रष्ट पारे । निर्वाचनमा जाने वातावरण बनाउन प्रमुख प्रतिपक्ष एमाले पनि जिम्मेवार बन्नुपर्ने उनले बताए ।

राष्ट्रिय जनता पार्टी, नेपालका नेता महेन्द्रराय यादवले संविधान संशोधन विधेयक सफल बनाउने आश्वासन सरकारले दिएको खुलासा गरे । उनले स्थानीय तहको संख्या बढाउन मिल्ने गरी सर्वोच्चको आदेश पनि आएकाले आफूहरु आसन्न निर्वाचनमा जान तयार भएको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment