Comments Add Comment

बाढी प्रभावित क्षेत्रमा प्रचण्ड, राहतमा कमी हुन नदिने बचन

मृतक परिवारलाई दिने राहत रकम बढाउन पहल गर्ने आश्वासन

सप्तरीको बाढी प्रभावित क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । तस्वीर: प्रचण्डको सचिवालय

३२ साउन, सप्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित दुईमन्त्रीले सप्तरीको बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेका छन् ।

पूर्वप्रधानमन्त्री प्रचण्डसँगै गृहमन्त्री जनार्दन शर्मा र आपूर्ति मन्त्री शिवकुमार मण्डलले बुधबार बाढीग्रस्त जिल्लाको दुई ठाउँको निरीक्षण गरेका हुन् । हेलिकप्टरबाट सप्तरी आएका उनीहरुले जिल्लाको हनुमाननगर-कंकालिनी नगरपालिकाको इनर्वा र राजविराज नगरपालिका १५ देउरी भरुवाको निरीक्षण गरे ।

बाढा प्रभावित क्षेत्रको निरीक्षणपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाढीपीडित जनताको उद्धार र पुनर्स्थापनाका लागि सरकारले काम गरिरहेको बताउँदै यसमा पार्टीले पनि सहयोग गर्ने बताएका छन् । बाढीले ठूलो क्षति गरेको आफ्नै आँखाले देखेको बताउँदै उनले राहतमा कुनै कमी हुन नदिने बताए ।

तराई/मधेस, हिमाल, पहाड जहाँका जनता भएपनि परेको बेला एकले अर्कालाई सहयोग गर्नुपर्ने बताउँदै उनले तराईमा आएको यो विपत्तिको समयमा पहाड पनि सहयोग गर्न तयार रहेको बताए ।

‘मृतक परिवारलाई राहत रकम बढाउन पहल गर्छु’

बाढीमा परी ज्यान गुमाउनेको परिवारलाई सरकारले दुई लाख रुपैयाँ दिने निर्णय गरेको भन्दै उनले यसलाई बढाउनुपर्नेमा जोड दिए । ‘हामी यो रकम बढाउन सरकारसँग कुरा गर्छौं’ उनले भने, ‘यो रकम बढ्नेमा म आशावादी छु ।’

उनले बाढीका कारण ज्यान गुमाएका देउरी भरुवाका डोमी यादवको परिवारसँग समेत भेट गरे ।

प्रचण्डले सप्तरी जिल्लाका बढी बाढी पीडितलाई राहतसमेत वितरण गरेका छन् । हनुमाननगरको इनरुवास्थित मुसहरीटोलका १०० भन्दा बढी बाढी पीडितलाई चामल, दाल, तेल, चाउचाउ, बिस्कुट, नून लगायतका खाद्यान्न सामग्री प्रचण्डले वितरण गरे ।

त्यसरी नै अध्यक्ष प्रचण्डले राजबिराज नगरपालिका-१५ का २०० भन्दा बढी पीडित परिवारलाई चामल, दाल, तेल, चाउचाउ, बिस्कुट, नून लगायतका राहत सामग्री वितरण गरेका छन् ।

बुधबार नै अध्यक्ष प्रचण्डले सर्लाही जिल्लाको खैरहवा क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको स्थलगत अवलोकन तथा निरीक्षण गरे । बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्दै अध्यक्ष प्रचण्डले जनताको दुःखमा साथ दिन आफू बाढी प्रभावित क्षेत्रमा आएको र आफ्नो पार्टीका सबै मन्त्री र नेताहरुलाई उद्दार र राहतमा खटाएको जानकारी दिए ।

सरकारसँग सामग्रीको कमी छैन: गृहमन्त्री

बाढीको निरीक्षण गर्न आएका गृहमन्त्री जनार्दन शर्माले सरकारसँग सामग्रीको कुनै समस्या नभएको बताए ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकार इमान्दारीपूर्वक बाढीपीडितका लागि काम गरिरहेको बताए । ‘सरकारसँग राहतको कमी छैन,’ उनले भने, ‘पाल, खानेकुरा सामग्री धेरै छ । तर, केहि ठाउँमा बाटो अभावका कारण वितरणमा ढिलाई भइरहेको छ ।’

सरकारका सबै संयन्त्रले बाढीपीडित क्षेत्रमा काम गरिरहेको भन्दै उनले कुनै पनि रोग लाग्न नदिन स्वास्थ्यकर्मीहरु पनि व्यापक परिचालन गरिएको बताए ।

चामल कमी हुन दिने छैनौंः आपूर्ती मन्त्री

निरीक्षण टोलीमा आएका आपूर्ती मन्त्री शिवकुमार मण्डलले बाढीपीडितका लागि चामलसहितका सामग्रीको कुनै कमी नभएको बताए । चामलसहितका तत्कालै पठाउनुपर्ने सामग्रीहरु पठाइसकिएको बताउँदै उनले समयमा वितरण गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिइसकिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment