Comments Add Comment

बाढीमा गाडी डुब्दा गर्भवतीसहित ६ जनाको मृत्यु

२९ साउन, रौतहट । लगातारको वर्षापछि जलमग्न बनेको रौतहटमा गाडी डुबेर गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ ।

प्रसुतीका लागि लौकाहाबाट राजपुर अस्पतालमा जाँँदै गरेको जीप बाढीले बाटो कटान गरेको जानकारी नहुँदा डुबेको हो । राजपुर अस्पताल भन्दा सय मिटर पर बिहान ३ बजेतिर भारतीय नम्बरको जीप डुब्दा गर्भवती महिलासहित ६ जनाको मृत्यु भएको प्रहरी उपरिक्षक यज्ञ विनोद पोखरेलले बताए ।

मृत्यु हुनेमा चार पुरुष र दुई महिला छन् । जीपका चालक र अर्का एक व्यक्तिले भने ज्यान बचाउन सफल भएको स्थानीय आरजु आलमले बताए ।

चार दिन देखि परेको अविरल वर्षाका कारण आएको बाढीले रौतहट पूर्ण रुपमा डुबानमा परेको छ । २०५० सालमा आएको बाढी भन्दा पनि ठूलो यस पटकको बाढीले जिल्लाका सबै गाँउपालिका र तिनवटै नगरपालिका लाई जलमग्न बनाएको छ ।

झाँझ, बागमती, लाल बकैया र चादी नदीमा आएको बाढीले गौर, गरुडा र चन्द्रपुर नगरपालिका समेत डुबानमा परेको छ ।

गएराति गरुडा र सदरमुकाम गौरमा बाढीको पानी पसेको छ । गौरको मुख्य सडकमा ४ फिटसम्म पानी रहेको छ भने जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको कार्यालय लगायत प्रहरी युनिट समेत डुबानमा परेका छन् ।

आधा दर्जन स्थानमा तटबन्ध भत्कियो

लालबकैया नदीको बहाव उच्चबिन्दुमा पुगेपछि करुनिया र देवाहीसहित आधा दर्जन स्थानमा तटबन्ध भत्किएको छ । गौर चन्द्रनिगाहपुर सडकखण्डको सखुअवामा समेत बाढीले १० मिटर सडक कटान गरेको प्रहरी उपरीक्षक पोखरेलले बताए ।

शनिबार बाँध भत्किएपछि आएको बाढी देवाही वडा नंं ८ को एक घरमा २०० जना भन्दा बढी स्थानीयलाई अझैसम्म पनि उद्धार गर्न सकिएको छैन । उनीहरुलाई सुरक्षित स्थानमा लैजान अप्ठ्यारो भएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए ।

यस्तै परोहा गाउँपालिका स्थित करुनिया गाउँ नजिक रहेको लाल बकैया नदीको पूर्वी बाँध आज दिउसो भत्किदा त्यस भेगको अवस्था पनि कष्टकर बनेको छ । गौर गंगापिपरा सड्क खण्डको दुर्गा भगवती गाउँपालिकाको सडक बाढीका कारण गए राति देखिनै अवरुद्ध भएको छ भने मत्सरी, पचरुखी, सरुअठा, गंगापिपरा, भलोहिया, बडहर्वा लगायतका गाउँहरुमा बाढीको पानीबाट एक सय भन्दा बढि घर डुवानमा परेका छन । परोहा गाउँपालिकाकै बसन्तपटी, इनरवारी, इशनाथ गाउँपालिकाको बन्जरहा, औरैया, बैरिया, राजपुर, बौधीमाई, गुजरा, माधवनारायण, गढिमाई, वृन्दाबन, विजयपुर, कटहरिया सहित गरुडा नगरपालिकाको सबै वडा, चन्द्रपुर नपाको केही वडा सबै क्षेत्र डुवानमा परेको छ । गौर चन्द्रनिगाहपुर र पूर्व पश्चिम राजमार्गमा यातायात पूर्ण रुपमा बाढीका कारण बन्द भएको छ ।

बाढीमा फसेकाहरुको उद्दार गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको डुंगा सहितका पौडीबाज टोली जिल्लाका विभिन्न स्थानमा पठाइए पनि पर्याप्त भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment