Comments Add Comment

घरदेखि सडकसम्मः हेर्नुस् कैलालीका बाढीपीडितको बिजोग

२९ साउन, कैलाली । बाढी र डुबानका कारण कैलालीमा चार सय घर परिवार बिस्थापित भएका छन् । आइतबार साँझ भजनी ९ मा खोला तर्ने क्रममा ५५ वर्षीया एक महिला वेपत्ता भएकी छन् ।

टिकापुर, भजनी र जानकी गाउँपालिकाका बस्ती डुबानले प्रभावित भएका छन् । प्रभावित क्षेत्रका बासिन्दालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र रेडक्रस सहितको टोलीले डुंगामार्फत् उद्धार गरेर विद्यालय, सडक लगायतका खुला क्षेत्रमा ल्याएर राखेको छ । तर उनीहरु बसीरहेको क्षेत्र पनि डुबानको जोखिममा छ । त्यसैले बाढी प्रभावित क्षेत्र नजिकै सुरक्षाकर्मीहरु क्याम्प खडा गरेर बसेका छन् ।

जिल्लाका ठूला नदीहरु काँडा, कान्द्रा, पथरैया र मोहना नदी कर्णालीमा मिसिन्छन् तर, भारतले कैलाशपुर बाँध नखोलिदिँदा डुबान परेको हो । आइतबार राति ८ बजेसम्म पनि पानी पर्ने क्रम जारी छ र पानीको सतह बढ्दै गएकाले बिस्थापितहरु अझै पनि जोखिममा छन् । भारतीय पक्षसँग समन्वय गरेर बाँध खोल्ने प्रयास भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

टिकापुर नगरपालिका, धनसिंहपुर, नारायणपुर, सत्ति, बैदीफाँटा, ठेकीपुर, मन्त्रीफाँटा, कालाढिक लगायत क्षेत्रका बासिन्दा डुबानबाट पीडित छन् । कतिपय स्थानमा राँगा गाडामार्फत पनि उद्धार गरिएको थियो ।

दैवीप्रकोप उद्धार समितिले आइतबार बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्दै पीडितलाई पाल र खानेकुरा वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment