Comments Add Comment

रौतहटलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग

डुबानमा परेको रौतहटको एक बस्ती ।

३२ साउन, रौतहट । रौतहटबासीले जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन् । उद्योगी व्यवसायी, राजनीतिक दल तथा स्थानीयबासीले बाढीका कारण रौतहटमा ठूलो क्षति भएको भन्दै अविलम्ब संकटग्रस्त क्षेत्र घोषणा गर्न र राहतका प्याकेजहरु ल्याउन सरकारलाई आग्रह गरेका हुन् ।

उद्योग वाणिज्य संघ रौतहटका प्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन समेत गरेका छन् । बाढी आएको तीन दिनसम्म पनि प्रशासनले राहतका कार्यक्रमहरु प्रभावकारी रुपले अगाडि बढाउन नसकेको र क्षतिको विवरणसमेत संकलन गर्न नसकेको भन्दै व्यवसायी तथा स्थानीयले प्रदर्शन गरेका हुन् ।

व्यवसायीले प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापालाई भेटेर रौतहट जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न तथा राहतका कार्यक्रम अघि बढाउन माग गरेका छन् ।

बाढीका कारण खाद्यान्न, कपडा, इलेक्ट्रोनिक्स, औषधि लगायत अर्बौंको लगानी बाढीमा नष्ट भएको छ । खाद्यान्न गोदाममा व्यवसायीले भण्डारण गरेर राखेका लाखौं क्वीन्टल चामल, दाल, गहुँ तथा अन्य बालीहरु बाढीले नष्ट बनाएको छ ।

रौतहटका व्यापारीहरू

‘हजारौं क्वीन्टल चामल र गहुँ राखिएको गोदाममा पानी पस्यो । कुनै चिज पनि जोगाउन सकिएन,’ खाद्यान्न व्यवसायी गोपाल अग्रवालले भने, ‘५० लाख भन्दा बढीको क्षति भएको छ । कसलाई भन्ने, के गर्ने बुझ्नै नसक्ने भएको छु ।’

सामानका साथै बिल भर्पाइ समेत बाढीले नष्ट भएकाले आर्थिक कारोबार गर्न समस्या भएको व्यवसायीहरु बताउँछन् । ‘अब व्यवसायीसँग कुनै पनि कागजात छैन, भोलिको दिनमा कारोबार कसरी गर्ने ?’ हार्डवेयर व्यवसायी पण्डितप्रसाद जयसवालले भने, ‘कर कसरी तिर्ने ? स्टक कसरी देखाउने भन्ने चिन्ता छ ।’

सरकारले रौतहटलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर स्थानीयलाई बाँच्ने आधार दिनु पर्ने उनको माग छ ।

प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापा

प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले भने व्यवसायी तथा स्थानीयको मागबारे गृह मन्त्रालयलाई जानकारी गराउने बताए । उनले राहतका लागि पहल भइसकेको जानकारी पनि दिए ।

झाँझ, बागमती, लालबकैया र चाँदी नदीमा बाढी आउँदा रौतहटको गौर, गरुडा र चन्द्रपुर समेत तीन नगरपालिका र १३ ग्ााँउपालिकाका अधिकांश भूभाग डुबानमा परेको छ । लालबकैया नदी आसपासका क्षेत्रमा बढी क्षति भएको छ ।

बुधवार बिहानदेखि फेरि पानी पर्न थालेपछि बाढी पीडितहरु थप समस्यामा परेका छन् । सडक किनारमा पालमा बसेकाहरु भोकभोकै बस्न बाध्य छन् ।

बाढीका कारण रौतहट जिल्लामा हालसम्म १८ जनाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment