Comments Add Comment

‘६ दिनमा ३ छाक खाइयो, सरकार कहाँ छ ?’

झापाका बाढी पीडितको बेदना

१ भदौ, झापा । जिल्लामा बाढीका कारण सबैभन्दा बढी क्षति पुगेको ठाउँ हो झापा गाउँपालिका । त्यहाँका बाढीपीडितका व्यथा बुझ्न बुधबार झापा बजार पुगेका अनलाइनखबरकर्मी गौरव पोखरेलले इलाका प्रहरी कार्यालय, कुमरखोदमै अधिकांश बाढी पीडितलाई भेटे । राहत पाउने आशमा उनीहरु त्यहाँ भेला भएका रहेछन् ।

त्यहाँ भेटिएकी रुक्मिणी राजवंशीले दर्दनाक कथा सुनाइन् । शुक्रबारदेखि अहिलेसम्ममा ३ छाक भात मात्रै खान पाएको उनले बताइन् । उनले आक्रोश व्यक्त गर्दै भनिन्- खोई सरकार कहाँ छ ?

पीडितसँगको कुराकानीका क्रममा प्रायःले सरकारी स्तरबाट राहत नपाएको गुनासो गरे । भोट माग्ने बेलामा हरेकको झुपडी पसेको भए पनि विपदका बेलामा कसैले साथ नदिएको उनीहरुको आरोप छ । प्रस्तुत छ, केही बाढी पीडित र बाढी प्रभावित गाउँका स्थानीयका भनाइ जस्ताको तस्तैः-

जलिना खातुन, झापा गाउँपालिका-२, सडकबारी

शुक्रबार राति करिब ११ बजे सानो माई नदी बढेर गाउँ पस्यो । पानी परिरहेको थियो । घरबाट बल्लबल्ल निस्कियौं । निस्किएको दुई मिनेट पनि नभई घर भत्कियो । अन्नपात, लुगाफाटा सबै बिगार्‍यो । केही बाँकी रहेन ।

भाँडाकुँडा पनि केही छैन । दुई जना छोरा छन् । अहिले खान नपाएर छोराहरु रुँदैछन् । एउटा १० वर्षको छ । अर्को ७ वर्ष पुग्यो । खान दिने केही छैन । अहिलेसम्म हामीलाई हेर्न गाउँसम्म कोही पुगेको छैन ।

राहतका नाममा स्थानीय सहकारीले दुई दिनलाई पुग्ने झुजा दियो । अरु केही छैन । आजै के खाने, भरे के खाने निक्कै चिन्ता छ । पक्काको घर थियो । चार कोठे । तर, त्यसको सम्झना मात्र रह्यो ।

पहिला घर भएको ठाउँको अगाडि सानो झुपडी जस्तो बनाएर बसेका छौं । भोट माग्न आउँदा त धेरै आवश्सन दिएका थिए । तर, अहिले हेर्न कोही आएनन् ।

महमद पम्पु, सडकबारी

हाम्रो घर र भान्सा दुवै बाढीले भत्कायो । राति विरिङ नदी गाउँ पस्दा केही जोगाउन सकिएन ।

अहिले बस्ने ठाउँ नभएर सानो झुपडी बनाएर बसिरहेका छौं । तर, यो दीर्घकालीन छैन ।

पछिको कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताइरहेको छ ।

राहत लिएर जो आएपनि खाली भुजा मात्र दिन्छ । अरु केही दिँदैन । ओड्ने कमल सम्म छैन । तर, कसैले हामीलाई दिँदैनन् ।

जो आए पनि भुजा मात्र दिन्छ । जनप्रतिनिधिले पहल गरिदिए हुन्थ्यो ।

तर, खै किन हो ? अहिलेसम्म वास्ता गरेका छैनन् ।

दिलिप सुवेदी, स्थानीय

अहिलेसम्मको अवस्था हेर्दा राहत ल्याउने वित्तिकै टाठा बाठाहरुले पहिला तान्ने गरेको देखिएको छ ।

अलि कमजोर मानिसहरुले राहत पाउन सकेका छैनन् ।

एक ठाउँमा राहत सामग्री राखेर बाढी पीडितलाई बोलाएर बाँडिदा कतिपय अवस्थामा वास्तविक पीडितले राहत पाउन सकेका छैनन् ।

वास्तविक पीडित त गाउँमा छन् । तर, राहत बजारमा हुँदा गाउँका पीडित त्यहाँसम्म पुग्न सकेकै छैनन् ।

भयालाल मड्डी, झापा गाउँपालिका-२, पीडित

बाढीले गाउँ नै डुबान भयो । घरै जम्मै लग्यो । बसोवास छैन अहिले । अन्यत्रै आश्रय लिएर बस्नु परेको छ ।

मैले त बाढी आएको राति दुई बजे थाहा पाएँ । अनि, निस्किएर बजारसम्म आइपुगेँ । निस्किँदा भारी वषर्ा पनि भइरहेको थियो । बाबुछोरा निस्किएर सुरक्षित स्थानतर्फ जाँदै थियौं । तर, झण्डै खोलाले हामीलाई पनि बगायो ।

वल्लवल्ल बचेर बजार आइपुगियो । तर, दुई जना छिमेकीलाई खोला त्यतिबेला लग्यो । भोलिपल्ट शव फेला पर्‍यो । राहत चाहिँ हिजो एक घर बराबर १५ किलो चामल अनि दाल, तेल लगायत पायौं । हामीलाई त्यो लुथरन भन्ने संस्थाले दिएको हो । तर, सरकारी निकायबाट केही सहयोग भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment