३० साउन, सप्तरी । जिल्लाको तिलाठी-कोइलाडी गाउँपालिकाका बाढीपीडितलाई राहतका नाममा वितरण गरिएको चामल सडेको र कुहिएको पाइएको छ ।
सप्तरी जिल्ला दैवी प्रकोप उद्वार समितिको अगुवाईमा २८ साउनमा यो चामल तिलाठी-कोइलाडी गाउँपालिकाको कुसाहामा वितरण गरिएको थियो । वितरण गरिएको चामल पीडितले खाना पकाउने बेलामा खोलेर हेर्दा सडेको पाइनुका साथै कुहिएको समेत थियो ।
१० किलो प्याक गरिएको यो चामल १ सय ८० पीडित परिवारलाई वितरण गरिएको थियो । यो चामलसहित १ सय ५० थान त्रिपाल समेत काठमाडौंबाट ‘सिरिसको फूल’ नामक संस्थाले दैवी प्रकोप उद्वार समिति सप्तरीलाई दिएको सप्तरी रेडक्रसका सभापति जोगेन्द्र भगतले बताए ।
ती सामाग्री रेडक्रसमै राखिएको र वितरण गर्न जाँदा ती संस्थाका व्यक्तिहरु पनि सँगै गएको भगतले बताए । कुहिएको चामल फेला परेपछि आफूले ती संस्थाका पदाधिकारीहरुलाई फोन गरेर धन्यवाद दिएको रेडक्रसका सभापति भगतले बताए ।
राहतका नाममा कुहिएको चामल फेला परेपछि स्थानीय पीडितहरु अक्क न बक्क भएका छन् ।
सप्तरीमा ५ हजार घर बगे, ६ हजार परिवार विस्थापित
अविरल वर्षापछिको बाढीका कारण जिल्लामा पाँच हजारभन्दा बढी घर बगेका छन् । अन्य १५ हजार घर डुबानमा परेका छन् भने ६ हजारभन्दा बढी परिवार विस्थापित भएका छन् ।
हालसम्म एक जनाको मृत्यु र एक बेपत्ता छन् । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका ७ ब्रहमपुरका नथुनी राम छन् भने ढिस्कोले पुरिएका राजविराज १५ देउरी भरुवाका डोमी यादवको अवस्था अज्ञात छ ।
नौ वटै गाउँपालिका र आठै नगरपालिका बाढीबाट प्रभावित भएका छन् । प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले तथ्यांक संकलन र उद्धारको काम भइरहेको बताए ।
राजविराज ९ का ५० परिवार विस्थापित भई स्थानीय विद्यालयमा शरण लिइरहेका छन् । राजविराज १ का दुई सय परिवार पनि विस्थापित भएका छन् । तिलाठी-कोइलाडी गाउँपालिकाको तिलाठीसहित रम्पुरा मल्हनियाँ, कोइलाडी बर्साइन, लौनियाँ, हनुमाननगर कंकालिनी नगरपालिकाको इनर्वा, हनुमाननगर, मधवापुर, पोर्ताहा, भारदह बढी प्रभावित छन् ।
कतिपय परिवार त्रिपालमा बसिरहेका छन् भने अधिकांशले त्यो पनि नपाउँदा जीवन कष्टकर बनेको छ । खाँडो खोलाको तटबन्ध भत्किँदा राजविराज नगरपालिकामा पर्ने मलेठ क्षेत्र जलमग्न बनेको छ । रुपनी गाउँपालिका पनि बाढीको चपेटामा परेको छ ।
सुन्दरी र बान्द्रा खोलाको बाढीले कञ्चनरुप नगरपालिका क्षेत्र पनि जलमग्न छ । महुली खोला बस्तिमा पस्दा जण्डौल, बकधुवा, सीतापुर, पोर्ताहालगायत गाउँ जलमग्न छन् ।
त्रियुगा खोलाको बाढीले सप्तकोशी नगरपालिका र महुली खोलाको तटबन्ध भत्किँदा तिरहुत गाउँपालिका जलमग्न बनेको छ । राजविराज-कुनौली सडकको रञ्जितपुर खण्ड बाढीले बगाउँदा जिल्लाको दक्षिणी क्षेत्रका बासिन्दालाई आवतजावतमा समस्या भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत भंगहास्थित पुल जीर्ण बनेकाले सतर्कता अपनाइएको छ ।
रोपाइँ भइसकेका ८५ प्रतिशत खेतमा बाढी पसेको छ । ती खेतमा १० फिटसम्म पानी जमेकाले किसान चिन्तित बनेका छन् ।
प्रतिक्रिया 4