२९ साउन, कोहलपुर । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बाँके र बर्दियाको बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका छन् । उनले बाढी पीडितलाई भेटेर तत्काल राहत तथा उद्धारका कार्यक्रम सञ्चालन गर्ने भन्दै संयम भएर बस्न अनुरोध पनि गरेका छन् ।
बाढी प्रभावित क्षेत्रको अनुगमन गर्न गृहमन्त्री शर्मा सहितको टोली आइतबार बिहान बाँके पुगेको छ । उनले लक्ष्मणपुर बाँधका कारण डुबानमा परेको राप्ती सोनारी गाउँपालिकाका बाढी पीडितहरुलाई भेटेका छन् । भेटमा मन्त्री शर्माले तत्काल राहतका कार्यक्रमहरु सञ्चालन गरिने बताएका हुन् । साथै बाढी प्रभावित क्षेत्रका जनताका लागि दिर्घकालिन योजना बनाएर सुरक्षित स्थानमा ब्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता समेत उनले जनाएका छन् ।
बाँके आएलगत्तै गृहमन्त्री शर्माले जिल्लाका सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरुलाई भेटेर राहत तथा उद्धार कार्यमा खटिन निर्देशन दिएका थिए ।
अविरल वर्षाका कारण देशभर जनधनको क्षति बढ्न थालेपछि शनिबार गृहमन्त्री प्रभाकरको नेतृत्वमा आकस्मिक बैठक बसी केन्द्रीय कमाण्ड पोष्ट गठन गरिएको थियो ।
-संगिन शर्माबाट
प्रतिक्रिया 4