Comments Add Comment

प्रधानमन्त्रीले कांग्रेसका पत्रकारलाई भने- एमालेले साह्रै पेल्यो, माओवादीसँगै मिल्नुस्

पत्रकार महासंघमा प्रेस युनियन र प्रेस सेन्टरबीच तालमेलकाे तयारी

२९ साउन, काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसलाई एमालेले सबैतिरबाट पेल्दै लगेकाले माओवादीसँगको गठबन्धनलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रेस युनियनका पदाधिकारी र पत्रकार महासंघका पूर्वअध्यक्षहरुसँगको छलफलमा देउवाले आसन्न पत्रकार महासंघको चुनावमा पनि माओवादी सम्वद्ध पत्रकारहरुसँग मिल्न निर्देशन दिएका छन् ।

भदौ ४ देखि काठमाडौंमा शुरु हुने पत्रकार महासंघको २४ औं महाधिवेशनका सन्दर्भमा सभापति देउवाले भने- एमालेले साह्रै पेल्न थाल्यो, दुई चरणको चुनावमा हामीले धक्का खायौं । तपाईहरु पत्रकार महासंघको चुनावमा माओवादीलाई नेतृत्व दिएर भए पनि मिल्नुस, एमालेलाई जित्न दिनु भएन ।

सो भेलामा बरिष्ठ नेता रामचन्द्र पौडेल पनि सहभागी थिए । पौडेलले पत्रकार महासंघमा लोकतन्त्रवादीको नेतृत्व खोसिएपछि नागरिक आवाज कमजोर भएको भन्दै एमालेको पकडबाट महासंघलाई मुक्त गर्नुपर्ने बताए ।

उनले पनि महासंघका निर्वाचनमा एमालेविरुद्ध माओवादीलाई साथ लिन सुझाव दिएको भेलाका एक सहभागीले बताए । पौडेलले भने-एमाले स्वार्थी भयो । सहमतिको कुरा गर्ने तर सहमतिमा धोखा दिने उसको चरित्र छ । बरु माओवादी आफ्नो बोलीमा टिकेका छन् ।

तेस्रो चरणको स्थानीय निर्वाचनसहित आउने सबै निर्वाचनमा माओवादीसँग मिलेरै एमालेविरुद्ध लड्ने पार्टीको तयारी रहेको भन्दै नेताहरुले पत्रकार महासंघमा पनि एमालेविरुद्ध गठबन्धन बनाउन निर्देशन दिएको प्रेस युनियनका एक नेताले बताए ।

तर भेलामा प्रेस युनियनका पूर्व महासचिव शिव लम्सालले भने महासंघलाई उदार बामपन्थीको हातबाट अनुदार बामपन्थीको जिम्मा लगाउने गरि गठबन्धन गर्नुको कुनै औचित्य नहुने फरक धारणा राखेका थिए । उनी मिनेन्द्र रिजाल निकट मानिन्छन् ।

तालमेल बारे फरक धारणा आएपछि देउवाले कांग्रेस नेता प्रकाश शरण महत,पत्रकार महासंघका पूर्व अध्यक्षहरु तारानाथ दाहाल,सुरेश आचार्य,धमेन्द्र झा,प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल लगायतको समिति गठन गरेका छन् ।

सो समितिले माओवादी सम्बद्ध प्रेस सेन्टरलाई अध्यक्ष दिएर महासंघको निर्वाचनमा गठबन्धन गर्ने निर्णय समेत गरिसकेको छ । युनियनका अध्यक्ष बद्रीय सिग्देलले प्रेस सेन्टरका अध्यक्ष गोविन्द आचार्यलाई अध्यक्ष मान्न आफूहरु तयार रहेको बताए ।

सिग्देलले भने-प्रेस सेन्टर र प्रेस युनियनको गठबन्धन स्वभाविक हुन्छ । जसरी अहिले सत्तामा र निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ त्यसैगरि हामी पत्रकार महासंघमा पनि मिलेर जान तयार भएका छौं ।

स्थापनाकालदेखि कांग्रेस निकट पत्रकारहरुको नेतृत्वमा चलेको पत्रकार महासंघमा बिगत ६ वर्षदेखि बामपन्थी पत्रकारले नेतृत्व गर्दै आएका छन् । शिव गाउँले र महेन्द्र विष्ट यसबीचमा अध्यक्ष भए ।

उनीहरु दुवैजना माओवादी सम्बद्ध तत्कालिन क्रान्तिकारी पत्रकारको समर्थनमा एमाले निकट प्रेस चौतारीको उम्मेदवार बनेर निर्वाचित भएका थिए । यसपटक चौतारीले माओवादी सम्बद्ध आचार्यलाई अध्यक्ष मान्ने पूर्व लिखित सहमति पालना गर्ने भने पनि देउवा र प्रचण्डकै तहमा चौतारी विरुद्ध गठबन्धन गर्ने सहमति भएको स्रोतले जनाएको छ ।

पत्रकार महासंघका करीव १५ सय केन्द्रीय सभासद अर्थात मतदाताहरुमध्ये संख्याको आधारमा चौतारी पहिलो,प्रेस युनियन दोस्रो र प्रेस सेन्टर तेस्रो स्थानमा छन् । सेन्टर जोसँग मिल्यो उसैले जित्ने निर्णायक संख्या रहेकाले यसपटक उसले दुवैतिरबाट अध्यक्षको अफर पाएको हो ।

यदि प्रेस युनियन र सेन्टर मिलेर चुनाव लडेको खण्डमा प्रेस चौतारीले अन्य साना समूहसँग सहकार्य गर्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment