२९ साउन, रौतहट । जिल्लाका अधिकांश बाढी पीडित झण्डै २४ घन्टादेखि भोकभोकै छन् । लगातार पानी परिरहेको र अधिकांश भूभाग डुबानमा परेका कारण राहत तथा उद्दार टोली पीडितहरु समक्ष पुग्न सकेका छैनन् ।
अविरल वर्षापछि आएको बाढीका कारण जिल्लामा ९ जनाको मृत्यु भएको छ भने ५ जना वेपत्ता छन् । प्रसुतीका लागि लौकाहाबाट राजपुर अस्पतालमा जाँदै गरेको जीप डुब्दा गर्भवती महिलासहित ६ जनाको मृत्यु भएको छ ।
यस्तै औरहिया, गंगापिपरा र देवाही गोनाहीमा पनि एक-एक जनाको मृत्यु भएको छ ।
सदरमुकाम गौरका बाढी पीडितहरुले झण्डै १८ घन्टादेखि केही खान पाएका छैनन् । अन्यत्रका बाढी पीडितहरुको मुखमा अन्न नपरेको २४ घन्टा हुन लागेको छ ।
गौरमा ५ देखि १५ फिटसम्म पानी जमेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा १० फिटसम्म पानी जमेको छ । सडक पनि जलमग्न भएको छ ।
स्थानीय प्रशासनले डुंगा चलाउन पनि सकेको छैन ।
प्रतिक्रिया 4