Comments Add Comment

बाढीपीडितका लागि एनआरएनद्वारा राहत कोष स्थापना, शेष घले दम्पत्तिले दिए १ करोड


२९ साउन, काठमाडौं । दर्जनौंको मृत्यु र हजारौं परिवार घरवारविहीन हुनेगरी तराईमा आएको बाढी पहिरो पीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपतकालीन राहत कोषको स्थापना गरेको छ । कोषमा अध्यक्ष शेष घले र जमुना घलेले एक करोड रुपैयाँ सहयोगको प्रतिवद्धता जनाएका छन् ।

एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको आइतबार बसेको आकस्मिक बैठकले आपतकालीन राहत प्रदानका लागि कोष स्थापना गर्ने र तत्कालै राहत वितरणमा खटिने निर्णय गरेको छ । ‘यो दुःखको घडीमा हामी देशबासीको साथमा छौं’ अध्यक्ष घलेले भने- बैठकबाट हामीले एक करोड बढी रकम संकलन गरिसकेका छौं, आवश्यक राहत सामाग्री खरिद गरी हामी तत्कालै वितरणमा खटिने छौं ।’

संघका अध्यक्ष घले र उनकी पत्नी जमुना गुरुङको एमआईटी फाउण्डेसनले बाढी पीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

साथै एनआरएनका संरक्षक जीवा लामिछाने, उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्तले एक/एक लाख रुपैयाँ सहयोग गरेका छन् । संघका अन्य पदाधिकारी र सदस्यहरुले पनि सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

बाढीपहिरो पीडितलाई के-कस्तो सहयोग जरुरी छ भनी संघका अध्यक्षले आइतबार नै गृहमन्त्री जनार्दन शर्मासँग टेलीफोनमा छलफल गरेका थिए । सहयोगको आवश्यकताबारे गृहमन्त्रालयले विस्तृतमा जानकारी दिएपछि सोही आधारमा राहत सामाग्री उपलब्ध गराउने संघले निर्णय गरेको छ ।

तत्कालका लागि राहत कोषको रकम दुई करोड रुपैयाँ पुर्‍याउने र सामाग्री खरिद प्रकृया सुरु गर्ने जनाइएको छ । राहत वितरणको समन्वय गर्न संघका अध्यक्ष घले तत्कालै अष्ट्रेलियाबाट नेपाल आउने बताइएको छ ।

संघले विश्वभरि छरिएर रहेका नेपालीहरुलाई आफ्नो गच्छेअनुसार रकम सहयोग गर्न आह्वान गरेको छ । साथै संस्थाको मातहतका सबै देशका राष्ट्रिय समन्वय समितिहरुलाई पनि रकम संकलनमा तीब्रताका साथ लाग्न र संकलित रकम एक साताभित्र एनआरएन केन्द्रीय कार्यालयको खातामा पठाइसक्न संघले विज्ञप्तिमार्फत् अनुरोध गरेका छन् ।

मुलुकलाई विपत परेका बेला गैरआवासीय नेपाली संघले सक्रियताका साथ मानवीय सहयोग गर्ने गरेको छ । ०७२ सालमा आएको महाभूकम्प तथा नाकाबन्दीका कारण सिर्जित मानवीय संकटका बेला पनि गैरआवासीय नेपाली संघले राहत वितरण गरेको थियो ।

साथै एनआरएनएले भूकम्प पीडितका लागि गोरखाको लाप्राकमा एकीकृत वस्ती बनाइरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment