२९ साउन, काठमाडौं । कवि शिरोमणि लेखनाथ पौड्यालले ठिकै भनेका रहेछन्- छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ । उर्लँदो खहरे हेर, कत्तिको गडगडाउँछ !
इटहरी उपमहानगरपालिकाको ट्यांग्रा खोलो कुनै ठूलो नदी होइन । बजारको पूर्वी भागमा अवस्थित यो खोलो झट्ट हेर्दा एउटा कुलोजस्तो मात्रै देखिन्छ । तर, शुक्रबार राति बाढी आउँदा यही नपत्याउने खोलो काल बनेर आयो ।
विशाल बहाव भएको कोशी नदी आफ्नै ठाउँमा बरिरहँदा सुनसरीमा ट्यांग्रा खोलो र मानिसले सहजै तर्न सक्ने बूढीखोलो चाहिँ विनाशक बन्न पुगेको छ ।
मोरङको केराबारी गाउँपालिका- ९ हुँदै बग्ने लाहोन्द्रा खोलाको सिरानमा हिउँदको समयमा कमिला समेत पार गर्ने अवस्था हुन्छ । तर, वर्षयाममा पहाडको खहरे मिसिएर लोहोन्द्रामा आउने क्षणिक बाढी महाविनाशक बन्न पुगेको छ । मौसमी रुपको लोहोन्द्रा खोलाले अहिले केराबारी-९ स्थित देवीझोडा र कुसुमेमा आफ्नो धार नै परिवर्तन गरेर तहस-नहस पारेको छ ।
मोरङकै सुकुना खोलो, चिसाङ खोला आदिले गरेको विनास ठूला नदीहरुको भन्दा बढ्ता छ । खदम र बक्राहाजस्ता मध्यमस्तरका खोलामा चुरे र महाभारतबाट मिसिने खहरेको आतंक ठूला नदीहरुको भन्दा बिनासकारी देखिएको छ ।
त्यस्तै झापामा पनि नियमित रुपमा बग्ने कन्काइ र रतुवाको भन्दा नपत्याउँदा खोलानालाहरु केर्खा खोला, कमल खोला र बिरिङ खोलाहरुको आतंक ठूलो देखिएको छ ।
अहिलेको बाढीमा कोशी, कर्णालीलगायतका ठूला नदीमा पानीको बहाव खतराको लेभलभन्दा तल नै छ तर, पनि तराईका अधिकांश जिल्लाहरु डुबानमा परिसकेका छन् ।
रौतहट, सप्तरीलगायतका जिल्लाका शतप्रतिशत जस्तै भूभाग डुबानमा परिसके भने अन्य जिल्लाका पनि धेरै भूभागले डुबानमा परेका छन् ।
अघिल्ला वर्षहरुमा ठूला नदीमा पानीको बहाब उच्च भएपछि बाढी बस्तीमा बाढी पस्थ्यो । तर, यो वर्ष भने ठूला नदीभन्दा साना तथा खहरे नदीहरु घातक बनेका छन् ।
बाढी पूर्वानुमान शाखाका प्रमुख राजेन्द्र शर्माले अनलाइनखबरलाई भने, ‘योपटक पहाडी क्षेत्रलाई भन्दा तराईमा बढी पानी पर्यो, जसले ठूला नदीको स्तर खतराको लेभल भन्दा तल रहँदा नै तराई भने डुब्यो ।’
उनका अनुसार अहिले पहाडी क्षेत्रमा भन्दा चुरे र त्यस भन्दा तलका क्षेत्रमा बढी वर्षा भइरहेको छ । तराईमा लगातार वर्षा भइरहँदा पहाडी क्षेत्रमा केहीबेर रोकिँदै पानी पर्ने क्रम चलिरहेको छ । तराईमा भने पानी रोकिने छाँट छैन ।
अघिल्ला वर्षहरुमा पहाडबाटै नदीनालाले उच्च जलस्तर कायम गरेर जाने र तराई पुगेर बस्तीमा पस्ने गरेको थियो । तर, यो वर्ष उत्तरी बेल्टमा र चुरेमा भन्दा तलको क्षेत्रमा पानी धेरै पर्यो, यसले तराईमा चुरेबाट निस्किएका खहरे खोलाहरुले बढी विनास निम्त्याएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो वर्ष साना भनिएका खोला र खहरेहरुले नै डुबान र कटानका प्रमुख कारण बनेको प्रमुख शर्माले बताए ।
‘पहिले पहाडमा धेरै पानी परेर खोला भरिँदै तराई पुग्ने र ठूला नदीबाटै बढी डुबान र कटानको समस्या निम्तिन्थ्यो’ शर्माले भने, ‘यो वर्ष त्यसो भएन । चुरे र त्यसभन्दा मुनिका क्षेत्रमा बढी पानी पर्यो । जसले ठूला खोलाको सतह खतराको लेभलमा नपुग्दै साना खोला, खोल्सा र खहरेले डुबान गराए ।’
साना भन्दै मिचिएका तथा साँघुरो बनाइएका खोला र खोल्साले नै यो वर्ष तराईलाई समस्यामा पारेको छ । विशेष गरी पछिल्लो समयमा साना खोल्सा मिचेर बस्ती बसाउने तथा खेती गर्ने क्रम बढ्दै गरेको छ । यसले चुरेबाट निस्किएका खहरे र खोल्सालाई दबाउँदा विकराल अवस्था आउन सक्छ भन्ने सन्देश दिएको बाढी पूर्वानुमान महाशाखाका प्रमुख शर्माले बताए ।
‘चुरेमा बढी पानी पर्दा खहरे र साना खोला नै डुबान र कटानका लागि पर्याप्त हुन्छन् भन्ने देखियो’ शर्माले भने, ‘ठूला नदी बस्तीमा नपस्दै साना खोला र खोल्साले बढी क्षति गराएका छन् । अब बाढीको पूर्वतयारी साना खोला-खोल्साका आधारमा पनि गर्नुपर्ने देखिएको छ ।’
तर, यो वर्ष कन्काई, पूर्वीराप्ती र बबई नदीमा भने पहाडी क्षेत्रबाट नै उच्च सतहमा बाढी आएको छ ।
त्यसलाई छाडेर अन्य कुनै पनि ठूला नदीमा खतराको सूचक ननाघ्दै त्यसले प्रभावित गर्न सक्ने क्षेत्रहरु डुबान र कटानको चपेटामा परिसकेका छन् । यस्तो डुबान तथा कटान साना मानिने खोला र खहरेमा आएको बाढीबाटै भएकाले यसबाट पाठ सिक्नुपर्ने देखिएको छ ।
प्रतिक्रिया 4