Comments Add Comment

माडीको दुःख- अस्पताल पुर्‍याउन नसक्दा गाडामै प्राण गयो रतनदेवीको

३० साउन, चितवन । चितवनको माडीलाई बाढी र डुवानले त्राही-त्राही बनायो । शुक्रबार रातिदेखि परेको अबिरल वर्षाका कारण माडीका सबैजसो खोलामा आएको बाढी र त्यसले पारेको डुवानले २३ भन्दा बढी घर पूर्ण रुपमा क्षति भए भने सयौं मानिस बिस्थापित भए ।

अहिलेसम्म पनि माडी जाने सक्ने अवस्था छैन । सदरमुकाम भरतपुरसँग माडीको सडक सम्वन्ध टुटेको तीन दिन बितेको छ । मगुई र रतुवा खोलाले माडी जाने सडक भत्काएको छ ।

माडीमा केही संकट भइहाले र मानविय क्षति हुने अवस्था आए उद्धारका लागि कुनै तयारी छैन । यस्तै नियतीको शिकार भएकी छन् माडीकी खगिसरा पाठक । माडी नगरपालिका वडा नम्बर ४ अम्रौलीकी ६८ वर्षीया पाठकलाई दमको समस्या थियो । माडीको बघौडा अस्पताल लैजान पनि मगुई खोला बढेका कारणले सकिएन । बसन्तपुर लैजान नसकिएपछि उनलाई सदरमुकाम भरतपुर ल्याउन खोजियो ।  दमले निकै च्यापेपछि रतनदेवीलाई भरतपुर ल्याउने प्रयास परिवारले गरे ।

तर, माडीबाट भरतपुर ल्याउन गरिएका सबै प्रयासहरु निरर्थक बने । माडीबाट भरतपुर आउन सक्ने अवस्था नै थिएन । ठाडा खोलाहरु उर्लिएका छन् । जबरजस्ती गर्दा अरु हताहती होला भन्ने डर पनि उत्तिकै छ । रतनदेवीलाई भरतपुर ल्याउन भन्दै गाडामा राखेर प्रयास गरियो ।

राष्ट्रिय निकुञ्जका रेन्जर अमृता पुडासैनीसँग सहयोग मागे परिवारका सदस्य विपिन पाठकले । हात्तीबाट भए पनि बिरामीलाई निकुञ्जको छेउँसम्म ल्याउन सके भरतपुर लैजान सकिन्थ्यो भने झिनो आशा परिवारलाई थियो । तर त्यो निराशामा बदलियो ।

समयमा अस्पताल पुर्‍याउन नसक्दा बिहान ११ः३० बजे गाडामै प्राण गयो रतनदेवीको ।

उनका छोरा र्इश्वरी पाठक बिदेशमा छन् । अरु दुई छोरा मुक्ति पाठक, कृष्ण पाठक र बिष्णु पाठक यहीँ छन् । र्इश्वरी पाठक नेपाल आएपछि दाहसंस्कार गर्ने परिवारका सदस्य विपिन पाठकले जानकारी दिए ।

माडीमा कुनै विपत्ति आए त्यहाँबाट तत्कालै उद्धार गरेर भरतपुर ल्याउन सक्ने अवस्था छैन । माडीमै सुविधा सम्पन्न अस्पताल पनि छैन । त्यसैले बाढी आउँदा वा अरु कुनै कारणले सडक सन्जाल टुट्दा माडीबासी ‘भगवान भरोसा’मा बाँच्न विवश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment