३० साउन, नेपालगञ्ज । चार दिनदेखि परेको अविरल वर्षा सोमबारबाट केही थामिएको छ । बाढीको पानी कम भएको छ तर, हटिसकेको छैन । तर, बाँकेको डुडुवा गाउपालिका-१ टेपरीकी कलावती यादवको आँगन अझै ओभाएको छैन ।
दुई दिनदेखि भोकै रहेकी कलावती त्यही भिजेको आँगनमा गुइँठा बालेर गहुँको भिजेको पीठोबाट ‘भौवरी’ बनाउने कोशिशमा छिन् ।
घरमा भएको सबै अन्नबाली बाढीले भिजेको छ । यो पीठो पनि उनले पिप्रहवाबाट ल्याएकी हुन् । भन्छिन्, ‘घरमा भएको सबै अनाज कुहिसकेको छ । ८ जनाको परिवार छ, कसरी गुजारा गर्ने ? अहिले यो ‘भौवरी’ पोल्दैछु ।’
उनको परिवारले जम्मा तीन किलो मात्र गहुँको पीठो किन्न पाएको छ । त्यसपछि के खाने थाहा छैन ।
राप्ती र डुडुवा नदीको किनारका बस्तीका धेरै परिवारको अवस्था कलावतीको भन्दा फरक छैन । घरमा भएको अन्नबाली सबै भिजेर टुसा आउन थालिसके । पिउने पानीको पनि अभाव छ । तर, सरकारी राहत पुग्न सकेको छैन ।
स्थानीय जितबहादुर मौर्यले भिजेकै अनाज खाएर बस्नुपर्ने बाध्यता सुनाए । अब भिजेको अनाज कुहिन लागेकाले के खाने समस्या भएको भन्दै उनले भने-‘बाहिरबाट हेर्दा घर छ । तर त्यो घरमा बस्न सक्ने अवस्था छैन ।’
चिम्मन यादवले राप्ती र डुडुवाको भेल एक्कासी गाउँमा पस्दा आफ्नो सबै सकिएको गुनासो गरे ।
वर्षभरि खान पुग्ने गहुँ र अन्य अनाज बाढीको पानीले बगाएकोले ८ जनाको परिवार कसरी गुजारा चलाउने चिन्ताले सताएको छ । ‘घरमा भएको अनाज यस्तो भएको छ । कसरी खाने हो हिजो (शनिबार) विहानदेखि घरमा खाना पाकेको छैन । के पकाउने भएको सबै भिजेर कुहियो’-बाढीले भिजाएको गहुँ देखाउँदै उनले भने ।
प्रतिक्रिया 4