२९ साउन, काठमाडौं । तराईका बस्तीहरु यतिबेला बाढीमा डुबेका छन् । यस्तोबेलामा त्यहाँ माहामारी फैलन सक्ने खतरा स्वाथ्य क्षेत्रका जानकारहरुले औंल्याएका छन् ।
बाढीपीडित बस्तीमा फैलिन सक्ने रोगहरु के-के हुन् ? हामीले यसबारे केही डाक्टरहरुलाई सोधेका छौं ।
‘बाढीग्रस्त क्षेत्रमा दूषित पानीका कारण पानी रोगजन्य संक्रमणको सम्भावना बढी रहन्छ’ डा. भीम आचार्यले अनलाइनखबरसँग भने, ‘यस्तो संक्रमणबाट बच्न शुद्ध एवं उमालेको पानी पिउनुपर्छ । सम्भव भएसम्म पियुष चक्की हालेर पानी पिउन जरुरी छ ।’
महाशाखा प्रमुख डा. आर्चायले यसबारे जनचेतना जगाउन रेडियो, टेलिभिजनका साथै विभिन्न सञ्चार माध्यमबाट सचेत गराउने काम भइरहेको बताए ।
तराईका अधिकांश जिल्लाहरु अहिले डुवानमा छन् । जसका कारण त्यहाँ झाडापखाला, आउँ, हैजा, टाइफाइड, जण्डिस, लेक्टोस्पाइरोसिस (मुसाको पिसाबबाट सर्ने रोग), फुड प्वाइजनिङ्ग, लगायतका रोगहरु फैलिन सक्ने खतरा रहेको डा. आचार्यको भनाइ छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ चिकित्सक डा. शेरबहादुर पुनका अनुसार बाढी पहिरोका बेलामा मानिसहरुमा झाडापखालाको जोखिम बढी हुने गर्छ ।
त्यस्तै, टाइफाइड जण्डिसको संक्रमण पनि बढी हुने गर्छ । यस्ता रोगबाट बच्न पानीमा विशेष ध्यान दिनुपर्ने डा. पुनको भनाइ छ ।
केही जान्नै पर्ने कुराहरु
· बाढी र पहिरोका कारण खानेपानीको मुहान दुषित हुने गर्छ ।
· वृद्धवृद्धा, सुत्केरी महिला, बालबालिका तथा दीर्घकालीन रोग भएकाहरु गम्भीर समस्या उत्पन्न हुन सक्छ ।
· यस्तो बेलामा सरुवा रोगको जोखिम उच्च हुने गर्छ ।
· बाढी प्रभावित क्षेत्रमा रुघाखोकी, ज्वरो, हैजा, झाडापखाला, जण्डिस, टाइफाइडको जोखिम उच्च रहन्छ ।
बाढी पहिरोसँगै स्वास्थ्यमा पार्न सक्ने प्रभाव
१. झाडापखाला
२. टाइपाइड
३. जण्डिस
४. लेक्टोस्पाइरोसिस
५. फुड प्वाइजनिङ्ग
६. फ्लुबाट सर्नुसक्ने रोग
बच्ने उपायहरु
· शुद्ध पानीमात्रै पिउने, पानी धमिलो भएमा पियुष हालेर वा उमालेर पानी पिउने ।
· खाना खानु अगाडि साबुन पानीले राम्ररी हात धुने ।
· भीड तथा हुलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्ने ।
· आफू बस्ने ठाँउ वरिपरि राम्ररी सरसफाई गर्ने ।
· शौचालयमा मात्र दिशापिसाब गर्ने
· टाउको दुख्ने, पेट दुख्ने, वान्ता हुने लगायतका विभिन्न रोगको लक्षण देखिए वा संक्रमण देखिए तुरुन्तै नजिकैको स्वास्थ्य चौकीमा गएर जँचाइहाल्ने ।
प्रतिक्रिया 4